कला

बा हुनुको अर्थ

लघुकथा

मिलन समीर

पहिले–

ऊ आफू सानै उमेरको थियो तर कुराचाहिं बुझ्ने भैसकेको थियोे। घरपरिवारमा उसहित अरू सबैको कुरा एउटा हुन्थ्यो भने उसका बाबुको कुरा प्रायः अर्कै हुन्थ्यो। घरसल्लाहको सन्दर्भमा आफूहरूले भनेको कुनै पनि कुरा आफ्नै बाबुले सदैव देब्रे कानले सुनेझैं गरेर दाहिने कानले ठाउँको ठाउँ हावामा उडाइदिइरहेका हुन्छन् भन्ने उसलाई लागिरहेको थियो। त्यसैले ऊ आफ्नै बाबुको दैनिक व्यवहारबाट हुनुसम्म आजित भइसकेको थियोे। बाबुको ठाउँमा यदि आफू भइदिएको भए केकस्ता कामकुराहरू चुड्कीको भरमा सजिलैसँग आँखा चिम्लेर पूरा गर्ने थिए भन्ने कुरा मात्रै उसले सोचिरहेको हुन्थ्यो।

अहिले–

ऊ आफैं बाबू बनिसकेको छ। समय र परिस्थितिले हुत्याएर उसलाई आफ्नै बाबुको ठाउँमा ल्याइपुर्‍ याइदिएको छ। उसको घरमा अरू सबैको कुरा प्रायः एउटै हुन्छ भने उसको कुराचाहिं अर्कै हुन्छ। घरसल्लाहको क्रममा अरू कसैले भनेको कुनै पनि कुरा ऊ आफैंले सुनेको नसुन्यै गरिरहेको हुन्छ भन्ने घरपरिवारलाई लागिसकेको छ। त्यसैले उसको व्यवहारले उसकै घरपरिवारलाई वाक्कदिक्क पारिसकेको छ।

यतिबेला–

आफ्नै बाबुको ठाउँमा यदि आफू भइदिएको भए केकस्ता कामकुराहरू सजिलैसँग छिनभरमै पूरा गर्ने थिए भनेर कुनैबेला आफैंले सोचिरहेका प्रायः सबै कुरा उसले चटक्कै बिर्सिसकेको छ। किनभने उसका बाबुले आफ्नो बेलामा जे जति कामकुराहरू सजिलैसँग पूरा गरेका थिए, त्यसको एकछेउ पनि उसले आफ्नो पालोमा अहिलेसम्म पूरा गर्नै सकिरहेको छैन।

अर्थात् उसले ‘बा हुनुको अर्थ’ बल्ल क्रमशः बुझिरहेको छ।

प्रकाशित: १४ वैशाख २०७९ ०२:१८ बुधबार

अक्षर