कला

आखिर अस्तायो ओत

संस्मरण

खेमराज पोखरेल

म अमेरिकामा छु। काठमाडौंमा राधा भाउजू निकै दिनदेखि सिकिस्त बिरामी हुनुहुन्थ्यो। धेरै थरी रोग थिए भनिन्थ्यो। तर, एक्कासि मेसेन्जर फोनले दुःखद् खबर ल्यायो, राधा भाउजूले इहलीला त्याग गर्नुभयो।  

घटना त यत्ति हो-राधा भाउजूको स्वर्गवास भयो। तर, सुनेर वातावरण स्वाभाविक रूपले अस्वाभाविक बन्यो। हाम्रा हाँसिरहेका अनुहारमा विह्वलता देखापर्‍यो। मेसेन्जर फोनमा आफन्त तथा शुभेच्छुकका अलगअलग भनाइहरू आउन थाले। कोही ‘दुःख कट्यो’ भन्दै हुनुहुन्थ्यो। कोही ‘उमेर नै कति भएको थियो र!’ भन्नुहुन्थ्यो। कोही यस्तो बेलामा भनिने रेडिमेड नश्वर शरीरका बारेका अवस्थालाई सम्झनुहुन्थ्यो। कसैले भौतिकताको निरर्थकता बोधभित्र प्रवेश गरेर वैराग्यबोध गर्नुहुन्थ्यो।

मसाने वैराग्य नै सही वैराग्य आउँथ्यो। कोही औपचारिक शब्दबाट श्रद्धाञ्जलि चढाउनुहुन्थ्यो। जुठो कसले कति दिन बार्ने भन्ने बहस सुरु भएथ्यो। यो खाने, त्यो नखाने भन्नेबारे श्रुति कुरा शास्त्र  बनाएर व्यक्तिन थालेका थिए। जुठो बार्ने दर्शनबारे पक्ष वा विपक्षका बारेमा तर्कहरू प्रस्तुत भइरहेथे। यो मेरा लागि सनातनीय तथा परम्परिक कुरा थियो। हजारौं पल्ट सुनेसुनाइएको कुरा थियो। तर, म सोचिरहेको छु, मृत्युको कुनै उमेर हुँदैन। मृत्युलाई सामयिक पनि भन्न सकिन्न। याने कि मृत्यु भन्ने शब्द जहिले पनि असामयिक नै हुन्छ। मृत्यु अवाञ्छित क्षण हो। असामयिक तथा पीडादायी नै हो तर सत्य हो।

र, पनि यो बेला राधा भाउजूको कीर्तिशेषको क्षणमा जीवन तथा मृत्युका बारेमा गम्दै छु। जीवन के हो? मृत्यु के हो? सुख के हो? दुःख के हो? हुन त सैद्धान्तिक नै भए पनि यत्ति त मलाई बुझेझैं लाग्छ कि जन्म र मृत्यु जीवनका सर्वसत्य हुन्। अस्थायी छ मान्छेको चोला। शरीर भन्नु स्थूल मात्र हो। जीवनको त्यो स्थूलता कुनै बेला समाप्त भइहाल्छ। याने कि जन्मेपछि मान्छे मर्छ।

यी दुई सत्यका बीचमा झुन्डिएको हुन्छ मान्छेले भन्ने गरेको चैतन्यरूपी शरीर। याने मान्छेले भन्ने गरेको जीवन। त्यो जीवनमा मान्छेका आँखाले देखिने भौतिक शरीर पनि हुन्छ र अनुभूत गर्ने चेतना पनि हुन्छ। भनिन्छ, त्यही स्थूल शरीरभित्र बसेर उपभोग गर्छ/गराउँछ सूक्ष्म शरीरले। यद्यपि मान्छेले फेर्ने गरेको श्वासलाई सूक्ष्म शरीरको रूप मान्ने हो भने मैले त्यसरी त्यो रूपमा सूक्ष्म शरीरलाई आँखाले देखेको छैन। मेरा सनकका आडमा सूक्ष्म शरीरलाई बोध गरें भन्नु अर्कै कुरा हो। यद्यपि आफ्ना उमेरगत जीवनका ऋणात्मक लयले एउटा अवस्थाको भने सिर्जना गरि नै रहेको छ। स्थूल शरीर र सूक्ष्म शरीरका बारेमा तथा बाँचेर मर्ने वा मरेर पनि बाँच्ने भन्ने मान्छेको अवस्थाका बारेमा घनात्मक चिन्तन गर्न मन भने लागेकै हुँदो रहेछ।

