कला

बक्सिस

लघुकथा

अप्सरा भट्टराई

आमा कपमा चिया खन्याउँदै हुनुहुन्थ्यो। कान्छी टुप्लुक्क आइपुगी।

‘म आउँदै थिएँ त। हजुरले किन चिया बनाइबक्सेको?’ अचम्म मान्दै सोधी।

मुहार उज्यालो पार्दै ‘एक कप मात्रै बनाएकी हुँ। लु यो भाउजूलाई लगी दे’आमाले अराउनुभयो।

उसले आमा खुशी हुनुको कारण सोधी।आमाले चुपको इसारामा भन्नुभयो, ‘हल्लाचाहिं नगर् है। बुहारीलाई बेड रेस्ट गर्नुपर्छ भनेको छ रे डाक्टरले। घरमा जस्तो आराम अन्त मिल्दैन भनेर यतै बोलाएकी थिएँ। उनी हिजो बेलुका यहाँ आइन्।’

हजुरआमा बन्ने खुसीले आमाको शरीरमा फुर्ति आएको थियो। आमा जतिकै कान्छी पनि खुशी थिई।

मौका छोपेर उसले भनी,‘छोरा जन्मे भने  हर्कबढाइँ  पाइने भो भनेर हाँसी। भात खाने कुकर थोत्रो भएको छ। एउटा ननस्टिक  कुकरको रहर लागेको छ। किनिदिनुपर्छ  है आमा भनी।

घरमा खुसीको वातावरण छायो। कूलको दीपलाई स्वागत गर्न सबै तम्तयार थिए। कान्छी लगायत सिंगो  गाउँ नै खुसी देखियो। निश्चित समयमा बुहारी सुत्केरी भइन्। खबर सुनेर घर बढार्दै गरेकी कान्छी कुचो बोकेर नाच्न थाली। गाउँभरि मिठाई बाँडियो। खुबै हर्कबढाइँ गरियो।

आमाले कान्छीलाई तेरो बक्सिस ला भनेर दिनुभयो तर छोरी पाएको थाहा पाएपछि उसले बक्सिस लिन मानिँन। रुँदै भनी, ‘मैले त छोरा जन्मिए पो बक्सिस मागेकी थिएँ। छोरी पो च्वच्व कठै हजुरहरूलाई दुख परेको बेला पैसा लिएँ भने मलाई पाप लाग्छ।’

आमाले सम्झाएर भन्नुभयो, ‘यी नातिनी त हाम्रा घरकी लक्ष्मी हुन्। ला तेरो बक्सिस थाप् र नयाँ कुकर किनेर घरमा सबैलाई मासुभात पकाएर आज भोज खान दे। सबैले खुसी मनाओ।’

कान्छीले रुँदै भनी, ‘हस्’, कोख चर्कुञ्जेल खाओ भन्छु’ भनेर हात थापी। घरतर्फ बढ्दै गर्दा ऊ आफू सुत्केरी भएको दिन सम्झिदै थिई। छोरी पाएँ भनेर हानेको जुत्ताको झटारो र सौता  भित्र्याउँछु भनेर दिएको धम्की र यातना  पनि सम्झी।

प्रकाशित: १६ वैशाख २०७९ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App