कला

मसिनो दुखमा

कविता

सोनाम सज्जन किराती

हेर्न मन छ

हाम्रो मुटुको टुक्रा प्रकाश

फेरि ओइलिएर नझरोस्

तिम्रो जस्तो अपुरो

त्यो बाल्यकाल

यस्तो दुर्घटनाको भाग

कसैलाई नपरोस्

तिमी त्यस्तो उपहार हौ

जहाँ हाम्रो ढुकढुकीमा बजिरहन्छ

युग रमाउने आशाको साझा धुन बनेर

तिमीलाई पिठ्यूँमा बोक्छु

तोते बोलीमा बाबाबाबा भन्छौ

म तिम्रो जन्मदातालाई

लोहोराले हिर्काउँछ मुटुभित्र

कहाँबाट खोजी ल्याऊँ

बाबू तिम्रो आपा?

तिम्रो निम्ति यो शब्द कति महँगो बनेको छ

सायद यो अभाव पूरा गर्न

संसारको जुनसुकै मूल्य तिरेर

किन्न सकिने उपहारहरू भेटिन्छ होलान्

तिम्रो बाबा समयले चुडाइलगेको छ!

जब तिमी धरतीमा आयौ

यो युगलाई ईर्ष्या भो

जब तिमी बाबासित रम्ने बेला भो

समयलाई गरुँगो अनुभूति भो

अनि त तिमीलाई भार बनायो

तिम्रो पापा खोसेर

ऊ त यतिबेला समयको गन्तव्य भएर

तिम्रो मस्तिष्क मनमा उम्रिरहेछ

संघर्षको प्रतीक भएर हुर्किरहेछ

अब अर्को युगको सुरुवात

तिमी नै पो थियौ कि त

र त यो समयलाई हतारो भो  

तिमीबाट बाबा खोस्न

भन्न त भन्छन् 

मान्छेले तिम्रो बाजे अनि बुवाले

ठूलो युद्ध अपराध गरेकोमा

भगवानले सजाय दिएका हुन रे

ती त्यस्ता अपराधी हुन

जस्ले आफ्नो सम्पूर्ण गुमाउन तयार भएको देखेनन्

र त हाम्रो राष्ट्रियता छ

धर्मान्धताको अन्त भएर गयो

संघीयता गणतन्त्रको रचना भयो

तिमी टुहुरो हुनुसित

यी महान् कार्य जोडिसकेको छ

अघि बढिसकेको छ

यस अभियानको कुशल चालक

तिमी बनेको हेर्ने इच्छा छ

मलाई किञ्चित पनि लाग्दैन

लागेको पटक्क छैन

भगवानले यस्तो गर्लान्

त्यो युद्ध

गरिखाने निमुखाहरूको थियो

उस्ले जित्नैपर्ने थियोे

यो दोहोर्‍याएर

तेहेर्‍याएर भन्नुपर्ने थिएन

यसर्थ बाबू तिमी त्यो युगको सुरुवात थियौ

र हामीले जितिसकेका छौ

हाम्रो परिवारमा जस्तै पीडा आएपनि

त्यो राष्ट्रभन्दा सानो हुन्छ

जनयुद्ध तिम्रो पुस्ताले लड्न नपरोस्

जनयुद्ध फेरि नजन्मियोस्

यो हताहतीको नगन्य उपहारभित्र

कैयौं बाबा मेटिएको छ

हो ती हजारौं पीडाजस्तै

तिम्रो भागमा पनि

एउटा त अवश्य थपियो

अब अरूलाई नआओस्

तिम्रो बाबा हाम्रो परिवार

नयाँ सत्य यहीँ बनोस्

र सत्यमाथि उभिएर

अब हामी असाध्य मसिना दुखहरूमा रम्नुपर्छ

र करोडौ सुख फूलाउन

हमेसा जित्नुपर्छ

त्यो जित्ने युग तिमी हौ

तिमीबाट नयाँ युग पलाउने छ

तिमीबाट सुरुवात हुनेछ।

प्रकाशित: ९ वैशाख २०७९ ०२:११ शुक्रबार

अक्षर