त्रिविक्रम पाण्डे
म तिमीजस्तै भएर पनि तिमी जस्तो कहाँ छु
जहाँ तिमी हेर्दा पनि हेर्दैनौं लाग्छ म मात्रै त्यहाँ हेर्छु
समय र नियतिको आँचमा म तिमीभन्दा धेरै पाकेको छु
बिहान दिन रातमा म सधैं तिमीभन्दा बढी थाकेको हुन्छु
म सफल भएँ देखाउन कि मलाई कुनै पीडा हुँदैन
घाउचोट लाग्दा पनि म त्यति सजिलै रुँदिनँ
दिनहुँ मैले आफ्नो तनमनको युद्ध देखेको छु
सबै भन्छन् यो मेरो भाग्य अनि कर्मको फल हो
मेरो पनि कथा कहानी त्यति हलुगो/फितलो छैन
मानौं मेरा आँखा यहाँ कहिल्यै रसाएको छैन
पानीमा पनि त्यति नै छ जति तिमीमा भरिएको छ
मेरा आँखामा लुकेर जमेर बसेको पानी सायद हराएको छ
गर्मी वर्षाद अनि हिउँद... मैले सबै यसैउसै झेलेँ
बाल्यकालभरि मैले यहीं धरतीको काँखमा खेलेँ
जे पाएँ कमाएँ बाँच्नका लागि यहाँ रुखोसुखो खाएँ
जेजति तिमीले बिगार्यौ गुमायौ मैले त्यो भन्दा कम नै कमाएँ
मेरो दुनियाँमा तिम्रा जस्ता सपनाहरू हुँदैनन्
रातमा म मृतात्माझैं निस्लोट ढुक्क निदाउँछु
हावासँगै उड्ने सिमल भुवा म चंगा बन्दछु
हर दिन किन म हाडमासु छालाको ढुंगा बन्दछु
न धेरै केही पाउनु छ यहाँ न धेरै केही गुमाउनु नै छ
पसीनाको कमाइ जेजति मिल्छ चुपचाप त्यही समाउनु छ
धैर्य अनि सत्यताको आडभरोसामा लाग्छ अडेको छु
समयको हरपल हरघडीसँग म निरन्तर खुलेरै लडेको छु
उपेक्षित छु तिरस्कृत छु फेरि पनि मै छु दमदार
अथक जो बाँच्छ यहाँ श्रममा म हुँ त्यो कामदार
जन्मेदेखि अहिलेसम्म यसैगरी जुटें अनि टुटें
लड्नसम्म लडेंफेरि साहसिक भई एक्लै उठें।
प्रकाशित: १८ वैशाख २०७९ ०७:५३ आइतबार