कला

मूल्यांकन

लघुकथा

लता केसी

रीताको आर्थिक सम्पन्नता देखेर आकर्षित हुने साथीहरू धेरै थिए। सबै जना उनलाई मानवतवादी र समाजसेवी भनेर पूजा गर्थे। दिनभरि घरमा  साथीहरू बोलाएर रमाइलो गर्नु उनको दिनचर्या बनेको थियो। मिष्टान्न डकार्दै प्रशंसाको पुल बाँध्ने साथीहरूसँग उनी धक फुकाएर कुरा गर्थिन्। आफ्नो  रवाफ र शानबारे बोलेर थाक्दिन थिइन्।

उनकै एक छिमेकी बैनीलाई उनको यो चाला मन परेको थिएन। बोलाउँदा पनि उनी कहिले गइनन्। रीताले साथीहरूको अगाडि  गँवार, घमण्डी भनेर सधैं उनको खोइरो खन्थिन्। एकदिन उनी पढिरहेकी थिइन्। होहल्ला उत्पातै भइरहेको थियो।

उनले सहिन् मात्र, केही बोलिनन्। उसैबेला अचानक जमिन हल्लिन थाल्यो। सबै भागाभाग गरे। रीता बाहिर निस्किन सकिनन्। बाहिरबाट उनको चिच्याहट सुनियो। डरले कोही भित्र पसेनन्। छिमेकी भएको नाताले उनै बैनी भित्र गइन्  र उनको उद्धार गरिन्।

सबै जना खुसी देखिए। यतिञ्जेल अवस्था सामान्य बनिसकेको थियो। सबै साथी बिदा भए। बैनीलाई उनले ‘एकछिन पर्ख है’ भन्दै उनी घरभित्र गइन्। तुरुन्तै बाहिरिन् र केही नगद फाल्दै भनिन्, ‘तैंले यत्तिकै लागि त सहयोग गरेकी होलिस् नि नत्र तँभित्र मानवता त कहिले पनि फिटिक्कै देखेकी थिइँन।’

प्रकाशित: २८ चैत्र २०७८ ०६:४३ सोमबार

अक्षर