कला

कला क्षेत्रमा गतिविधि ठप्प, विवाद प्रशस्त

कोरोना महामारीले थला परेको नेपालको अर्थतन्त्र जुर्मुराउँदै गरिरहँदा २०७८ साल फिल्म र मनोरञ्जन क्षेत्रको गतिविधि ठप्पजस्तै भयो।

फिल्मदेखि रंगमञ्च र ग्यालरी बन्द रहे पनि २०७८ सालमा कलाकारहरू भने विवादैविवादले घेरिए। कोरोना महामारीको जोखिम कम भएलगत्तै २०७८ मा फिल्म हलमा ‘चपली हाइट–३’, ‘कठपुतली’, ‘म यस्तो गीत गाउँछु–२’, ‘डाँडाको वरपिपल’, ‘धुम ४’, ‘ओभर डोज’, ‘सकिनँ भुल्न तिमीलाई’, ‘चुरीफुरी’, ‘लप्पन छप्पन–२’, ‘चिसो एस्ट्रे’ र ‘आइ लभ यु भन्नै सकिनँ’ रिलिज भए। ‘चपली हाइट–३’, ‘म यस्तो गीत गाउँछु–२’ र ‘चिसो एस्ट्रे’ फिल्म चर्चामा रहे। ‘म यस्तो गीत गाउँछु–२’ वर्षकै सर्वाधिक व्यापार गर्ने फिल्म बन्यो।

२०७८ सालमा अधिकांश नयाँ फिल्मले सुटिङ थाल्न पाएनन्। फलस्वरूप कलाकारदेखि प्राविधिकहरू म्युजिक भिडियोमा केन्द्रित भएका थिए। ‘म यस्तो गीत गाउँछु–२’ फिल्म रिलिजसँगै नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाह थुनामा परे। जिल्ला अदालत पूर्वी नवलपरासीले तनहुँमा राखेर अनुसन्धान गर्ने आदेश दिएको थियो।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता भएका थिए। पीडित किशोरीले ४ लाख रूपैयाँ र अन्य क्षतिपूर्तिको माग गरेकी छन्। १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको आरोप पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ।

स्थानीय निर्वाचनको संघारमा एमाले प्रवेश गरेर अभिनेत्री करिश्मा मानन्धर चर्चामा रहिन्। डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको तत्कालीन नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएपछि राजनीतिमा निष्क्रिय रहेकी उनले नयाँ गन्तव्यका लागि एमालेमा आबद्ध भएको जनाएकी थिइन्। २०७३ सालमा तत्कालीन एकीकृत माओवादीबाट अगल भएर भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा अभिनेत्री मानन्धरसँग सरोज खनाल र अशोक शर्मासमेत प्रवेश गरेका थिए।  

तत्कालीन एकीकृत माओवादीबाट युटर्न गर्दै २०७३ सालदेखि संघीयता खारेजी, हिन्दु धर्म र राजतन्त्र पुनःस्थापनाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध अभिनेत्री रेखा थापा पछिल्लो महाधिवेशनमा महामन्त्रीमा पदमा पराजित भइन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी गायिका कोमल वलीले २०७८ सालमा राष्ट्रियसभाको सांसद पदबाट अवकाश पाइन्। राजनीतिक दलले निर्वाचन नजिकिँदै गर्दा भिड र मतदाता जुटाउन कलाकारलाई टिकट दिने आश्वासनसहित पार्टी प्रवेश गराउने प्रवृत्ति नेपाली राजनीतिमा हाबी भएको छ।

२०७८ सालमा गायक प्रकाश सपुतको ‘पिर’ गीतले चर्चा बटुल्यो। १० वर्षे ‘सशस्त्र द्वन्द्व’ मा सहभागी तत्कालीन जनमुक्ति सेनाको अपमान गरेको भन्दै माओवादी केन्द्रका नेताहरूले गायक सपुतको ‘पिर’ गीतको भिडिओ युट्युबबाट हटाउन चेतावनी दिएका थिए।

सशस्त्र द्वन्द्वमा सहभागी छापामारले अहिले भोग्नुपरेको अभाव र पीडाको कथा समेटिएको १६ मिनेट २५ सेकेन्डको गीतलाई सम्पादन गरेर मात्र युट्युबमा राख्न गायक सपुत बाध्य भए। महिला छापामार आर्थिक अभावका कारण देहव्यापारमा लागेको सन्देश दिन खोजिएको भन्दै माओवादी केन्द्रका नेता र कार्यकर्ताले विरोध गरेका थिए।

प्रकाशित: १ वैशाख २०७९ ०६:११ बिहीबार

कोरोना महामारी अर्थतन्त्र