कला

शिखर र मान्छे

कविता

लक्ष्मी ढुंगाना

छैन केही गुनासो तिमीसँग

निष्ठुरी मलाई भुल्यौ नि भन्ने

किनकि वर्षौको यात्रा

सुरक्षासाथ हिंडाएका

थोत्रा जुत्ताचप्पल  

सम्झिदैन लगाउनेले

एकैपल नयाँ भेटिएपछि

भुल्नु त स्वभाव न हो मान्छेको

तिम्रोजस्तै

सायद शिखरमा पुग्नेले

भुल्छ यात्राका सहयात्रीहरू

अनि भुल्छ

आफ्नै पाइतालाले नापेको गोरेटो

भुल्छ तिर्खा मेटेको

जरुवाको चिसो पानी

अनि भुल्छ उकालो चढ्दा

यात्रामा भर दिने लौरी

र भुल्छ वर्षौं शीतल तापेका

मनका चौतरीहरू

सायद भुल्छन् चराहरू पनि

प्वाँख भरिएपछि उडानको

हुर्र्की बसेको प्रिय गुँड

फेरि पनि

दुःख छैन भुल्यौ नि भन्ने

किनकि शिखर चढेपछि

फेदी कहाँ सम्झिरहन सकिन्छ र

यात्री त फगत शिखर सम्झन्छ

हो, माथिल्लो तला चढ्नेले  

टेक्नै पर्छ सायद प्रत्येक सिँढीलाई

खैर कुल्चियून् अरूका तुच्छ सपना

आफू पुग्ने गन्तव्य सम्झन्छ

बुझेको छु तिमी बाँच्ने जीवन दर्शन

परिवर्तन मात्र शास्वत ठान्छौ

कुवाको पानीझैं

कहाँ एकैठाउँ

जमिरहन सक्छ र जीवन

तिमी त क्रान्तिकारी मान्छे

खोज्दै हौला नयाँ गन्तव्य

सायद खोलो तरेपछिको लौरी म

जहाँ फ्याँक्यौ किनारामा त्यहीं छु

सम्झिन्छु आफूलाई फगत

तिम्रो बुझाइको चाइनिज माल

गुनासो छैन प्रयोग पछि फ्याँकिनुमा

भुल्नु दुनियाँको रित नै हो

त्यसैले त

भुल्छौ शिखरका हिलारी र तेन्जिङहरू

तल नाम्चेका हामी जस्ता भुईं मान्छे।

प्रकाशित: २६ चैत्र २०७८ ०५:११ शनिबार

अक्षर