कला

जगत्–मिथ्याको भुलभुलैया

खोजका उपज हुन्, कल्पनाइतरका रहस्योद्घाटनहरू। मानव खोजले नै पक्रेथ्यो ब्रह्माण्डीय लय कुनै बखत त्यसले नै पुर्‍याएको हो ब्ल्याकहोलको त्रासदिसम्म। कल्पनासँग जोडिदिन्छ निजी सिर्जनात्मकता, उभ्याउँछ मानिस अग्लो सिर्जनास्तम्भ र कहलिन्छ एक नामुद लेखक बनी।

खोज कतिपय अवस्थामा यथार्थीय ज्ञानभन्दा परको काल्पनिक संसारको उडान चुम्न दौडिन्छ। विशेषतः लेखक या कलाकार बढी टहलिन्छन् कल्पना समयमा। कल्पना संसारको निर्माण लेखकीय स्वामित्वमा पर्दछ। संसारका नामी लेखकको ख्याति उनीहरूकै दिमागी सिर्जनास्थलका कारण फैलिएको पाइन्छ। आरके नारायणको मालगुडी, ग्याब्रियल गार्सिया मार्खेजको माकोन्दो, रोकेया एस हुसेनको स्वप्नसंसार र अरू पनि छन् धेरै। रोजर फ्राईले दाबी गर्ने ‘काल्पनिक जीवन’ (इम्याजिनेटिभ लाइफ)को महत्व उसै चुलिएको होइन।

मानवभित्रको काल्पनिक क्षमताले गर्दा आज संसार फरक समयमा दौडिरहेको छ। मानव जीवन हरपल खोज उन्मुख छ। लेखक कलाकार खोज र कल्पनाको समिश्रण गर्छन् र तयार पार्छन् भिन्न लोक। दीपक पराजुली त्यस्तै खोजयात्रामा लागेका लेखक हुन्, जसले जगत्–मिथ्याको सिर्जना गरेका छन्। उनको पछिल्लो उपन्यास मिथ्या जगत्–मिथ्याको भुलभुलैया यात्रा हो।

जगत्–मिथ्या एक खतरनाक विपर्यासध्रुवीय स्थान, जहाँ सत्य बोल्न, लेख्न मनाही छ। सत्यका पक्षपाती तयार हुनुपर्छ लापता हुन मोहदत्तजस्तै। सत्यकामी मोहदत्त भौतारिहिँड्नुको अर्को रहस्य पनि छ ः ऊ खोजीमा छ सत्यको। सत्य आफैँ सापेक्षताको भुमरीमा विनिर्मित भई भौँतारिरहेको छ उत्तराधुनिक वृत्तमा।

तब ऊ कुन सत्यको खोजीमा दौडिएको होला? सत्यका बहुरूप, बहुलचिन्तन र बहुल दृष्टिप्रतिको जनचासो उक्लिएका बेला कुन सिंगो सत्य ऊ खोजिरहेछ। त्यसकारण ऊ सत्य खोजको लिप्सामा जकडिएको एक यायावर भएको छ। लेखकीय चतुर्‍याइँ खासाको देखिन्छ, मोहदत्तको चरित्र चित्रणमा। उनले न्वारन गरिदिएका पात्रका नाम उत्तिकै रमाइला छन्।

साथमा प्रत्येकले बोकेको अर्थ उत्तिकै गहिरो पनि। अस्तित्व, भुलभुलैया, सापेक्ष लगायत केही अनौठा नामधारी पात्र छन् उनको रोजाइमा। गोलपोखरी, कालवृक्ष, श्रापित अक्षणी, स्वरूपाजस्ता रहस्यले भरिएका स्थान र पात्रको निर्माणसँगै पराजुलीले सिर्जनात्मक भयपूर्ण माहोलको सिर्जना गरेका छन्। मोहदत्त जगत् मिथ्याको सकसबाट निस्किएर पुगेको देखिन्छ, कास्कीको पञ्चासे मन्दिरतिर। लेखकले कल्पना र यथार्थको भ्रमिल संसार निर्माण गरेका छन्। पाठक घरी उल्टो गतिमा हिँडिरहेको जतग् मिथ्याको अनौठो भेलमा हेलिन्छन् भने घरी पोखरा वरपरका पोखरी, ताल, डाँडा या क्याम्पसतिर पुग्छन्।

०४६ र ०६३ सालका आन्दोलनहरूमा पिएन क्याम्पसबाट निस्केको आन्दोलनकारीको जुलुसको अन्तिममा भेटिएका झण्डा–मानव को हुन्? उनी एक आम विद्यार्थी हुन् या एक सचेत क्रातिन्कारी? पाठकको जिम्मा होला खुट्ट्याउने। लेखक खास बोल्दैनन्। पराजुली झलकसम्म मात्र देखाउने जाँगर गर्छन् न कि पूरा दृश्य। अमूर्त कलाझैँ छन्, कतिपय घटना र पात्र जो देख्नु र नदेखिनुको भूमरीमा अल्पिन्छन्।

पिएन क्याम्पसमा अध्ययनरत अस्तित्व र भुलभुलैयाबीचको नज्दिकी, मोहदत्तको खोजीमा हिँडेका अनुसन्धान अधिकारी सापेक्षको कथा हाम्रै समाजको अनुहार र घटनाक्रमसँग मेल खान्छन्। जनयुद्धमा होमिएका सापेक्ष र सुदूरपश्चिमका ईशापुत्रका बेपत्ता दाइ यही समयका उपज हुन्।

