अनुग्रह राना मगर पुष्प
आज महिनाको अन्तिम दिन। पानीको शुल्क बुझाउने दिन। आज नबुझाए जरिवाना भर्नुपर्थ्यो। समय नौ बजेको थियो। कार्यालय खुल्ने समय। रामबहादुर हतारहतार कार्यालयतिर दौडिए। उता भ्याएर उसले अर्को आफ्नो काममा पनि सहभागी हुनुपर्ने थियो।
साहुजीलाई हिजो नै भनेको थियो, ‘यस्तो छ, अलिक भियाउँदिन होला।छुट्टी दिनुस् है।’
साहुजीको पसलमा धेरै काम भएकाले तिमी जसरी भए पनि आउ भनेको थियो। एक दिनको कमाइ छुट्यो भने उसलाई निकै गाह्रो हुन्थ्यो। त्यही कामको पारिश्रमिकबाट घर धानेको थियो उसले।
कार्यालय पुग्यो। धेरै मानिस भेला भइसकेका थिए। समय भएको र हाकिम साब पनि आइसक्नुभएकाले पिउनले सबैलाई लाइन बस्न अनुरोध गरे। सबैको उस्तै हतार देखिन्थ्यो। अनुशासन पालन गरे। नम्बर दशमा परे। काममा जान ढिलो हुने छाटकाँट देखिंदै थियो।
उसले पिउन दाइलाई बोलाएर बिन्ती बिसाए, ‘दाइ, मलाई अलिक हतार छ। हाकिम साबलाई भनिदिनुस् न।’
पिउनले भन्यो, ‘त्यसरी हुँदैन। सबैको उस्तै हो। तपाईं पनि आफ्नो पालो पर्खनुस्।’
‘हस्’ भन्दै टाउको कन्याउँदै पालो पर्खियो।
मानिसहरू एकपछि अरू थपिंदै गए। एकजना भने सरासर अगाडि गएर शुल्क बुझाए। एकछिन त रामबहादुर छक्क पर्यो। मनले मानेन। उसले छक्क पर्दै सोध्यो, ‘तपाईं त पालैपालो भन्नुहुन्थ्यो। ऊ त आउनेबित्तिकै पैसा बुझाएर गयो। खास कुरा के हो?’
पिउन दाइले मुसुक्क हाँस्दै भने, ‘एए ऊ त हाकिम साबको आफ्नो मान्छे हो नि त!’
प्रकाशित: ६ जेष्ठ २०७९ ०६:२४ शुक्रबार