सोह्र पुस्तादेखिको उपचार पेसा र बाजे तथा बाबुदेखि डाक्टरी पेसाको लामो लहरो जोड्न सकेनन्, जयदेव वैद्यले। थर वैद्य भो, पेसा अवैध भो। बाजे नेपालराज्यको नै पहिलो एलोपेथिक डाक्टर रत्नदास वैद्य र बाबु पनि मेडिकल डाक्टर रघुवर वैद्य।
तर नाति र छोरा जयदेव वैद्य थरले मात्र वैद्य भए, पेसाले न वैद्य, न त डाक्टर। मेडिकल साइन्स पढ्न भनी बेलायत समेत गए जयदेव। परन्तु समयमा नपुगेका कारण कलेज भर्ना हुन पाएनन्। एक वर्ष पर्खने कि अर्कै विषय पढ्ने विकल्पमध्ये एउटा छान्नुपर्यो। तब मेडिकल साइन्स छाडी टेक्स्टाइल इन्जिनियरिङ पढ्ने भए र पूर्वतयारी गरे। टेक्स्टाइल प्रविधिमा बेलायत विश्वविख्यात छ।
जयदेव यता प्रेम मामिलामा अल्झिसकेको थिए। विश्वविद्यालयको पढाइ सुरु भएको चार महिनामा नेपाल फर्की बिहे गरी श्रीमती सवितासहित बेलायत फर्के।
अर्को संसार भन्न मिल्दैन र?
पद्मोदयमा पढ्दा जयदेव बिग्रिसकेका थिए। बाबुको एक झापडले सप्रिए। दोस्रो श्रेणीमा सफल भए प्रवेशिकामा। सविता र जयदेव वैद्य त्यतिबेला प्रेमको प्रसंगमा नेपालका निमित्त गज्जबको लैला मजनुको नयाँ संस्करणका रूपमा थिए भन्दा अन्यथा ठहरिँदैन। आजभन्दा झन्डै सात दशकअघिको कुरो हो यो। त्योबेला पनि एउटा उमेरमा उक्लेपछि विपरीत लिंगीप्रतिको आकर्षण एक देश, एक जाति, एक समुदाय, एक सम्प्रदायमा मात्र हुने नभई, सृष्टिकोे निरन्तरताका निम्ति प्राकृतिक एवं नैसर्गिक प्रक्रिया नै थियो।
यही प्रक्रियाले काम गर्यो, सविता जयदेव जोडीमा। यो परेवाको जोडी बिहेपछि लगत्तै बेलायत गयो। जयदेव सविता भमराको जोडीले त्यहाँ आफ्नो जीवन सजिलोसँग बिताएन, सकससँगै यापन गर्यो। सविताले केश शृंगार विधाको प्रशिक्षण प्राप्त गरेपछि यो दम्पतीले समाजमा आफूलाई दरोसँग उभ्यायो।
त्यो उच्च परिवारको संस्कृतिमा संस्कारित वैद्य परिवारका दुवैजना कमाउने भएपछि आफ्नो उच्च संस्कारलाई जोगाउन सहज भयो। ठूलै नाम कमायो दाम पनि ठिकै कमायो। अहिले समाजमा उच्च स्तरको जीवनयापन गरिरहेको छ, नेपालको सामाजिक तहमा। कुलको सम्मान गर्दै जीवन्त छ। डाक्टर भएको भए अरू धन कमाउँथे होला तर आजको जयदेव हुन सायदै पाउँथे ? त्यस्तै आज कि सविता हुन पनि।
अन्ततः जयदेव भो
जेसिज जस्तो सामाजिक इज्जत एवं प्रतिष्ठा भएको विश्व संस्थाको जिल्ला तथा राष्ट्रिय अध्यक्ष एवं अन्तर्राष्ट्रिय अध्यक्ष पनि भएर नेतृत्व गरे जयदेवले। हो, मेडिकल साइन्सको संसारमा नाम र दाम कमाउने थुप्रै छन्। त्यो नामको पंक्तिमा जयदेव एउटा नाम थपिहाल्थे होला, आकाश खस्दैनथ्यो, पाताल उकासिँदैनथ्यो। तर आजको जयदेव हुँदैनथे। जयदेवको आफ्नो आजको स्वतन्त्र र स्वाभिमानी संसार हुँदैनथ्यो। डाक्टर हुन पाएनन् त के भयो, जयदेव त भए!
