कला

भाग्य

लघुकथा

चेतनाथ दाहाल

सामान्य कर्मकाण्डदेखि हस्तरेखा हेरेर मान्छेको भूत,भविष्य र वर्तमान सबै बताइदिने राधेश्याम गुरुको गाउँमा राम्रै चर्चा थियो। चिना बनाउन र हेर्नचाहिं आफूलाई अलिक नआउने बताउने उनी हात हेर्दा मान्छेको मनोविज्ञान बुझ्ने कोसिस गर्थे जसले गर्दा हेराउने मान्छेले उनले बताएका कुराहरू मिलेको अनुभूति गरोस्।

उनको बारेमा चर्चा सुनेको पारिगाउँको हरिबहादुर पनि उनलाई भेट्न आयो। हरिबहादुर गरीब त थियो नै,त्यसमाथि नपढेको अलिक गफाडी खालको पनि थियो।

उनले हरिबहादुरको हात हेर्दै भने, ‘केटा तेरो हस्तरेखाले त्यति राम्रो देखाउँदैन। तेरो भाग्यमा सुखशान्ति देखिंदैन।’

त्यसपछि ऊ निराश हुँदै घर फर्कियो। बिस्तारै उनको हात हेर्ने पेशा सुक्दै गयो।

‘अब चिना बनाउने र हेर्ने काम सिक्नुपर्‍यो अनि मात्र यो पेशामा टिकाउ होला’भन्ने सोच्दै उनी लागे शहरतिर।

शहरमा पुगेपछि गाडीबाट झरेर दायाँबायाँ नियाल्दै अघि बढ्दै गर्दा एउटा अढाई तले घरमा नजर पर्‍यो, आँगनमा चिल्लो गाडी पार्किङ गरिराखेको,घरको कौसीको अगाडिपट्टि एउटा बोर्डमा ठूला अक्षरमा लेखीएको थियो, ‘यहाँ चिना बनाउने,हेर्ने लगायत ज्योतिषसम्बन्धी सम्पूर्ण कुरा सिकाउनुको साथै राशि अनुसारका पत्थर पनि उपलव्ध छ।

–ज्यो.हरेराम शर्मा।’

आफूले खोजेको जस्तै ठाउँ फेला परेकोमा प्रसन्न मुद्रामा सरासर माथि चढे उनी।

‘हजुरलाई के सेवा गरौं’ भन्दै ज्यो.हरेराम शर्माको रूपमा उही पारि गाउँको हरिबहादुर उनको सामुन्ने खडा थियो उनैलाई भाग्य सिकाउन।

प्रकाशित: ९ वैशाख २०७९ ०८:२५ शुक्रबार

अक्षर