बेपत्ता मोहदत्तकी देवीको एक्लोपन, भुलभुलैयाको हक्कीपना, या पोस्टपार्टम गर्ने डाक्टरको पीडा– सबै यही समाजका टुक्राटुक्री व्यथा हुन्। सबै पात्रका केही समस्या छन् र त्यसैको समाधान खोज उनीहरूको ध्याउन्न। सत्यको हत्या गरिने जगत् मिथ्या कल्पना र यथार्थको जोडमा अडेको एक डिस्टोपिया हो। भ्रष्टीकरणको मार्गमा लागेको हाम्रै विसंगतिपूण समाजप्रतिको कडा व्यंग्य पनि।

पराजुलीले लिएको प्रयोगधर्मी बाटो असल छ। तथापि नेपाली साहित्यमा पहिले गरिएका प्रयोगभन्दा भिन्न गर्नु उनका निम्ति चुनौतीपूर्ण पनि उत्तिकै छ। सरुभक्तको अहंको केन्द्रमा रहेको ‘म’जस्तै यस उपन्यासले अस्तित्वको वकालत गर्दै ‘म’लाई प्राथमिकतामा राखेको देखिन्छ। मदनमणि दीक्षित, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, सरुभक्त, शारदा शर्मा आदि अग्रज साहित्यकारको आख्यानमा केही प्रयोगधर्मी काम गरिसकेका छन्। कल्पना र यथार्थको रमरममा मस्त पार्ने अविनाश श्रेष्ठदेखि स्वेरकाल्पनिक दुनियाँमा दौडाउने कुमार नगरकोटीहरू अक्षरको खेती गोडमेल गरिहेका बखत नवआगन्तुकले जोड मेहनत गर्नैपर्छ प्रयोगवादी लेखनमा।

प्रत्येक लेखक आफ्नो अनुहार या हस्ताक्षरको दाबी गर्दछ, लेखनमार्फत। पराजुली त्यही दाबी दौडमा सामेल छन्। आफ्नै अनुहारसहित अगाडि आउने प्रयत्नमा रहेका पराजुलीले मिथ्यामा उभ्याएका केही पात्रका नाम कतै पढिसकेझैँ लाग्नु लेखकका निम्ति घातक हुन सक्छ। त्यसका अतिरिक्त मिथ्याभित्रको तमात भुलभुलैया पार गर्न धेरै पाठकलाई हम्मे पर्ने देखिन्छ।

झिझो मानेर पाठकले पुस्तक पन्छाइदिने खाले गोलचक्कर, घनचक्कर या भुलभुलैया घटनाक्रमको फन्कोले पाठकको दिग्दारी उकाल्न सक्नेछ। पराजुलीले प्रयोग गरेका केही शब्द र सन्दर्भले उनको बहकाइ या लहडबाजीलाई पुष्टि गर्दछ। एक सन्दर्भमा अस्तित्वले भन्छ, ‘भनेको सुनेको थिएँ, श्रीमतीजतिको खतरनाक जिनिस यो संसारमा अर्को कुनै हुँदैन, (१६४)।’ श्रीमती या महिलाका सम्बन्धमा दुईवटा अत्यन्त नकारात्मक कुरा देखिन्छः एक त उनीहरू खतरनाक हुन्छन् र अर्को उनीहरू भनेका जिनिस हुन्। ‘जिनिस’ अर्थात् वस्तु।

महिलाको वस्तुकरणले पिरोलिरहेको पुँजीवादी उपभोक्तावादी दलदले समयमा एक सचेत युवा लेखकले यति ख्याल गरिदिएको भए हुन्थ्यो भन्ने पाठकलाई लाग्न सक्छ। अझ अर्को प्रसंग झनै दिक्दारलाग्दो छ। उही अस्तित्वले भन्छ, ‘अचेल मलाई मेरा प्रिय पुस्तक अर्काकी श्रीमतीजस्तो लाग्न थालेको छ, (१६४)।’ यो कस्तो बेतुके दजाइँ होला ! थोरबहुत पाठकको दिमाग भारी पारिदिन सक्छ।

गोलभुमरी निकै छन्, जतग्–मिथ्यामा। रमाइला भनौँ या अनौठा प्रसंग अनेक निर्माण गरेका छन् लेखकले। मिथ्या मार्ट भ्रमका पोका किन्न पाइने (१३२) सन्दर्भ बहुत गजबको छ। गोलपोखरीमा धमाधम मोहदत्तजस्ता देखिने आकृति डुब्दै बिलाउने दृश्यात्मक वर्णनले अनौठो रहस्यात्मकताको समीप लैजान्छ। उपन्यासभित्र आएका विम्बात्मक अभिव्यक्तिले काव्यको लय पकड्नुका साथै लेखकको भाषिक शिल्पको पनि उजागर गरेको छ। जस्तो किः ‘डाँडाको टाकुरामा घोप्टिएको सेतो कुहिरो, (१९८)। दुधिलो घामको किरणले पोखरीको पानी टल्किएको थियो, (२००)।’

जगत्–मिथ्या नामक काल्पनिक संसारको विपरीत समय र पश्चगामी व्यवस्थाले हाम्रै देशको झल्को दिन्छ, जहाँ अनेक सामाजिक राजनीतिक परिवर्तनका बाबजुद समाजले आमूल परिवर्तनको मूल बाटो भने अझै समाउन सकेको छैन। विभिन्न मिथकीय पात्र र घटना जोड्दै अघि बढेको मिथ्या यथार्थ र स्वैरकल्पनाको ढेप लाग्दै अघि बढेको खोजको कथा हो।

प्रकाशित: ३ वैशाख २०७९ ०१:१५ शनिबार

अक्षर