स्थानीय तह निर्वाचन–२०७९ भर्खरै सम्पन्न भएको छ। गणतन्त्रपश्चात् भएको यो स्थानीय तहको दोस्रो निर्वाचन हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा चुनाव प्रचारप्रसार, चुनाव, मतगणनाका क्रियाकलापहरू अधिकांश सामान्य तर कुनैकुनै अप्रत्याशित देखिएका थिए।
यसअघिको निर्वाचनमा पहिलादेखि जित्दै आएका ठूला राजनीतिक दलहरू चुनाव जसरी भए पनि जित्नै पर्छ; पैसा खर्च गरेर हुन्छ कि, कुटपिट गरेर हुन्छ अथवा धाँधली गरेर हुन्छ; जित्नै पर्छ भन्ने मनोविज्ञानका साथ चुनावमा उत्रिएका थिए। कहीँ बुथ कब्जा, कहीँ मतगणनाका क्रममा मतपत्र च्यात्ने काम, कहीँ निम्न वर्ग तथा शोषित वर्गका मान्छेलाई अनेक प्रलोभन देखाउने, निर्वाचन आयोगले तोकेको खर्चको सिलिङ नाघ्नेजस्ता काम भएका थिए।
राजनीतिमा नहार्दै सम्भावित हारलाई स्वीकारिँदैन। राजनीतिमा जतिबेला पनि अनि जस्तोसुकै परिस्थितिमा पनि जित्ने सम्भावना जीवित नै रहन्छ। जे गरेर भए पनि जित्नैपर्छ भन्ने राजनीतिक दलको मनोविज्ञान यसअघिका निर्वाचनमा देखिए जसरी नै यसपालिको निर्वाचनमा पनि देखियो। यही मनोविज्ञानकै कारण मनले नमान्दानमान्दै अनि जनस्तरबाट व्यापक विरोध हुँदाहुँदै पनि सैद्धान्तिक रूपमा भिन्न पार्टीहरूका बिचमा चुनावी जितका लागि तालमेल भएको देखिन्छ। यस्तो अप्राकृतिक गठबन्धन गरेर ठूला दर्जिएका सबै राजनीतिक दलहरू चुकेका छन्।
प्रजातान्त्रिक धारको कांग्रेस र वामपन्थी धारका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतका पार्टी; वामपन्थी धारको नेकपा एमाले र राजतन्त्रात्मक प्रजातन्त्रलाई मूल गन्तव्य बनाएको राप्रपा एवम् सधैँ यस्तै धारमा प्रवाहित भएको राप्रपा नेपालका बिचमा भएको तालमेल प्राकृतिक गठबन्धन होइन। यी सबै गठबन्धनको एक मात्र उद्देश्य चुनाव जित्नु रहेको देखिन्छ।
यस्ता गठबन्धन पहिलाभन्दा यसपालि बढी मौलाएको देखिएको छ। यद्यपि अहिलेको निर्वाचनको नतिजा आउन बाँकी छ। अहिले पनि नतिजा आउने क्रममा अनेकानेक अनैतिक गतिविधिहरू देखिन सक्छन् किनभने यतिबेला सबै राजनीतिक दलको एक मात्र उद्देश्य चुनाव जितेर राज्यको शक्ति आफ्नो पोल्टामा पार्नु रहेको देखिन्छ।
चुनाव सम्पन्न नहुन्जेलसम्म नेताहरू मतदाताका घरघरमा पुगेर अनुनय–विनयपूर्वक मत मागे। मत माग्ने नेताहरूलाई सबै मतदाताहरूले म तपाईंलाई नै मत दिन्छु भनेनन्। कुनै मतदाताले हाम्रा बाबुबाजेदेखि नै मत तपाईंकै पार्टीलाई दिएका हौँ; हामीले त सधैँ तपाईंकै पार्टीलाई मत दिने हो भने। कुनै मतदाताहरूले आफ्ना समस्या बताउँदै ती समस्याको समाधान जुन पार्टीले गरिदिन्छ त्यसैलाई मत दिने हो भने। मतदाताहरूको ठूलो सङ्ख्यालाई कहाँ मत दिने हो भन्ने निक्र्योल भइसकेको थिएन। उनीहरूले सधैँ चुनावको एकदुई दिनअगाडि मात्र कहाँ मत दिने भन्ने निर्णय गर्थे। त्यही पनि उनीहरूले मत माग्न आउने नेताहरूलाई मत तपाईंहरूलाई नै दिन्छौँ भन्दै मन राखे।