यतिबेला कीर्तिशेष हुनुभएकी राधा भाउजूका विविध भौतिक तथा अभौतिक तस्वीर छन् मेरा स्मृतिमा। ती तस्वीरका अनेकौं पाटा छन्। ती तस्वीरले जीवनबारे विविध अर्थ लगाइरहेका छन्। जीवनका ती अर्थहरूले मेरा दिमागमा झट्का दिइरहेका छन्। यही लर्कासर्कामा म जीवनको कायाको रूप तथा सार खोज्दै छु। तर, न त जीवनको रूप फेला पार्दै छु, न सार।

राधा भाउजू खोटाङ जिल्लाको सावाकटहरे नामको पहाडमा जन्मनुभयो। पहाड भोग्नुभयो। पहाड भन्नेबित्तिकै त्यहाँका उकाली–ओरालीहरू भोग्नुभयो। भौगोलिक दुरूहता भोग्नुभयो। यद्यपि उहाँको माइती भट्टराई परिवार एक मानो खानलाउन पुग्ने हैसियतमै थिए भनिन्छ। तर पनि भौगोलिक विकटता, सामाजिक चेत, घरखेतको चटारो नभोगी कुनै पहाडी वर्गलाई धर थिएन। राधा भाउजूले ती वाला वयका दिनलाई बिनाअर्जी भोग्नुभयो।

तिनताक त्यो भेकमा स्कुल थिएन। शिक्षा आर्जन गर्ने अवसर, चेत, इच्छा, आवश्यकता तथा परिवेश केही थिएन। समय सन्दर्भका हिसाबले हेर्ने हो भने त्यो एकदम स्वाभाविक कुरा थियो। त्यो बेलाका पहाडका आम चेलाचेलीले भोगेकै समस्या थियो। राधा भाउजूको जीवनको त्यो एउटा तस्वीर थियो। एउटा रूप थियो जो मैले देख्ने कुरा थिएन। सुन्ने कुरा मात्र थियो। त्यसपछि मधेस झर्‍यो

परिवार। मधेस भन्नु झापा जिल्लाको बैगुन्धुरा थियो। आफ्ना पटवारी पद पाएका पिताले जमिन्दारको भलो गरी फँडानी गरेर जोडेका झोडा जग्गाजमिन पर्याप्त देख्नुभयो। घरमा नोकरचाकर, हली गोठाला देख्दै हुर्कनुभयो। पहाडमा धानको भात खाने समस्या हुन्छ नै। तर, झापा झर्नेबित्तिकै मसिना चामल खाने वातावरणमा हुर्कनुभयो। स्कुलको अनुहार देख्नु भएन। घरैमा साउँअक्षर चिनेर शैक्षिक तथ्यांकमा साक्षर बन्नुभयो। बाबुआमाकी जेठी छोरी भएकाले होला धेरै वर्ष त्यो जमिन्दारीमा बस्नु पाउनु भएन। उहाँको बिहे भयो सप्तरी राजविराजको वाग्ले परिवारका गणेश उपाध्यायसँग।

