कला

निद्रा

लघुकथा

ढाकामोहन बराल

आज मनोनयन दर्ता गर्ने अन्तिम दिन। उम्मेदवारी जति जनाले दर्ता गरे पनि जित्ने सम्भावना भनेको गोपाल खत्री अथवा बलराम खवासको नै देखियो। राकेश शहरको एक जानेमानेको निर्माण व्यवसायी हो। उम्मेदवारी दर्ता सकिएको एक घण्टामा गोपाललाई फोन गर्‍यो, ‘गोपालजी, ल अग्रिम बधाई छ है। म त हजुरको आफ्नै मान्छे, के गर्नु व्यापारी परियो, खुलेर लाग्न मिलेन तर म हजुरलाई नै सहयोग गर्ने हो। कुनै हिचकिच नमाने हुन्छ।’

–अँ अहिलेलाई युवा परिचालन गर्न कुन पेट्रोल पम्प प्रयोग हुन्छ! मलाई खबर गरिदिनु होला। लागेको बिल म तिरिदिन्छु। चिन्ता मान्नु पर्दैन तर कुरा गोप्य होस् है।

त्यसको एक घण्टामा बलरामलाई फोन गर्दै भन्यो, ‘बल्ल शहरले वास्तविक विकास गर्ने नेतृत्व पाउने भयो। हामी सबैले खोजेको हजुरजस्तै हो। सकेको सहयोग गरेर जिताई छाड्ने हो बालरामजी। के गर्ने हामी धेरै खुल्न नमिल्ने, आवश्यक परेको सहयोग माग्न नभुल्नु होला। बरु एउटा कुरा चुनावमा केटाहरू मोबिलाइज गर्न लाग्ने रसद्पानीको खर्च मेरो तर्फबाट गरूँला बरु कुन होटल हो समयमा नै जानकारी पाऊँ।

‘आज अबेरसम्म गोपाल र बलराम निदाउन सकेनन्। चुनाव नभएसम्म भन्न सक्ने अवस्था पनि छैन। एउटालाई साझेदार दलका कार्यकर्ताले भोट नदिने हुन् कि भन्ने चिन्ता अर्कालाई आफ्नै पार्टीका कार्यकर्ताको अन्तर्घातको पिर। उता राकेशलाई भने मनमनै ‘जसले जिते पनि यिनीहरूलाई चलाउने मैले हो’ सोच्दै मीठो निद्रा पर्‍यो।

प्रकाशित: २५ चैत्र २०७८ ०७:०९ शुक्रबार

अक्षर