दिनेश निरौला
धनीरामले रिक्सा थन्क्याएको चौध दिन भयो। पहिला यसरी रिक्सा थन्किएको लकडाउनमा थियो। उसबेला छोराछोरीलाई नुनपानी समेत खुवाउन नपाउँदा आत्महत्या गर्नेसम्मको सल्लाह गरेका थिए सुखवती–धनीरामका जोईपोइले।
चौधै दिन चाहे जति चाहेकै चिज पाकेको थियो घरमा। टनक्क पिएर लरबराउँदै आउँथ्यो धनीराम। रिसाउनुको सट्टा मुस्कानले स्वागत गर्थी सुखवती।
‘तेरो दुई हजार मेरो दुई हजार, के गर्ने यिनीहरूको उमेर पुगेन नत्र आज सोह्र हजार हुन्थ्यो।’ खुशीमै पनि असन्तुष्टि पोख्यो धनीरामले। मानौ, छोराछोरी ढिलो जन्माएर पछुतो मान्दै छ।
पन्ध्र दिनको दिन थियो। केही मानिस उसैगरी बोतल रित्याउँदै अट्टाहास हाँस्दै थिए पुरानै ठाउँमा। जसरी हिजोअस्ति गर्दथे। धनीराम मुख मिठ्याउँदै गएर छेउमा बस्यो।
जसले हिजो चार हजार दिएको थियो उसैले हप्काएर भन्यो, ‘ए धनीराम, जा आफ्नो रिक्सा निकाल। चुनाव त हिजै सकियो।’
प्रकाशित: ६ जेष्ठ २०७९ ०४:४१ शुक्रबार