कला

पवन आलोकको पहाड र लमतन्न समुद्रको लोकार्पण

नियात्रा समाज नेपालले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा  पवन आलोकको  नियात्राकृति पहाड र लमतन्न समुद्रको  लोकार्पण गरेको छ।

नियात्रा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष प्रतीक ढकालले पवन आलोकका नियात्राले पाठकलाई नढाँट्ने दावी गरे। यस्तै समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले आलोक नियात्रामा सिधा भन्ने गरेकाले उनका नियात्रा पढ्न पाठकलाई सहज हुने बताए।

साझा प्रकाशनका महाप्रबन्धक एवं साहित्यकार प्रल्हाद पोखरेलले साझा प्रकाशनको अवस्थाबारे बताउँदै साझालाई साथ दिन लेखकहलाई आग्रह गरे। उनले आलोकको नियात्राकृतिले पाठकको मन जित्ने कुरामा विश्वस्त रहेको पनि बताए।

यस्तै साहित्यकार किशोर पहाडीले पुराना स्रष्टाहरूका नियात्रा संग्रहको पढ्नुपर्ने बताउँदै आलोकको लेखनशैली प्रभावकारी भएको बताए।

यसैगरी साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले लामो साहित्यिक यात्रा तय गरेका आलोकको साहित्यिक सिर्जना लोभलाग्दा भएको बताए। उनले नियात्रामा अनुभूति लेख्न सकियो भने असली नियात्रा हुने र आलोकका नियात्रा पनि असली नियात्रा भएको बताए।

कार्यक्रममा साहित्यकार विधान आचार्यले लेखक आलोकको लेखन प्रवृत्तिको चर्चा गर्दै नियात्राकार इमानदार हुनुपर्ने बताए।

यस्तै कार्यक्रममा नियात्राविद् जय छाङ्छाले नियात्राले विश्वव्यापी मान्यता पाउँदै आएकोमा खुसी व्यक्त गर्दै सबैसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

छाङ्छाले नियात्रा अनौपचारिक इतिहास भएकाले लेखकले छलछाम नगरी यथार्थ कुरा लेख्नुपर्नेमा जोड दिए।

यसैगरी साहित्यकार श्रीओम श्रेष्ठ रोदनले संस्मरण र नियात्राको पुस्तक बढ्दो र इमानदारी घट्दो अवस्थामा पवन आलोकले जिम्मेवार भएर नियात्रा लेखेको बताए।

यस्तै साहित्यकार प्राडा गोविन्दमान सिंह कार्कीले नियात्राकार आलोक सरल र शिष्ट लेख भएको बताए। कार्यक्रममा लेखक भारती गौतमले निरन्तर लेख्न सक्नु ठूलो कार्य भएको बताइन्।

कवि ठाकुर बेलवासेले नियात्रा लेखनमा पवन आलोकको सरल र शिष्ट जीवन शैलीको प्रभाव परेको बताए।

कार्यक्रममा उपस्थित साहित्यकारहरू प्रतीक ढकाल, प्रल्हाद पोखरेल, प्राडा लक्ष्मणप्रसाद गौतम, किशोर पहाडी, विधान आचार्य, श्रीओम श्रेष्ठ,राधेश्याम लेकाली,प्राडा गोविन्दमान सिंह कार्की, जय छाङ्छा, जयदेव भट्टराई, देवीका तिमल्सिना, प्रधुम्न जोशी, राजेश खनाल, शंकर भारती, भारती गौतम, गीता रेग्मी, ठाकुर बेलवासे, छविरमण सिलवाल, रञ्जना निरौला र रेखा कँडेल,श्रीराम राई र मुना बोहोरा लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

प्रकाशित: २ वैशाख २०७९ ०५:१८ शुक्रबार

अक्षर