कला

शान्ति

लघुकथा

म्यामराज राई

जंगलको शान्त वातावरणमा खलबल मच्चाएको आरोपमा जनावरहरूसहित भएभरका सबै मिलेर सिंहलाई त्यहाँबाट लखेटे। अब एक्लो सिंह झन् एक्लियो। गन्तव्यहीन यात्रा गर्न बाध्य भयो।

ब्वाँसो,स्याल र बाँदर निकै रमाए। उनीहरूले एउटा खुशीयाली भोज समेत चलाए। सजीव र निर्जीव वस्तुहरूको उत्साहजनक उपस्थिति थियो। यी तीनमध्ये सबैले पहिले आफू जंगल प्रमुख हुनुपर्ने दाबी गर्न थाले।

सिंह खेद्नुमा आफ्नो धेरै योगदान रहेको मौखिक प्रमाण पेश गर्न होडबाजी चल्यो। विवाद बढ्यो।किराफट्यांग्रा,चराचुरुंगी, बोटबिरुवा तथा घाँसपातहरूमध्ये कुनैले प्रमुखमा ब्वाँसोलाई रोजे। कसैले स्याललाई त कसैले बाँदर रोजे। आआफ्नो समर्थनमा केहीबेर जिन्दावादको नारा लगाए।

एक महिनाका लागि प्रमुख बन्न देऊ। त्यसपछि तिमीलाई साथ दिन्छु अनि कति प्रमुख भएर बस्न मन छ, बस्दा भयो।’ स्यालले ब्वाँसोलाई फकाई झार्यो। इता स्यालले बाँदरतिर पनि ठ्याक्कै उस्तै अस्त्र फ्याँक्यो।

ब्वाँसो र बाँदरले महिना दिन बित्न नपाउँंदै बेग्लाबेग्लै सूचीकारबाट नयाँ पोशाक तयार पारे। वाचा अनुसार स्यालले गरेन। त्यसपछि ब्वाँसो र बाँदरले गलहत्त्याए। अब उनीहरूबीच पनि को पहिले प्रमुख बन्ने विषयमा चर्काचर्की भयो।

‘हामी सजातीय मिलौं।’ ब्वाँसोले बाँदरलाई एक्लाउने नीति ल्यायो। स्यालको समर्थनमा ब्वाँसो प्रमुख बन्न सफल भयो। यी दुई आलोपालो गरिरहे। बाँदरले प्रमुख बन्न नपाएको झोकमा स्यालको घरमा आगो सल्काइदियो। ब्वाँसो हिंड्ने बाटो भत्कायो। जंगलभरि कोकोहोलो मच्चायो।

तीन पक्षकै सबै समर्थक एकै ठाउँमा गोप्य बैठक बसे। ब्वाँसो,स्याल र बाँदरको सत्ता लुछाचुँडीकले जंगलमा झन् अशान्ति फैलिएको निष्कर्ष निकाल्दै यी तीनैलाई डाँडा कटाए।

प्रकाशित: २६ चैत्र २०७८ ०७:४३ शनिबार

अक्षर