कला

जीवनजस्तो अभिनय सिकाइ

थुप्रै फिल्म र म्युजिक भिडियोमा अभिनय र निर्देशन गर्नुपर्ने एकतमासको व्यस्त जिन्दगी। सात–आठ वर्षदेखि कला क्षेत्रमा जुटिरहेकी जसु गुरुङलाई खासमा फुर्सद भन्ने समय निकाल्नै मुस्किल हुन्छ।
उम्दा कलाकार तथा निर्देशक अनुप बरालले पोखरामा अभिनय कला सिकाउन लागेको खबर जब आफ्नै अग्रज माओत्से गुरुङबाट सुनिन्, जसुका पुराना सबै स्केज्युअल रद्द भए। थुप्रैपटक अभिनय र निर्देशन गरेको हुनाले १५ दिनसम्मको कार्यशालामा बरालसँग बस्छु होला भन्नेचाहिँ भित्रभित्र ठानेकै थिइनन्। तर असारको सुरुदेखि मध्य महिनासम्म उनको व्यस्तता अनुपसँग अभिनय कला सिकेरै बित्यो।
'पहिलो दिनको कार्यशालाबाटै बस्नपर्ने रहेछ, सिक्नुपर्ने रहेछ भन्ने लाग्यो र आधा महिना बिताएँ,' जसुले सुनाइन्। गुरुङ फिल्म एसोसिएसन पोखराकी उपाध्यक्ष जसुलाई अब यस मानेमा पनि गर्व छ कि उनलाई अभियनका थुप्रै सैद्धान्तिक र व्यावहारिक तौरतरिका प्रस्ट हुने गरी ज्ञान प्राप्त भएको छ। यसअघि उनले गर्दै आएको अभिनयमा अब फरकपन आउनेमा कुनै शंका छैन।
जसुजस्तै अभिनय कलाको भोक भएका अरू १४ जना पनि थिए, अनुपसँग अभिनय सिक्नेहरू। त्यसको तारतम्य मिलाएको थियो एक्टशालाले। काठमाडौंमा रंगकर्मको ज्ञान सिकेर पोखरा आएका महेश श्रेष्ठ र अम्बर सुवेदीको सक्रियताले खुलेको हो, एक्टशाला। यसको उद्देश्य नै कलाकार बन्न चाहनेहरूलाई मञ्च दिनु हो। यसअघि स्थानीय स्रोतव्यक्तिहरू मार्फत तालिम चलाएको एक्टशालाले पहिलोपटक अनुपलाई निम्त्यायो। सुवेदीले काठमाडौंमा अनुपकै एक्टर्स स्टुडियोमा सिकेर नाटक पनि गरिसकेका हुन्। एक दर्जन नाटकमा खेलिसकेका श्रेष्ठलाई पोखरामा आएपछि पनि नाटकको कुतकुती मेटिएको थिएन। वीरेन्द्र हमालसँग प्रशिक्षण लिएका उनले आफूजस्तै सैद्धान्तिक र व्यावहारिक ज्ञान लिएकाहरूको हुल बढाउन एक्टशाला जरुरी देखे र सुरु गरे।
पोखरामा अभिनयको भोक भएकाको जमात ठूलै थियो। तर पछिल्लो समय रंगकर्म खास जमेको थिएन। २०४७ पछि अनुप बराल यहाँ नियमित नाटक गर्थे। उनको प्रतिविम्ब थिएटरले वार्षिक दर्शक नै तयार पारेर नाटक देखाउने क्यालेन्डर तयार पारेको थियो। वार्षिक पाँच सय रुपैयाँ तिरेर नियमित दर्शक नाटक हेर्थे। त्यसबाहेक नाटक चलिरहेको थाहा पाउनेहरू पनि उत्तिकै हुन्थे। त्यो बेला अनुपले नेपालका थुप्रै नाटककारका नाटकमात्रै देखाएनन् विदेशी पनि अनुवाद गरेर मञ्चमा उतारे। अनुप २०५० तिर अभिनय सिक्न भनेर दिल्ली पुगे र फर्केर आएपछि फेरि प्रतिविम्ब थिएटर ल्याबरोटरी सुरु गरे, जहाँ अभिनय सिकाइन्थ्यो। केही वर्ष पोखरामै बसेर नाटक गरेपछि काठमाडौंलाई आफ्नो कलाकर्मको केन्द्र बनाएका उनले नेपाली रंगमञ्चमा एउटा आदर्श छवि त तयार गरे तर, पोखरा भने नाटकमा सुस्ताउँदै गयो। यहाँ नियमित नाटक गर्नेहरूको अभाव भयो।