मतदाताहरूले दिएका यस्ता उत्तरबाट स्पष्ट हुन्छ कि नेपालमा एकैप्रकारका मतदाता छैनन् अनि मतदाताहरूको मनोविज्ञान पनि एकैप्रकारको छैन। अधिकांश मतदाताहरूले राजनीति बुझ्दैनन्; नेतालाई चिन्दैनन् अनि उनीहरूलाई सधैँ आफ्नै समस्याले पिरोलिरहन्छ। जुन नेताले जिते पनि उनीहरूका लागि कुनै अर्थ छैन। चुनाव अघि सधैँ नेताहरू उनीहरूको घरमा गएर समस्या हामीले समाधान गरिदिन्छौँ; गरिबी हामीले हटाइदिन्छौँ भन्छन् तर चुनावपछि कहिल्यै उनीहरूले भनेअनुसार काम गरेको पाइँदैन। न्यून सङ्ख्यामा मतदाताहरू शिक्षित अनि राजनीति बुझेका होलान् तर अधिकांश मतदाताको अवस्था आफ्नै समस्याले किचिएका कारण राजनीतिप्रति वितृष्णा जागिराखेको प्रकारको रहेको पाइन्छ।
मतदाताको परम्परागत र आधुनिक धार
एकथरी मतदाता एकदमै स्वतन्त्र र निष्पक्ष छन्, कुनै पार्टी हेर्दैनन्। उनीहरूले उम्मेदवार हेर्छन् र उसको प्रतिबद्धता, व्यक्तित्वको मूल्याङ्कन गरेर भोट हाल्छन्। अर्का थरी पार्टीमा आबद्ध छन्। उनीहरू पार्टीका विरुद्ध प्रश्न गर्न सक्दैनन्, पार्टीले जसलाई उम्मेदवार बनाए पनि भोट हाल्छन्, विवेक प्रयोग गर्न पाउँदैनन् अर्थात् सक्दैनन्। नेपालमा भएका प्रतिनिधि मतदाता यिनै दुई धारमा विभाजित भएका पाइन्छन्।
परम्परागत मतदाता र उनीहरूको मनोविज्ञान
पटकपटक भोट हालिराखेका पुराना मतदाताहरू अधिकांश यसै वर्गमा पर्दछन्। यिनीहरूले जन्मजात पार्टी लिएर आएका हुन्छन्। मेरा हजुरबा अनि बाहरूले यही पार्टीमा भोट हालेका थिए र मैले पनि त्यही पार्टीमा भोट हालिराखेको छु भन्छन्। उनीहरू पार्टीप्रति सधैँ समर्पित रहन्छन्। उनीहरूको समर्पण परम्परागत हुन्छ। पार्टीले नराम्रो काम गरे पनि उनीहरूले त्यही कामको ओढ ढाकिराखेका हुन्छन्। बरु आफ्नो पार्टीका नेताहरूले पद तथा स्वार्थका लागि पार्टी फुटाउलान्; पार्टी परिवर्तन गर्लान् तर यिनीहरू सधैँ उही पार्टी अनि तिनै नेताका पछि लागिरहन्छन्। पार्टीले नदी बेचे पनि, देशको कुनै भूभाग नै बेचिदिए पनि यी मतदाताहरू परम्परागत रूपमा आफ्नै पार्टीकै अन्धभक्त भइरहन्छन्। यस्ता कार्यकर्ता चुनावका बेलामा अरू पार्टीका घर दैलो नै टेक्दैनन्, विपक्षी पार्टीका कतिपय व्यक्तिसँग बोलचाल नै गर्दैनन्।
उपल्लो दर्जाका नेताहरू मिलेर भोज गर्छन् तर यस्ता परम्परागत मतदाताहरू कहिलै विपक्षीसँग खुलेर व्यवहार गर्दैनन्। आफ्नो पार्टीका नेताले यिनीहरूलाई फाइदा पुग्ने गरी खासै केही गरिदिएको पनि पाइँदैन तर पनि यिनीहरू कटिबद्ध रूपमा आफ्नो पार्टीमा लागिरहन्छन्। यिनीहरूको मनोविज्ञानले भन्छ कि मैले पार्टी छोडेँ भने मेरो सबै पहिचान समाप्त हुन्छ। यिनीहरूले ठीकबेठीकसमेत छुट्टयाउन सक्दैनन्। पार्टीले जे गर्यो, त्यही ठीक लाग्छ यिनीहरूका लागि। यिनीहरू थोरै दिए पनि सन्तुष्ट हुन्छन्। यिनीहरूको पार्टीसँग खासै ठूलो अपेक्षा पनि हुँदैन। यिनीहरूमै पारिवारिक, आर्थिक, सामाजिकलगायतका समस्या देखिन्छन् किनभने यिनीहरू अन्धभक्त हुन्छन्। छिटो निर्णय लिन सक्दैनन्। परम्परागत हुन्छन्। परिवर्तन चाहे पनि परिवर्तन हुने गरी काम गर्न सक्दैनन्।
आधुनिक मतदाता र उनीहरूको मनोविज्ञान
