त्रिविक्रम पाण्डे
दुः ख–पीडादेखि यो जीवनमा डराउने गरिन्न,
आफ्नो अभाव खाँचो अरूलाई सुनाउने गरिन्न।
एकचोटि यहाँ हात थाप्ने बानी लागेपछि,
कामधन्दामा कतै यी हात फेरि बढाउने गरिन्न।
जसको काम नै हो ठूलाबडाको प्रशंसा गर्नु,
चाकडीमा लिप्तहरूलाई मुख लगाउने गरिन्न।
नातासम्बन्ध कायम राख्ने यदि नियत छैन भने,
सँगै जिउने मर्ने वाचाकसम खाने खुवाउने गरिन्न।
अरूलाई पनि बोल्ने अवसर मौका दिने गरौं,
सधैं आफ्नो मात्रै गौरवगाथा गाउने गरिन्न।
समय अमूल्य छ, बितेपछि फेरि फर्केर आउँदैन,
अनावश्यक कुरामा यसलाई बिताउने गरिन्न।
जन्माएर खुवाइपियाइ बढाउँछन् पढाउँछन्,
जन्मदाता मातापितालाई सताउने रुवाउने गरिन्न।
एक हातले गरेको दान अर्को हातले थाहा नपाओस्,
दीनदुःखीलाई सहयोग गरी हल्ला मचाउने गरिन्न।
हैसियतभन्दा बढी खर्च गर्नेहरू सधैं रहन्छन् दरिद्र,
कपडाभन्दा ठूलो कोट कहीं सिलाउने गरिन्न।
आआफ्नो भाग्य पौरख कोही धनी कोही गरिब,
आत्मासम्मान स्वाभिमानमा चोट पुर्याउने गरिन्न।
जिन्दगी जे जस्तो छ भोगौं त्यसलाई हाँसीखुशी,
निर्दयी काललाई मृत्यु अगावै बोलाउने गरिन्न।
जसले जेसुकै भनून् आफ्नै मनको सुन् ‘त्रिविपा’,
कसैको चिप्ला मीठा कुरामा फकिने अल्झिने गरिन्न।
प्रकाशित: १४ वैशाख २०७९ ०४:१४ बुधबार