जे भयो त्यसैमा तुष्ट
संसारकै इतिहासका पाना पल्टाउने हो भने पनि सबै मान्छेले आफूले भने अनुसार, खोजे अनुसारको अवसर पाउँदैनन्। पाए पनि अपवादमा मात्र पाइएला। जयदेवको पनि त्यस्तै भयो। खोजे अनुसारको पढ्न पाएनन्, पाएको पढे। बेलायतमा टेक्स्टाइल विज्ञान पढेको प्रतिभाशाली नेपाली युवकले काम नपाउने त कुरै भएन। काम पायो, पाएको काममै इमानदारी साथ बुद्धि घोट्यो। देश, काल, परिस्थिति अनुसार काम गर्यो। त्यसैमा सन्तुष्ट भो। रोजेकी श्रीमती सविता पाएकै थियो। त्यो दम्पतीले भने जस्ता दुई छोरा पाए, पढाए। उस्तै कुलिन दुई बुहारी पाए। उनीहरूको सन्तान भए। अहिले सन्तुष्ट देखिन्छ जयदेव वैद्य दम्पती।
आजको एक र ऊबेलाको धेरै
आफूले रोजेको डाक्टरी विद्या अध्ययन गर्न पाएनन्, जयदेव तर आफ्नो बज्यै र बाजेको नाममा प्रतिवर्ष एक विद्यार्थीलाई डाक्टरीशास्त्र पढाउन मथुरा रत्न छात्रवृत्ति स्थापना गरेर ठूलो काम गर्यो जयदेव वैद्यको परिवारले।
उनले डाक्टरी पढ्न पाएको भए उनी आफू त डाक्टर हुन्थे, जसरी उनको बाबुबाजे जस्तै। तर त्यस्तो छात्रवृत्ति राख्थे वा राख्दैनथे, टुंगो थिएन। त्यो छात्रवृत्तिमा ३० जना डाक्टर भइसकेका छन् अहिलेसम्म। अर्को आठजना पढ्दैछन् रे। तर एउटा महान् काम गर्यो त त्रिपुरेश्वरको वैद्य परिवारले। यसको श्रेय जयदेवले पाएका छन्।
यस्तै मेडिकल साइन्स डाक्टरीशास्त्र पढ्ने छात्रवृत्ति पाटन ढोकाकी रानी जगदम्बा राणाले पनि राखेकी छन्, जसबाट धेरै नेपाली युवा डाक्टर भई धेरै बिरामीको उपचार गरेका छन्। अहिले एकजना भनेको धेरै भयो। यी संस्थाले एक प्रकारको स्थापना गर्दा एक भनेको पनि धेरै हुन्थ्यो। नेपालको समाज परिवर्तन वा रूपान्तरणको महान् अभियानमा प्रारम्भतिर एक भनेको त धेरै पो हुन्थ्यो। कुनै कुराको मूल्यांकन आजको भूभौतिक सापेक्षतामा गरेर हुँदैन तत्कालीन कठोर यथार्थमा गरिनु उपयुक्त हुने जस्तो लाग्छ मलाई।
समाजको परिवर्तन
म जन्मँदा र पढ्दा त्यसबेलाको नेपाली समाजको स्वभाव अर्कै खालको थियो। १९८७ सालमा मेरी आमालाई झाडाबान्ता हुने रोग लागेछ। भक्तपुर गुण्डु तिथलामा थियो हाम्रो घर। अब उपचारका लागि भक्तपुर अस्पताल वा वीर अस्पताल लैजानुपर्ने तर अस्पताल नलगी पशुपति आर्यघाट लगिएछ। त्यहीँ मेरीआमा बित्नु भो। म टुहुरो भएँ, मेरो बा विधुर हुनु भो। त्यो बेला झाडाबान्ताका रोगी बिरामीलाई सलाइन वा नुनचिनी पानी खान दिनुपर्नेमा पानी पनि खान दिइँदैनथ्यो।
