कला

विश्रान्त:क्रान्तिको अवसान कि निरन्तरता ?

पुस्तक

द्वन्द्व विश्वसाहित्य जगत्को एक अभिन्न विषय हो। विश्वसाहित्यलाई केलाउने हो भने अधिकतम् साहित्यिक रचनाहरू शक्ति, सत्ता र प्रेमको सेरोफेरोमा रहेको पाइन्छ । जहाँ बाह्य वा आन्तरिक द्वन्द्वको उपस्थिति कुनै न कुनै रूपले रहेकै हुन्छ।

त्यसो त रचनाको कालखण्ड नियाल्ने हो भने पनि कुनै न कुनै रूपले द्वन्द्वात्मक भएको समयमा लेखिएका रचनाहरू विषय र प्रस्तुतिका हिसाबले पनि अब्बल ठहरिएका छन्। यसरी हेर्दा द्वन्द्व विश्वसाहित्य जगत्का लागि नौलो विषयचाहिँ होइन। तथापि विषयको प्रस्तुति र लेखनशिल्पले त्यही विषय नै नूतनझैँ भान हुन्छ।

त्यस्तै द्वन्द्वकै सेरोफेरोमा अथवा द्वन्द्वलाई नै केन्द्रमा राखेर लेखिएको र हालसालै शिखा बुक्समार्फत बजारमा आएको कृति हो रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’। झट्ट सुन्दा विश्रान्त कुनै घटना वा परिघटनाको विश्रान्ति हो कि भन्ने भान हुन्छ तर एक पाठक जब महाकाव्यका हरेक पद्यपद्यमा विचरण गर्न थाल्दछ, तब महाकाव्यले उसलाई सांसारिक विविधतामा पुर्‍याइदिन्छ।

नेपाली प्रकृतिको सुन्दरताको सजीव चित्रणबाट सुरु भएको महाकाव्यले पटकपटक बौद्धिक विषयहरूमाथि प्रश्न खडा गरेर गहन समीक्षाको प्रतीति गराउँछ। हुन त महाकाव्यको केन्द्रमा तत्कालीन समयमा विद्यमान् आन्तरिक द्वन्द्व नै छ तर उक्तद्वन्द्वको परिदृश्यलाई महाकाव्यको कथाले तत्कालीन सामाजिक, आर्थिक, राजनैतिक र मनोवैज्ञानिक परिवेशलाई राम्रोसँग केलाएको पाइन्छ।

द्वन्द्वको सेरोफेरोमा विश्रान्त

मूलतः विश्रान्तले नेपाली समाजले बेहोरेको दश बर्से द्वन्द्व र त्यस अघिपछिका घटनाचक्रलाई पद्यमा उनेको छ। समाज रूपान्तरणको सपना बोकेर युद्धमा होमिएको नायकको जीवनको सेरोफेरोमा महाकाव्यको सुरुवात र विश्राम भएको छ। एक गाउँले परिवेश जहाँ आर्थिक विपन्नता थियो तर सोही विपन्नताभित्र एक मनोरम जीवन थियो भन्ने पृष्ठभूमिबाट अगाडि बढेको कथा नायकको आगो ओकल्ने समय र विचलित मानसिकतासम्म आइपुगेको छ।

पात्रको पूर्णजीवन सङ्घर्षमय र द्वन्द्वात्मक नै छ। निम्नमध्यमवर्गीय चरित्रमा हुर्केको ऊ आफ्नो स्वार्थभन्दा पनि देश र जनताका भलाइका लागि द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित भएर सशस्त्रद्वन्द्वमा समावेश हुन्छ। द्वन्द्वात्मकवर्ग र शासकीय स्वरूपसित विमति राख्दै समग्र उत्पीडित वर्गको मुक्तिखातिर एक मिठो सपना सजाउँदै मुक्तिकामी बनेको नायक त्यो समयको एक प्रतिनिधि पात्र पनि हो। सङ्ग्रामले समाएको बाटो विध्वंसको होइन; बरु पुनर्निमाणको हो भन्ने ऊ स्वयम्को उद्घोषबाट झल्किन्छ:

हुँदै हैन यो युद्ध मर्ने र मार्ने

यही लोकमा स्वर्गलाई उतार्ने

पुरानो व्यवस्था सबै ध्वस्त पार्ने

युगौँ बन्द ढोका घरक्कै उघार्ने। (तृ.स.८०)

सङ्घर्ष परिवर्तनका लागि हो अथवा सिर्जनाका लागि हो। खिया लागेको शासन व्यवस्थाले समाजमा ल्याउन नसकेको परिवर्तनको परावर्तन नै सङ्घर्ष हो भन्ने विषयलाई मूल मुद्दा बनाएर मुठ्ठी कसेको नायक युद्धलाई कुनै व्यक्तिविशेषको स्वर्थभन्दा माथि रहेको देख्दछ:

