कला

वैकुण्ठ

लघुकथा

बालकृष्ण गजुरेल

सिताराम त्यस गाउँका लागि प्रख्यात नाम थियो। बिहान पूजा गर्नेबित्तिकै रातो टीका लगाउँथे। रातो टीकामाथि सेतो चन्दन लगाउँथे। बोल्दा मिजासिला थिए। बोलीको सुरुमा सिताराम बोल्ने हुँदा आसपासका गाउँले सबैले सिताराम बाजे भनेर चिन्थे। संस्कार तथा सभ्यताबारे गाउँभरि उनी भाषण गर्दथे।

खोई के ठ्याम नमिलेर बुढेसकालमा छिमेकीसँग टक्कर पर्‍यो। केही वर्षमा छिमेकीहरू उनको विपक्षमा खडा हुन थाले। छोराछोरीहरू विदेश अध्ययनमा निस्किए। बुढेसकालमा चिन्तित जीवनयापन आफैंमा पीडादायक बन्यो। जीवनमा गरेका गल्तीहरूको पाप काट्न उनले महायज्ञ गर्ने निर्णय गरे। पुराना हितैषीसँग मिलेर महायज्ञ भव्य बन्यो। महायज्ञको अन्तिम दिन थियो।

छिमेकीको सतोसराप गर्दै सिताराम बोले, ‘यी पापीहरू मेरैपछि लागेका छन्।’

यज्ञमा पण्डितहरूको बिदाई चल्दै थियो। साथमा एक सन्त महात्मा पनि थिए। उनले सितारामलाई इंगित गर्दै भने, ‘कुण्ठा नभएको ठाउँ नै वैकुण्ठ हो। आजदेखि कुण्ठा पोख्न छोड्नुस्। हजुर सधैं वैकुण्ठको अवलोकन गर्न सक्नुहुन्छ।’

प्रकाशित: २२ वैशाख २०७९ ०७:३२ बिहीबार

अक्षर