कला

अनपढ

लघुकथा

ढाकामोहन बराल

‘कस्ताकस्ता अनपढ संसद् छन् भने, के भन्नु! भोलि कसरी काम गर्ने हुन्।’ राकेशले भन्दै थियो।

‘हेर साथी,संसद् भनेको प्रतिनिधिमुलक संस्था हो। त्यहाँ सबै वर्ग र समुदायको प्रतिनिधित्व हुनुपर्दछ। सबै शिक्षित जनता मात्र पनि त छैनौ नि हामी।’

यत्तिकैमा हामी जाने बस पनि आयो। दुवै चढ्यौं। बस अगाडि बढ्दै थियो,सडकमा भएको झगडाले एकछिन रोकियो। मैले झ्यालबाट टाउको निकालेर तल पेटीमा काँक्रो बेच्ने दिदीलाई सोधें, ‘दिदी के भएको रहेछ?’

दिदीको छोटो जवाफ आयो, ‘फाइट।’

दिदीसँग काँक्रो किनेर खाँदै गरेको एकजना बाबुले भन्यो, ‘अंकल, भित्र सभागृहमा बुद्धिजीवीहरूको भेला रहेछ। प्रोफेसर साबहरू आफूआफूमा पार्टीको समानुपातिक संसद्को सूचीमा नाम नपारेको भनेर विवाद भएछ र झडप भयो। प्रहरी पनि आइपुगिसक्यो अब त।’

‘तिमी कलेज जानु पर्दैन?’ आफ्नो छोराजस्तै लागेर सोधें।

–मलाई पढाउने सरहरू भित्रै हुनुहुन्छ। कलेज गएर के गर्नु?

राकेशजीतर्फ फर्केर सोधें, ‘कसलाई अनपढ भन्ने हो?’

प्रकाशित: ३ वैशाख २०७९ ०३:१८ शनिबार

अक्षर