कला

गायक प्रेमध्वज प्रधानस्मृति प्रतिष्ठानको स्थापना

‘मृत्युलाई पनि नाघेर आउँछु त्यो मुहार हेर्न...’

गीतकार किरण खरेलद्वारा रचित, मखमली आवाजका धनी गायक/सङ्गीतकार प्रेमध्वज प्रधानले नेपाली चलचित्र जीवनरेखामा गाएको यो गीतको बोलमा भनिएझैँ वास्तविक जीवनमा यो सम्भव नहोला। भौतिक रूपमा आज हामी माझ प्रेमध्वज प्रधान छैनन् तर उनले गाएका गीत र सङ्गीतले उनलाई सदा जीवित तुल्याइरहने छन्।

प्रत्येक आइतबार रेडियो नेपालमा भ्वाइस टेस्ट लिने गरिन्छ भन्ने साथीहरूमार्फत् थाहा पाएपछि २००९ सालको जाडो महिनामा आफ्ना एक मित्रका साथ प्रेमध्वज प्रधान रेडियो नेपालमा पुगेछन् र शुक्रबारको त्यस दिन उनले आफूले पनि भ्वाइस टेस्ट दिन मिल्छ भनी सोध्दा जो कसैले पनि नाम टिपाएपछि भ्वाइस टेस्ट दिन सक्ने थाहा पाएछन्। त्यसपछि उनी आफैले हार्मोनियम बजाएर हिन्दी चलचित्र ‘दिल ए नादान’मा तलत महमुदद्वारा गाइएको ‘ए रात सुहानी’ बोलको गीत वाद्यशिरोमणि गणेशलाल श्रेष्ठका सामुन्ने गाएर भ्वाइस टेस्ट दिएको केही दिनपछि उनले गायनमा ‘क’ श्रेणीमा उर्तीण भएको थाहा पाएछन्।

यसरी औपचारिक रूपमा २००९ सालदेखि गायनको थालनी गरेका प्रधानलाई नेपाली सुगम सङ्गीतका एक धरोहर मानिन्छ। नेपाली सङ्गीतमा ‘किङ अफ रोमान्टिक मेलोडी’ भनेर प्रख्यात प्रेमध्वज प्रधानले आधुनिक गीत, राष्ट्रिय गीत, भजन, नेपालभाषाका गीत, लोकगीतका साथै थुप्रै नेपाली चलचित्रहरूमा गाएका छन्।

अत्यन्त सरल स्वभाव, मृदुभाषी, मुहारमा सधैँ मिठो मुस्कानका धनी मखमली स्वर अर्थात् गोल्डन भ्वाइसको उपनामले प्रख्यात उनै प्रेमध्वज प्रधान २०७८ वैशाख २३ गते बिहीबार भौतिक रूपमा यस संसारलाई छोडेर गए।

नेपालको साङ्गीतिक क्षेत्रका अमर स्रष्टा तथा सम्पूर्ण नेपालीले ‘गोल्डन भ्वाइस’ र ‘किङ अफ रोमान्टिक मेलोडी’ का रूपमा चिन्ने स्रष्टा प्रेमध्वज प्रधानले नेपालको साङ्गीतिक क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानलाई उनको स्वर्गवासपश्चात् पनि स्मरण गराउने लक्ष्यका साथ उनको जीवनी, साङ्गीतिक यात्रा, साङ्गीतिक सङ्घर्ष, योगदान आदिको जानकारीका लागि स्रोत केन्द्रको विकास गर्ने, उनको सम्झनामा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्ने लगायत नेपालको साङ्गीतिक क्षेत्रमा अमूल्य योगदान गरेका होनहार कलाकारलाई सम्मान पुरस्कार प्रदान गर्ने तथा प्रतिभाशाली कलाकार, विद्यार्थी, अनुसन्धानकर्तालाई साङ्गीतिक लक्ष्यमा पुग्न सहयोग गर्ने उद्देश्यका साथ ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ।

प्रेमध्वज प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधान संरक्षक तथा अध्यक्ष रहेको यस प्रतिष्ठानको सल्लाहकार समितिमा बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बास्कोटा, मञ्जुकुमार श्रेष्ठ रहेका छन् भने कानुनी सल्लाहकार बालकृष्ण न्यौपाने रहेका छन्। यस प्रतिष्ठानको कार्यकारी समितिमा नेपाली सङ्गीत क्षेत्रका व्यक्तित्वहरू रहेका छन्।

प्रतिष्ठानको शुभारम्भ तथा प्रेमध्वज प्रधानको वार्षिक पुण्यतिथिको अवसरमा प्रतिष्ठानले यही जेष्ठ ७ गते शनिबारका दिन श्रद्धाञ्जली समारोह आयोजना गरेको थियो। उक्त समारोहको सञ्चालन सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए भने समारोहमा नेपाली सङ्गीत एवम् साहित्य क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेका थियो। त्यस कार्यक्रममा उपस्थित सष्टाहरूले प्रेमध्वज प्रधानसँग जोडिएका आआफ्ना स्मरणहरू सुनाएका थिए। त्यस क्रममा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले आफ्नो गायनको पहिलो सुरुवात गरिदिने व्यक्ति प्रेमध्वज प्रधान भएको स्मरण गर्दै प्रेमध्वज प्रधानको निधन भएको वर्षदिन पुगिसक्दा पनि उनलाई सम्झेर निकै भावुक हुने बताए।

यसैगरी सङ्गीतकार शम्भुजित बास्कोटा, गायक तथा सङ्गीतकार दीप श्रेष्ठका साथै गीतकार यादव खरेलले प्रेमध्वज प्रधानसँग जोडिएका आआफ्ना स्मरणहरू सुनाएका थिए भने प्रतिष्ठानले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा गायक उदेस श्रेष्ठले प्रेमध्वज प्रधानद्वारा गाइएका गीतहरू गाएका थिए। प्रेमध्वज प्रधानका सुपुत्र प्रसन्नध्वज प्रधानले श्रद्धाञ्जली समारोहका उपस्थित सम्पूर्ण सष्टाप्रति आभार प्रकट गरेका थिए। 

प्रकाशित: १४ जेष्ठ २०७९ ०५:२८ शनिबार

अक्षर