कुनै व्यक्तिका लागि सङ्घर्ष हैन

कुनै जात या धर्मका लागि हैन

यही हो बुझौँ मुक्तिको मार्ग नौलो 

जगत्मा उदाओस् बिहानी सुनौलो। (तृ. स. ७५)

यही सामूहिक परिवर्तनलाई मूलमन्त्र बनाएको नायकले सङ्घर्षका अनेक आयामहरू छिचोल्दै निरन्तर नौलो भविष्यको सपना देख्दछ। सोही सपनामा आफ्नो र समग्र देशको समुन्नति देखेको विचारमा प्रतिबद्ध नायक क्रान्तिका विभिन्न चरणमा उत्तिकै अशान्त पनि भटिन्छ।

सङ्घर्षमा र आफ्नो उद्देश्यमा कति पनि विचलित नदेखिएको नायक आफ्नै विगतबाट भने बारम्बार तनावग्रस्त बन्दछ। तथापि ती पूर्वस्मृतिहरूलाई काबुमा राखेर नवनिर्माणका लागि क्रान्तिको मार्गमा उसले आफूलाई यात्रारत बनाएको छ। सङ्घर्षको मैदानमा बोलीको गोली ओकल्ने नायकका हरेक अभिव्यक्ति युद्धपरस्त भेटिन्छन्:

जहाँ अशान्त शान्त भो त्यहाँ तुफान आउँछ

कुँडा कसेर छन् भने सबै सबै उडाउँछ

झरेर पूmल शान्त छन् र पो जगत् अशान्त छ

अहो हरेक वस्तुको स्वरूप मात्र शान्त छ। (च.स. ६)

त्यसो त सशस्त्र द्वन्द्वमै होमिएकी अर्की पात्र चेतनाको जीवनवृत्त पनि कम रोचक, रहस्यमय र मर्मस्पर्शी छैन। रहरले मात्र केही पनि आफ्नो जीवनलाई युद्धवेदीमा होम्न चाहँदैन। यसका पछाडि यावत् बाध्यताहरू अथवा अन्यायपूर्ण सामाजिक, राजनैतिक कारणहरू हुन सक्छन् भन्ने तथ्य चेतनाको युद्धमा प्रवेश र उसले उठाएका हरेक कदमबाट पुष्टि हुन्छ।

हरेकृष्णको छोरो साधुराम त एक प्रतिनिधि मात्र हो हाम्रो समाजको। त्यस्ता दुश्चरित्रका कारण धेरै नारीहरूले जीवनमा कठोर निर्णय लिन अहिले पनि बाध्य छन् भन्ने दृष्टान्त यस महाकाव्यको अर्काे द्वन्द्वात्मक चित्र हो। विश्रान्त महाकाव्य तत्कालीन नेपालमा चर्किएको आन्तरिक द्वन्द्वको एक वृत्तचित्र नै हो भन्दा फरक पर्दैन।

समय चक्रले एक साधारण मानिसलाई कसरी एक उग्र क्रान्तिकारी बनायो ? उक्त पात्रले सो क्रान्तिलाई कति अगाडिसम्म लान सक्यो ? कहाँ के कस्तो अवस्थामा क्रान्ति मजबुत भयो अथावा स्खलित हुन पुग्यो ? आदि विषयको सविस्तार वर्णनले नयाँ पुस्ता जसले युद्धसित साक्षात्कार गर्न पाएन उसलाई पनि साबिती दिने काम यस उपन्यासले गरेको छ:

यौटा सानो छलफल गरौँ आउनुस् आँगनीमा

हाम्रो नाता सहज रसिलो होस् न यो जिन्दगीमा

यो सन्ध्यामा अतिथि जन छन् द्वारमा भेट्नलाई

जाऔँ एकै छिन पर कतै बात संवादलाई। (द.स.२७)

तत्कालीन द्वन्द्वले मान्छेका जिजीविषालाई कसरी मृत्युसित सामान्यीकरण गरेको थियो अथवा मर्नु र मार्नु त्यस कालखण्डको कस्तो विषय थियो भन्ने विषयका शब्दचित्र हुन् यी र यस्ता पङ्क्तिहरू। मृत्यु शाश्वत् छ तर युद्धले त्यही शाश्वत् मृत्युलाई कस्तो स्वरूप दिन्छ ?