राधा भाउजूकी सासू मेरी भान्जी फुपू हुनुहुन्थ्यो। तर, हामी प्रेमले जमुना दिदी भन्थ्यौं। राधा भाउजू विवाह भएर पुगेको त्यो घर पटक्कै खेतीवाला थिएन। खेतीको चटारो थिएन। गाईभैंसी, खेतालागोठाला, हली र अर्मपर्म केही थिएन। त्यसैले राधा भाउजूले सिकेका सिकाइएका कुनै सीप आफ्ना घरमा काम लाग्ने कुरा थिएन। घर विशुद्ध जागिरे थियो। श्रीमान् शिक्षक जागिरे र जागिरे जीवनका सीमितताहरू थिए। परिवारको सीमितता। आवश्यकतामा सीमितता। स्रोतमा सीमितता। परिवेशमा सीमितता। स्वाभाविक थियो, त्यसैमा रम्नुभयो।

मेरो घर सप्तरीको रूपनगरमा भएको हुनाले र उहाँको घर सप्तरीको राजविराजमा भएकाले हाम्रा दुई आफन्त परिवारका बीचमा आवतजावत हुन्थ्यो। म केटाकेटी नै थिएँ। अलिअलि सम्झन्छु कि दसैं जस्ता चाडपर्वमा उहाँहरू परिवारै बयलगाडी भाडामा लिएर हाम्रो घर रूपनगरको बस्तीपुरमा आउनुहुन्थ्यो। मलाई मेरी आमाले भनेका कुरा याद छ। राधा भाउजूको गोरो र मिलेको अनुहारवाला रूपको अझै बयान गर्नुहुन्छ मेरी आमा।

जमिन्दारकी छोरी जागिरे जीवनको परिवेशमा केके अनुभूत गर्नुभयो भन्ने बारेमा कसले पो भन्न सक्छ र? तर समयले राधा भाउजूलाई जागिरेकी श्रीमती पनि धेरै दिन बनाएन। शिक्षक जागिरे श्रीमान् गणेश उपाध्याय समयका संयोगले काठमाडौंमा पुगेर व्यापार गर्न थाल्नुभयो। बिस्तारै राधा भाउजू पनि सपरिवार काठमाडौं बसाइँ सर्नुभयो।

उहाँको जीवनमा अब जागिरे जीवनका सीमितताबाट व्यापारिक जीवनका असीमितता तर्फको यात्रा आइलाग्यो। राजविराजको सानो पेरिफेरिको चालचलनबाट काठमाडौंको चलनमा अभ्यस्त हुनुपर्‍यो। संयोग उहाँहरूको व्यापार फस्टायो। ऋणधन उहाँहरूको निजी कुरा हुने भयो। तर, हामी आफन्तका नजरमा उहाँहरूको जीवनले चुली सम्पन्नता हासिल गर्‍यो र सबै आफन्तका आशाका केन्द्र बन्नुभयो।

एउटा घटना सम्झिन्छु। २०२८/२९ सालतिर मेरो हजुरआमा, बुबा लगायत एक डप्फा पशुपतिनाथको दर्शनका लागि काठमाडौं हानियो। तिनताक महेन्द्र राजमार्ग थिएन। भारतको निर्मली हुँदै रक्सौल पुग्ने र वीरगन्जबाट हेटौडा हुँदै बाइरोडबाट काठमाडौं पुग्नुभयो। त्यो डप्फालाई त्यही राधा भाउजूको परिवारले स्वागत गर्यो। तिनताक चिकंमुगलको अट्को नारायणथान नजिक एउटा पुरानो घरमा डेरा थियो रे उहाँहरूको। सुत्ने ठाउँ तथा स्रोतसाधन छ छैन डप्फालाई केही मतलव थिएन। थियो त  आफन्ती भाव। प्रेमिल भाव। सौहार्द भाव। डेरामा राख्नु मात्र भएन, काठमाडौं घुमाउनु पनि भयो र त्यो काम सामान्यतया राधा भाउजूको जिम्मामा थियो। मेरी हजुरआमा राधा भाउजूबाट यति खुसी र प्रभावित हुनुहुन्थ्यो कि बयान गरेर साध्य छैन।