यसपालि पोखरामा फेरि अनुप उसैगरी झुल्किए, जसरी उनी २०५५ ताका यहाँको नदीपुरमा देखिन्थे, अभिनय कला सिकाउँदै र नाटक गर्दै। यसपालि पोखरामा फेरि अनुपले भेटे उस्तै उत्साह भएका अनुजहरू, अभिनयको भोक भएका कलाप्रेमीहरू। यसै पनि तीन वर्षदेखि युथ क्रिएसन थिएटर गठन गरेर यहाँका युवा पोखरेली नाट्यकर्म पुनःजीवित पार्ने जोस निकालिरहेका छन्। तत्कालै एउटा नाटकघर बनाइहाल्ने सुर कसेकालाई अनुपले पनि ऊर्जा थपिदिएका छन्।
फिल्म 'दोख' पूर्वी नेपालको सुदूर जिल्ला भोजपुरमा सुटिङ हुँदै थियो। निर्देशनमा व्यस्त थिए, अनुप। अचानक भूकम्पको झट्का आयो। गोरखा बारपाक केन्द्रबिन्दु भएको भूकम्पले भोजपुरबाट फिल्म टोलीलाई फर्कनै बाध्य पार्ने गरी हल्लायो। भूकम्प गएपछि बराल काठमाडौं हुँदै फ्रेस हुन गृहनगर पोखरा आइपुगेका थिए। त्यो खबर पाएपछि पोखराको 'एक्टशाला'ले उनलाई अभिनयकला सिकाइदिन अनुरोध गर्योक। दुई–चार दिनलाई भनेर आएका बरालले १५ दिने कार्यशाला चलाउन मञ्जुरी जनाइहाले। भारतबाट अभिनयमा स्नातक गरेर आएपछि पोखरामै प्रतिविम्ब थिएटर चलाएका उनले त्यसको केही वर्षदेखि नै काठमाडौंलाई आफ्नो कलाकर्मको केन्द्र बनाएका थिए। उनी उता हिँडेपछि यता नाट्यकर्म सुस्ताएझैं भएको थियो। तर नाटक गर्न रुचाउने पुस्ता पोखरामा अटुट नै रह्यो। बाटो देखाइदिने अग्रज, सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने गुरुको अभाव खट्किरहेका बेला अनुप आएको खबरले कार्यशालामा १५ युवा तुरुन्तै जुटिहाले।
नाटकमा अभिनयको अनुभव बटुलिसकेका कपिल शर्मा 'सन्जोग'लाई अभिनय भनेको गर्ने कुरा हो जस्तो लाग्थ्यो। तर अभिनय भनेको जीवनजस्तो हुनुपर्दाे रहेछ भन्ने बोध प्रशिक्षक अनुपले गराइदिए। दुई फिचर फिल्ममै अभिनय गरिसकेका रेम विकलाई पनि त्यही बोध भएको छ। 'टाउको दुख्यो भनेर टाउकोमै हात लैजानुपर्छ भन्ने रहेनछ,' कपिलले सिकेको कुरा सुनाए, 'भात खाएको सिन छ भने रंगमञ्चमा पनि घरमै जसरी खान सके त्यो राम्रो अभिनय हुँदो रैछ।' रिसाउँदा मुख बिगार्नैपर्छ भन्ने होइन भन्नेलगायत अरू तौरतरिकामा पनि अनुपबाट उनले सिकेका छन्। दार्शनिक ओशोले भनेजस्तै जीवन अभिनय हो भनेर बाँच्नुपर्छ र अभिनय जीवन हो भनेर गर्नुपर्छ भन्ने तŒवबोध अनुपले प्रशिक्षार्थीहरूलाई गराइदिएका छन्।
फिल्म र नाटक भनेको लार्जर द्यान लाइफ हो भन्ने धेरैले सुनेका छन्। फिल्ममा लाग्छु, नाटकमा लाग्छु भन्नेले झन् नसुन्ने कुरै भएन। त्यसैले होला जीवनमा जस्तोजस्तो क्रियाकलाप गरिन्छ त्योभन्दा चर्काे गरी अभिनय गर्ने चलन छ। स्वर पनि चर्कै गरी निकाल्ने। प्रशिक्षार्थीहरूको त्यही भ्रम अनुपले हटाइदिएका छन्। प्रशिक्षार्थीलाई जसै आत्मविश्वास पलाएको छ, उसै अनुप पनि आशावादी बनेर काठमाडौं फर्केका छन्— पोखरामा फेरि उसैगरी नाटक जुर्मुराउनेछ।

प्रकाशित: १८ असार २०७२ २१:२१ शुक्रबार