कला

मौन अवधि

लघुकथा

छविलाल खड्का

पाँच बर्से सन्नाटा तोड्दै गाउँ हाँसेको थियो। निरन्तर भोजभतेर चलिरहेका थिए। साँच्चि गाउँ समृद्ध भएको आभास हुन्थ्यो।

जुठे निकै खुसी थियो। कहिले ‘क’ को भोजमा जान्थ्यो मासुभात खान्थ्यो। कहिले ‘ख’को भोजमा जान्थ्यो सुँगुर र ठर्रा तान्थ्यो। न भोक न भकारी। दिन उसैका थिए। मनमनै भगवानसँग पुकार्थ्यो, ‘सधैं चुनाव आअ‍ोस्।’

उसले आफ्नो भोट ठर्रा र मासुभातसँग साटेको थियो।

जुठेको छिमेकी नरनारायण थियो। ऊ न जुलुसमा गयो न मासुभात र ठर्रा तान्न पुग्यो। उसको बुद्धि देखेर जुठेले खुब उडायो।

भोलि मतदान गर्ने दिन। आज साँझ नरनारायणका घरमा ‘क’ र ‘ख’ का नेता कार्यकर्ता आलोपालो आवतजावत गरेको देखियो। उसलाई खुच्चिङ गर्न मन लागेर ऊ बिरालोको चालमा उसको पुग्यो। त्यहाँ अनौठो दृश्य देखियो। नरनारायण भने हजार हजारका गडी  समाएर तामातुलसी छुँदै थियो। रगत हात गर्दै थियो।

बाहिर कोही होहल्ला गर्दै थिए। कार्यकर्ता हतारहतार निस्कँदै भने, ‘प्रचारप्रसार गर्न मिल्दैन। यो मौन अवधि हो क्या!’

प्रकाशित: २४ वैशाख २०७९ ०६:२१ शनिबार

अक्षर