हो त्यही आशाको लहरो समाउन खोज्ने आफन्तको हारमा एकजना थिएँ म। २०३६ सालको कुरा हो, म बीए पास गरेर खोटाङको दुर्छिम माविमा हेडमास्टर भएको थिएँ। म मधेसको मान्छे पहाडको जनजीवन भोग्दा अत्यास लाग्नु स्वाभाविक थियो। तर म रमेकै थिएँ।

एकदिन मेरा मित्र सुवासचन्द्र दाहालकी फुपू दिदी चरकुमारी दाहालले ‘यत्तिको मान्छे काठमाडौं किन नगएको?’ भनेर मलाई  र्‍याखर्‍याखती पारेपछि मेरो सुतेको मन कल्पनामै भए पनि काठमाडौंतिर पुग्न थालेको थियो। कि काठमाडौं जान पाए ता केही हुन्थ्यो कि? तर त्यो बेला काठमाडौं मेरा लागि परिवेशले, चेतले, आवश्यकताले तथा स्रोतले अभेद्य थियो। संयोग भनूँ वा कुसंयोग पहाडमा मेरो जागिर राजनीतिक कारणले खोसियो।

म बाध्य भएर काठमाडौंतिर लागेको थिएँ र सरासर त्यही जमुना दिदीको ओत पहिल्याउँदै पुगेको थिएँ। किनभने आफन्तका नाममा जम्माजम्मी भान्जी दिदी जमुना वाग्लेको परिवार मात्र थियो काठमाडौंमा त्यो बेला। जेठी बुहारी राधा भाउजू हुनुहुन्थ्यो। काठमाडौंमा बास र गाँसको प्रारम्भिक व्यवस्था त्यही परिवारले गर्नुपथ्र्यो। त्यसो त त्यो परिवार मोफसलका सबै आफन्तको ओत लाग्ने छाता थियो।

खासमा म सासू जमुना वाग्लेको ओतमा पुगेको थिएँ तर घरभित्रको दैनन्दिनी काम त फेरि दुई बुहारी राधा तथा सीताले गर्नुपर्थ्यो। मेरा मनमा संशय थियो- सासूको माइतको पाहुनालाई बुहारीले कुन रूपमा हेर्ने हुन्। म यो कुरा खुब ख्याल गर्थें। तर ती दुवै भाउजू राधा तथा सीताले मलाई भौतिक तथा मानसिक रूपले कहिल्यै सासूको मान्छे भनिठान्नु भएन। बरु म झन्झन् भाउजूहरूसँग आफन्तिएँ। त्यही आफन्तिएकाले नै होला म यतिबेला विह्वल भएको छ। त्यो घरमा म लगातार ९ महिना बसें। त्यो घर आफ्नो घरजस्तो अनुभूत भएको थियो मलाई।

मेरो बिहा राधा भाउजूकै कान्छी बहिनीसँग भयो। म यतिबेला छक्क पर्छु कि मजस्तो बुंगालाई बहिनी दिन किन चाहनुभयो होला? त्यो बेला मसँग न खेती थियो। न जागिर थियो। न व्यापार थियो। न आँट थियो। न तीक्ष्णता थियो। काठमाडौंमा रोजीरोटीको खोजीमा निस्केको अलमस्तर गन्तव्यविहीन यात्रु थिएँ म।

काठमाडौं पुगेपछि टेक्ने र समाउने ठाउँ भएकाले त्यही परिवारले हथेरेर काठमाडौंमा बामे सर्न थालेको थिएँ म। यही हथेर्‍याइमा नै मेरो बिहे भएको थियो। प्रकारान्तरले त्यही हथेर्‍याइमा मैले पहिले मारवाडीकोमा र पछि कलेजमा पढाउने जागिर पाएको थिएँ। यसरी भान्जी भाउजू राधा उहाँकै बहिनी मैले बिहे गरेपछि उहाँ जेठी सासू हुनुभयो। तर पनि उहाँलाई मैले कहिल्यै जेठी सासू ठानिनँ। भाउजू साइनोमा अपनत्वका साथ जीवन चल्यो।