त्यसले जीवन र मृत्यु बिचको तात्विक भिन्नता कसरी देखाउँछ ? यसरी हेर्दा नेपालमा चर्किएको द्वन्द्व मात्र एक युद्ध विभीषिका थियो अथवा त्यसभन्दा फरक अन्य केही उद्देश्य खातिर ? सोचनीय विषय हो। युद्धबन्दीलाई गरिएको व्यवहारको सपाट चित्र तल उल्लिखित पद्यमा अङ्कित भएको छ:

ज्यादा जान्ने नबन भतुवा व्यर्थमा मर्नलाई

खान्छौ घिच्छौ कति तलब यो जासुसी गर्नलाई 

भन्दाभन्दै नयन थुनियो हात बाँधे पछाडि

ढुङ्गालाई करबल गरी ठेल्न थाले अगाडि। (द.स.२९)

यस रूपमा चर्किएको द्वन्द्वको आगो एक दशकपछि आफ्नो उद्देश्य भेटेर निभ्यो या बिच बाटामै स्थानान्तर हुनपुग्यो भन्ने विषयमा महाकाव्यले आफ्नो डिस्कोर्स विस्तार गरेको छ। एक वर्ष लामो सशस्त्र द्वन्द्व एक साधन थियो वा साध्य ?

गहन समीक्षाको विषय हुन सक्ला तर महाकाव्यले समाज तथा राजनीतिलाई आधार मानेर द्वन्द्वको एक हदसम्मको विसर्जन र रूपान्तरणलाई बडो लालित्यपूर्ण ढङ्गले केलाएको भने पक्कै हो। विश्रान्त महाकाव्यको अर्काे उल्लेखनीय पाटो भनेको सशस्त्र द्वन्द्वको विसर्जन र त्यसपछि विकसित घटना परिघटनाहरूको सूक्ष्म विवेचना हो।

क्रान्तिवीर नायकको जीवनमा आएको परिवर्तन, सिङ्गो पार्टीपङ्क्तिबाट आदर्शवान् कार्यकर्तामाथि भएको अवमूल्यन, क्रान्ति एक साधनका रूपमा रूपान्तरण र विचलित मानसिकताका बिच सिङ्गो कार्यकर्ताको पङ्क्तिमा देखिएको उदासीनता तथा नैराश्यले वर्तमान राज्यप्रणाली र त्यससित सम्बन्धित इतिहासको चित्र उतारेको देखिन्छ। राजनीतिक रूपले विकसित चेतनालाई जबरजस्ती बिर्काे लगाइदिने प्रयास भएपछि विक्षिप्त बनेको क्रान्तियोद्धालाई झन्डैझन्डै निराशाको आँधीले पल्टाउन खोज्छ:

म के सोचूँ म के जानूँ म रोऊँ या कराऊँ या

स्वयंलाई म ढुङ्गो झैँ कि ढिस्को झैँ बनाऊँ या

गले उत्साहका ढिक्का र पग्ल्यो आशको मैन

अहो संसारमा मेरो उज्यालो कत्ति नै छैन। (द.स.६०)

नेतृत्ववर्गमा देखिएको भोगविलास र व्यक्तिकेन्द्री प्रवृत्तिसित रुष्ट बनेका हजारौँ योद्धा कार्यकर्ताको मनको आवाज बनेर केही बोलीहरू प्रस्फुटित छन् महाकाव्यभरि। केही सपुतहरू कपुतमा परिणत भए पनि उज्यालो बिहानी ल्याउने आशाको त्यान्द्रो भने जीवित छ ती योद्धाहरूका मनमा: 

लाखौँ वीर सपूतका रगतले ल्यायो बिहानी नयाँ

लाखौँको बलिदानले मुलकको फक्रियो जवानी नयाँ

त्यस्तो त्याग र भावको जगतले गर्दैन मूल्याङ्कन

पानामा इतिहासले जब कुनै गर्ला नि मूल्याङ्कन। (ए.स.३५)

यसरी हेर्दा महाकाव्यकार रूपक अलङ्कारले नेपालमा चलेको द्वन्द्वलाई सामाजिक जीवन र राजनीतिक दृश्य परिवर्तनको एक सेतुका रूपमा व्याख्या गरेको भान हुन्छ। द्वन्द्वको कारण, नेतृत्वकर्ताहरूको जीवनमा आएको परिवर्तन र वैचारिक एवम् सामाजिक विचलनको भने पर्दा उघारेकै हुन् अलङ्कारले।

द्वन्द्व समयसापेक्ष थियो थिएन फरक छलफलको विषय होला तर द्वन्द्वमा सामेल राजनैतिक दल, नेतृत्व र कार्यकर्तामा आएका किंकर्तव्यविमूढता र विचलन भने वर्तमान समाजको ऐना नै हो। फरक यत्ति हो यस विचलनको सहज अवतरण भने कुन रूपमा हुने हो हेर्न बाँकी नै छ। यस क्रममा गम्भीर बहसको विषय उठाउने कार्यका लागि अलङकारको महाकाव्यकारिता भने प्रशंसायोग्य छ।

प्रकाशित: १७ वैशाख २०७९ ०१:४६ शनिबार

अक्षर