हरेक चुनावमा नयाँ मतदाताहरूसमेत थपिइराखेका हुन्छन्। नयाँ मतदाता तथा युवापुस्ताका मतदाता यस वर्गमा पर्दछन्। यस्ता मतदाताहरू एकदमै परिवर्तनशील हुन्छन्। उनीहरूले पुरानो अनुहार, पुरानो कार्यशैली तथा पुरानो सोचलाई मन पराउँदैनन्। नयाँ मतदाता प्रायः स्वतन्त्र र निष्पक्ष हुन्छन्। एउटै पार्टीको अन्धभक्त भएर सधैँ रहँदैनन्। आफूले समर्थन गर्ने पार्टीले नराम्रो काम गर्यो भने पनि उनीहरूले विरोध गर्छन्। उनीहरूमा राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न सक्ने चेत हुन्छ। नयाँ मतदाताहरूले उम्मेदवारको व्यक्तित्व, भिजन, कार्ययोजना हेरेर समर्थन गर्छन्। यिनीहरूले बरु स्वतन्त्र अथवा नयाँ पार्टीका उम्मेदवारलाई भोट हाल्छन् तर चित्त नबुझेका परम्परागत पार्टीलाई भोट हाल्दैनन्। उदाहरणका लागि भारतको नयाँ दिल्लीमा अरबिन्द केजरीवालले अत्यधिक बहुमतका साथ चुनाव जित्नुको कारण नै आधुनिक मतदाताको मत हो।
पार्टीको मनोविज्ञान
नेपालको सन्दर्भमा मतदातालाई जस्तै पार्टीलाई समेत दुई धारमा वर्गीकरण गर्न सकिन्छ: पुराना पार्टी र नयाँ पार्टी। कांग्रेस, एमालेजस्ता पुराना पार्टीहरूले अगाडिका चुनावमा हामीलाई मत हाल्ने सबै मानिस हाम्रा हुन्, चुनाव हामीले नै जित्छौँ भन्ने मनोविज्ञान पालेका देखिन्छन्। यी पार्टीहरूको यस्तो मनोविज्ञान नेपालको सन्दर्भमा पूर्णतः गलत साबित भइसकेको छ। बहुदलीय प्रजातन्त्र आएपश्चात् नेपालमा धेरै चुनावहरू भए। ती चुनावहरूमा जनताले कहिले कांग्रेस, कहिले एमाले अनि कहिले माआवादीलाई भोट दिएर जिताए। सशस्त्र जनविद्रोहका क्रममा हजारौँ निर्दोष नेपालीले ज्यान गुमाए पनि जनताकै मतका आधारमा त्यही विद्रोहका कमाण्डर प्रचण्ड प्रधानमन्त्री बने। यसले जनता सधैँ एउटै पार्टीका भक्त भएर सधैँ बसिरहँदैनन् भन्ने देखाउँछ।
परम्परागत मतदाताहरू निश्चित पार्टीको अन्धभक्त भइरहेको देखिन्छ तर आधुनिक मतदाताहरू सधैँ एउटै पार्टीको भक्त बनिराखेको पाइँदैन। पार्टीहरूले बुझ्नुपर्ने कुरा अबको समयमा चुनाव जिताउने र हराउने प्रमुख भूमिका आधुनिक मतदाताको हुन्छ। उनीहरूले हरेक कुरालाई वस्तुनिष्ट तरिकाले हेर्छन्। उनीहरूलाई परिवर्तन चाहिएको छ; अनावश्यक गफ र भुलभुलैया उनीहरूले रुचाउँदैनन्। उनीहरूले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्छन्।
उनीहरूले देशनिर्माणको प्रणाली बनेको हेर्न चाहन्छन्। व्यक्तिगत स्वार्थ, परिवारगत स्वार्थमा लाग्ने नेताहरूलाई यस्ता मतदाताहरूले कत्ति पनि रुचाउँदैनन्। त्यसैले नेपालमा बेलाबेलामा नयाँ अनुहार, स्वतन्त्र अनुहार अनि भिजन भएका पुराना पार्टीइतरका व्यक्तिले चुनाव जित्ने गरेको देखिन्छ। अब यो क्रम थप बढ्ने देखिन्छ।
त्यसैले कांग्रेस, एमाले, माओवादीजस्ता पुराना तर हालसम्म चुनाव जितिराखेका पार्टीहरूले आफूलाई आमूल परिमार्जन गर्न सकेनन्; पार्टीलाई आधुनिकीकरण गर्न सकेनन्; सधैँ परिवार, पदमा मात्र लागिराखे भने जनता अब सधैँ अन्धभक्त भएर बसिरहँदैनन्। पहिला भोट दिएका जनता सधैँ मेरा हुन् भन्ने सोच यी पार्टीहरूका लागि भ्रामक हुन जान्छ। यी पार्टीहरूले आफूलाई तत्काल बदलेनन् भने नेपालमा निकट भविष्यत्मै यी पार्टी क्रमशः कमजोर हुँदै जाने छन् र नयाँ पार्टीको उदयको प्रारूप तयार हुने छ।
प्रकाशित: ३१ वैशाख २०७९ ०९:२२ शनिबार