कला

दीपक—दीपाश्रीको 'वडा नम्बर ६' रिलिजलाइ तयार

चितवन— कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको दोस्रो फिल्म 'वडा नम्बर ६' असोज १ देखि प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रचारका लागि देश दौडाहामा हिँडेका दीपक र दीपाश्री आइतबार साँझ नारायणगढ आएका थिए।आफ्नो पहिलो फिल्मका निर्देशक दिनेश डिसीसँगै आएका उनीहरुले हास्य प्रधान 'वडा नम्बर ६'का बारेमा हाँसेरै जानकारी पस्किए।

'यो चलचित्र न भारतीय सिनेमाबाट प्रभावित छ, न अंग्रेजी सिनेमाको नक्कल छ। पूरै नेपाली कथा छ। यस्तो चलचित्र भारतमा बन्नै सक्दैन,' दीपकराज गिरीले भने।

गाउँमा सुरु भएर गाउँमै सकिने 'वडा नम्बर ६' शुद्ध प्राङ्गारिक अर्थात् अग्र्यानिक फिल्म भएको गिरीले बताए। पहिलो फिल्म '६ एकान ६' बनेको लगभग दुई वर्षपछि उनी नयाँ फिल्म लिएर आएका हुन्।

पहिलो फिल्म व्यापारिक रुपमा सफल मानिएको थियो। संख्याबाट राखेको नाम फापेपछि निर्माण टोलीले ६ नम्बर सापट लिएर 'वडा नम्बर ६' बनाएको हो। तर निर्मातामध्येकी एक दीपाश्रीले दुवै फिल्म एकाअर्का भन्दा बिल्कुलै भिन्न रहेको बताइन्। 'पहिलो र यसको कथा र प्रस्तुति दुवै अलग छ। आशा छ यसले पनि सफलता चुम्ने छ' दीपाश्री निरौलाले भनिन् । यो फिल्ममा ६ नै ६ को गज्जबको संयोग रहेको रमाइलो प्रसंग पनि उनले सुनाइन् ।

'यो सिनेमा ६ नम्बर महिना अर्थात् असोजमा नै रिलिज हुँदैछ,' दीपाले भनिन् । फिल्मका निर्देशकको नाम पनि ६ अक्षरकै रहेको उनले हाँस्दै बताइन् । फिल्मका निर्देशक उज्जल घिमिरे हुन् । फिल्मको पोस्टरमा समेत ६ जना कलाकारकै फोटो रहेको छ । यस्ता संयोगभन्दा पनि कथावस्तु र प्रस्तुत गर्ने शैलीका कारण आफ्नो फिल्म सफल हुने उनले बताइन् ।

अघिल्लो फिल्ममा अटाएका धेरै कलाकार 'वडा नं ६'मा लगानीकर्ता समेत बनेका छन् । फिल्ममा निर्मल शर्मा, जितु नेपाल, कुञ्जना घिमिरे, माग्ने बुढा, ताराचन्द्र बजगाईं, सुमन गिरीको लगानी रहेको छ । फिल्ममा दयाहाङ राई र प्रियंका कार्कीले पनि अभिनय गरेका छन् ।

प्रकाशित: ८ भाद्र २०७२ २३:२२ मंगलबार