कला

साहित्यको विकास

लघुकथा

लीलाराज दाहाल

साहित्यकार साथीहरूको संगतले शिवको मनमा पनि साहित्यिक भोक जाग्न थाल्यो। साहित्यकारहरूले इज्जत पाएको देखेर ऊ पनि लोभिन थालेको थियो।

अब ऊ पनि कनिकुथी साना आयामका गजल, मुक्तक र हाइकु लेख्न थाल्यो। उसका रचना चिचिला सुन्तलाजस्ता बेस्वादका भएकाले उसलाई पाठकहरूले रुचिपूर्वक पढेनन्। साहित्यकारहरूको हुलमा उ हाँसको बिचमा बकुल्लाझैं हुन्थ्यो। उसका साथीहरू स्तरीय लेखनका कारण निकै लोकप्रिय थिए। उसले एकाध हाइकु र मुक्तक संग्रह निकाले पनि उसको नाम साहित्यकारका रूपमा स्वीकृत हुन सकेन।

निकै समय ऊ साहित्यिक बजारबाट हरायो। उसले सत्ताधारी राजनीतिक दलको सदस्यता लियो र पार्टीको संस्कृति विभागको मोर्चा समाल्यो। आफ्नै नेतृत्वमा दुईचार साहित्यिक संस्था खोल्यो र साहित्यको विकास गर्न सरकारबाट अनुदान लियो।

अब साहित्यको क्षेत्रमा शिवको पनि चर्चा हुन थाल्यो। उसकै अध्यक्षतामा ठूल्ठूला साहित्यिक कार्यक्रमहरू भए। ठूलो साहित्यकारमा गनिन थाल्यो। हुन त उसले निकै समयदेखि केही पनि लेख्न सकेको थिएन तर पनि उसको ख्याति बढ्ने क्रम रोकिएन। ऊ कार्यक्रमहरूमा अतिथिका रूपमा आमन्त्रित हुन थाल्यो। पत्रिकामा ऊ नै छापिन्थ्यो। रेडियो, टेलिभिजनमा उसकै स्वर घन्कन्थ्यो।

एकदिन राजधानीमा आयोजित विशिष्ट साहित्य गोष्ठीको प्रमुख अतिथि शिव नै थियो। सबैले उसको साहित्यिक योगदानको तारिफ गरे। उसका सुरुवाती रचनाहरूलाई समीक्षकहरूले अन्तर्राष्ट्रिय स्तरका रचना भनेर समीक्षा गरे। कार्यक्रमपछि उसलाई मञ्चमै पुगेर पत्रकारहरूले सोधे,‘तपाईंले साहित्यिक संस्था खोलेर साहित्यको के कति विकास भयो? किन खोल्ने यस्ता संस्था?’

शिवले चारैतिर नियालेर भन्यो, ‘अरूले किन खोल्छन् , मलाई थाहा छैन। मैले खोलेर चाहिं विकास भएकै देख्छु। यी म यसरी प्रमुख अतिथि भएको छु। तपाईंहरूले मेरो अन्तर्वार्ता लिइरहनुभएको छ। यो विकास होइन र?’

असली साहित्यकारहरू भने दर्शकदीर्घापछाडि पत्रकारहरूबाट टाढा र मौन थिए।

प्रकाशित: ९ वैशाख २०७९ ०२:५५ शुक्रबार

अक्षर