हैजाको बिरामी तर पानी पनि खान नपाउने। पानी पनि खान नपाएको हैजाको रोगी कति बाँच्ला? तर जयदेव बढ्दा वा हुर्कंदाको समय र समाजमा परिवर्तन आइसकेको थियो। अझ जयदेव त डाक्टरका नाति, डाक्टरका छोरा। कत्रो अन्तर? जयदेवकी श्रीमती सविता पनि प्रसिद्ध पाटनको पारिवारिक साहुकी छोरी सुखमै हुर्किनु अस्वाभाविक भएन। हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्।
जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको। त्यो जमानामा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड भन्ने शब्द डिक्सनरीमा मात्र थियो। व्यवहारमा कहाँ हुनु? नत्र सवितालाई मोटर साइकलमा कति घुमाउँथे होला जयदेवले। यो लुच्चो जोडीले साझा यातायातको बसमा मस्ती गर्न बाँकी राखेनछ। सँगसँगै सिनेमा पनि हेरेछ। समाजको अन्धविश्वास चिर्न र सामाजिक रूपान्तरण गर्न यो जोडी जस्तो धेरै जोडी चाहिन्थ्यो।
सविता जयदेवले यो खाँचोको थोरै भए पनि पूरा गरे। लोभलाग्दो राजहंस जोडीबीच अँ उँ हुँदैनथ्यो, एक त सविता फरक रूपमा प्रस्तुत भइन्। घरमा उनको विवाहका बारेमा कुरा हुन थालेछ। तब जयदेवलाई सुनाएर भनिछन् बिहे त आफूलाई मनपरेको मान्छेसँग पो गरिन्छ। चिन्दै नचिनेकोसँग कसैले गर्छ बिहे ? जयदेवले प्रश्न गरेछन् को छ त मन परेको? ‘वाई ओ यु’ भनिछन्। जयदेव एकछिन अलमलिएछन्। एकछिनपछि झल्याँस्स भएछन् ‘वाई ओ यु’ भनेको तिमी भन्ने हुन्छ। त्यो दिन रहेछ २०१९ भदौ १७ गते आइतबार। अहिले पनि बिर्सेका छैनन् जयदेवले त्यो दिन।
उदाहरणीय जोडी
कतिपय जोडी औपचारिक मात्र हुन्छन्। परन्तु यो सविता र जयदेव जोडी वास्तवमै मिलेको जोडी भएझैं लाग्छ प्रस्तुत ‘सबैको जयहोस्’ सामग्री पढदा।
यी दुईको बारे मैले मनमा लागेको कुरा भन्न पाउने हो भने जयदेव भन्दा सविता नै खुला, साहसी र क्रान्तिकारी लाग्यो। त्यतिबेलाको नेपाली समाजमा नारीले आफूलाई मनपर्नेलाई सिधै भन्न सक्नु साधारण होइन, असाधारण हो भन्ने लाग्यो मलाई। यो जोडीले जो गरेर देखायो त्यो नगन्य अन्य जोडीले देखाएका छन् भन्नु बढी नहोला।
यी दुवैका छोराबुहारी जेसबिन र अनु अनि जेसन र मेरिनाले पनि त्यही बाटोको अनुशरण गरेजस्तै लाग्छ। यस्तो अनुकूलता सबै परिवारले गरेको देखिँदैन। म अनुमान गर्छु, यो सविता जयदेव जोडी साँच्चैको अनुशरणीय जोडी पो भएर देखियो यो नेपाली समाजमा। लौ यो कुरा कसरी फैलाउने एवं व्यापक गराउने अरूमा पनि भन्न चाहेँ। यस्ता काम इच्छाशक्तिले मात्र हुँदैन, कठोर संकल्प आँट दृढता चाहिन्छ। यसअघि यस्तो उदाहरण थिएन जस्तो लाग्छ। यो जोडी उदाहरण भएर निस्क्यो।
प्रकाशित: ३ वैशाख २०७९ ०१:३० शनिबार