कला, साहित्य र विविध सँस्कृतियुक्त सहर हो, धरान। यहाँ गीत, संगीत र कला साहित्यका गतिविधिहरु नियमित भइरहन्छन्। कला, साहित्यको सहर भनेर परिचय बनाएको धरानमा अहिलेसम्म एउटा पनि सुविधाजनक थिएटर हल (नाटक घर) नहुँदा भने रंगकर्मीहरु निराश छन्।
पछिल्लो समय धरानमा नयाँ पुस्ताका रंगकर्मीहरु जुर्मुराएका छन्। तर, उनीहरुमा पनि थिएटर हल नहुँदाको पीडामा छन्। चैत २७ देखि वैशाख ३ (शनिबार)सम्म धरान १० स्थित सैनिक भवनमा नाटक 'बन्द बाक्सा' मञ्चन भयो। रंगकर्मीहरुलाई कति दुःख छ भन्ने नमुना यो नाटक हेर्न पुगेका दर्शकहरुले पनि प्रत्यक्ष अनुभूत गरे। सधै स्टेजमा कार्यक्रम हुन्थ्यो, तर यो नाटक पर्याप्त ठाउँ अभावले ठिक उल्टो मञ्चन भएको थियो। दर्शकहरुको लागि स्टेजमा कुर्सी राखियो, र भित्ता कालो पर्दाले घेरेर विगतमा दर्शकलाई बस्न कुर्सी राखिने भुइँमा नाटक मञ्चन भयो।
युवा रंगकर्मी मिलन चाम्लिङ राईद्वारा लिखित एवं निर्देशित नाटक 'बन्द बाक्सा' ७ दिनमा १७ पटक मञ्चन भयो। नाटकले टिकट काटेर हेर्ने दर्शक र प्रशंसा पनि बटुल्यो। तर, लगानी उठाउन सकेन। निर्देशक राईका अनुसार सुविधायुक्त थिएटर हल नहुँदा हलको भाडा, लाइट, कालो पर्दा, साउण्ड सिस्टम सबैमा धेरै खर्च हुन्छ। ‘टिकट काटेर नै नाटक हेर्ने दर्शक छन्, राम्रो शो चल्यो। तर लगानी डुब्छ,’ उनी भन्छन्, ‘हल, पर्दा, लाइट, साउण्ड सिस्टमलगायतको भाडामा नै खर्च धेरै भयो।’
निर्देशकराई धरानको रंगमञ्चको पछिल्लो प्रतिनिधि पुस्ता हुन्। केही वर्ष यता युवा रंगकर्मीहरुले लामो समय सुस्ताएको धरानको रंगमञ्चलाई जुरुक्कै उचाल्ने प्रयास गरिरहेका छन्। तर, व्यवस्थित एवं सुविधासम्पन्न नाटक घरको अभावले उनीहरुलाई पनि बेला बखत विचलित बनाउँछ। रंगकर्मीहरुको यही दुःखलाई निदान गर्न पुराना रंगकर्मीहरु धरान ८ सभागृह परिसरमा नाटक घर बनाउन कस्सिएका छन्। तर, बजेट अभावले अलपत्र परेको छ। आरम्भ नाट्य डबलीका अध्यक्ष एवं अग्रज रंगकर्मी, निर्देशक गोपाल देवान साहित्य, कला, सँस्कृतिको धनी धरानमा एउटा पनि सुविधायुक्त थिएटर हल नहुनु दुःखद भएको बताउँछन्। ‘धरानमा वि.स.१९९७ सालदेखि रंगकर्म शुरुवात भएको इतिहास छ, यति लामो रंगमञ्चको इतिहास बोकेको ठाउँमा एउटा पनि थिएटर हल नहुनु दुःखद हो,’ उनी भन्छन्।
लेखक तथा निर्देशक देवान रंगकर्मीहरुले थिएटर हल बनाउन पहल गरेको तर उपमहानगरपालिकाले बजेट नछुट्याएको गुनासो गर्छन्। उनकै भनाईमा स्थानीय सरकारले निर्माण गरेर रंगकर्मीहरुलाई व्यवस्थापन तथा अनुगमनको जिम्मा दिनुपर्ने हो। ‘थिएटर हल हाम्रो घर हो, घर नै भएन भने त्यो परिवार कसरी बाँच्छ? घर नभएपछि शरणार्थी जस्तो टेण्ट थापेर बस्नुपर्ने हुन्छ,’ देवान भन्छन्, ‘थिएटर हल नभएर नै धरानमा रंगमञ्ज सुत्दै, जाग्दै भएको हो। एउटा छिमल आउछ, लहर आउछ, गर्छ, थाक्छ। फेरि अर्को छिमल आउछ, गर्छ, थाक्छ।’
सुविधा सम्पन्न थिएटर हल भयो भने धरानमा एकै दिन ३, ४ वटा नाटक मञ्चन हुने अवस्था भएको उनको भनाइ छ। नाटक घर हुँदा नाटकले निरन्तरता पाउछ भने नाटकको टिकट बेचेर रंगकर्मीहरुको घर पनि चल्ने उनको भनाई छ। ‘नाटक नियमति हुँदा आकर्षण बढ्छ, कलाकारहरु बाँच्छन्। लेखक, निर्देशक र नयाँ कलाकारहरु जन्मन्छन्,’ उनले भने।
चालिस र पचासको दशक धरानको रंगमञ्चको उर्बर समय भएको अग्रज रंगकर्मीहरुको भनाइ छ। त्यसबेला धरानको सैनिक भवनमा नाटक मञ्चन गर्न होडबाजी हुने गर्थ्याे। समर्पण, अनाम, आरम्भ, सृजना, सहारालगायत नाट्य संस्थाहरुको सक्रियताले धरानको नाटकले राजधानीको नाट्य संस्थाहरुलाई चुनौती पनि दिने अग्रज रंगकर्मीहरु बताउँछन्।
प्रकाशित: ३ वैशाख २०७९ १४:५९ शनिबार