कला

तिम्रो याद सँगसँगै जीवन यात्रा गर्छु म

गीत

त्रिविक्रम पाण्डे

तिम्रो याद सँगसँगै जीवन यात्रा गर्छु म,

तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म।

 

नबोलाई यो मनमा जब तिम्रो याद आउँछ,

आँखाअघि अचानक ठूलो उदासी छाउँछ।

बेहोसिंदै लडखडाई दोबाटामै लड्छु म,

तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म।

 

तिमी कहाँ गयौ तिम्रो याद कहीं गएन,

मिलनको सुन्दर सपना साकार भएन।

सोचिनथें काँडा बन्छु बिझाउँछु गढ्छु म,

तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म।

 

खरानी भो दिल, यो मुटु ह्रदय जलायो,

नियतिले बिछोडिन फेरि किन मिलायो।

तड्पी–भड्की मूर्तिवत् अनायासै अड्छु म,

तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म।

प्रकाशित: २६ चैत्र २०७८ ०७:०१ शनिबार

अक्षर