यसरी म राधा भाउजूको  स्वरलाई अन्तरतन्तुको चक्षुको सहाराले हेर्दै छु। राधा भाउजूको परमयात्राले मेरा दिलदिमागभित्र जीवनबोधीय प्रश्नैप्रश्न उब्जाएको छ। समयले आफ्नो तुफानी दौड गरि नै रहेको छ। उहाँको बुनौट नेपालीले सोच्ने गरेको सुन्दरमध्ये पनि सुन्दर थियो। भौतिक कुराको अति सहजता थियो। मेडिकल विज्ञानले गर्न सक्ने सुरक्षामा कमी थिएन। त्यसमाथि छोरी र जुवाइँ दुवै डाक्टर भएकाले त्यो झन् सहज थियो। स्तरीय थियो। त्यसैले राधा भाउजूले रोगसँग मेडिकल विज्ञानको सहायताले लामै समय जुध्नुभयो। जित्नुभयो। जितेको अनुभूति पनि भयो र अन्त्यमा हार्नुभयो। पराभौतिक कुराबाट विचार गर्दा यो परिवेशले एउटा खास प्रकारको जीवनबोध गर्छ। यसै घटनालाई प्रकारान्तरले जीवनबोधको पुस्तक मान्न सकिन्छ।

यो बुँदामा आइपुग्दा भौतिकता तथा चिकित्साशास्त्रको महत्तालाई कत्ति पनि कम नगरीकन सोच्दै छु। अशक्त बुढ्यौली, अचेत तथा अशक्त रोगका कारण मान्छेको जीवनले डाक्टरी त्यान्द्रातुन्द्रीले दिएको सास्ती भोग्नुपर्ने भुक्तमानका बारेमा पनि म सोचमग्न भएको छु। संसारमा अशक्त, अचेत तथा असमाधानीय कहरपूर्ण जिन्दगी बाँचिरहेका तमाम जिन्दगीहरूका तर्फबाट इच्छामरणको आवाज उठिरहेको छ। यो कति जायज कति नाजायज भन्ने बहस उठाउनु मेरो प्रयोजन होइन। तर, जीवनको एउटा बुँदामा पुगेपछि मृत्यु कति आवश्यक हो भन्ने कुराको मानवीय अवलोकन भने भएर नै छाड्ने रहेछ। नसोचूँभन्दा पनि सोच्न बाध्य पार्दोरहेछ।

मैले भोगेका वा भोग्दै गरेका सभ्यतामा मलाई त्यही घरमा ९ महिना बिताएका दिनहरू यतिबेला आँखामा नाचिरहेका छन्। एकतल्ला घर थियो। एउटा बैठक कोठको भुइँमा लहरै ओछ्यान लगाएर धेरै जना सुत्थ्यौं। त्यो आफन्ती तथा आत्मीय भावले गर्दा केही अस्वाभाविक लाग्दैनथ्यो। त्यो सौहार्दले गर्दा ओत लाग्न आउनेजानेले सबैले मन रमाएर गए।

तर अहिले मैले भोग्दै गरेको सभ्यत्तामा आफन्तका घरैघर छन्। काठमाडौंमा तर बास छैन। बैठक कोठा छन् तर पाहुना छैनन्। त्यो बेला घर, स्रोत तथा साधन थिएन तर घरभरि आफन्तको लर्को लाग्थ्यो। अपनत्वको लर्को लाग्थ्यो। अतिथि देवो भवःभन्ने मान्यता रहेको युग थियो। तर अब बिहेबटुलोमा कार्ड दिएर बोलाउँदा पनि भेटन गाह्रो हुने सभ्यताको निर्माण गरेका छौं हामीले। कसैको घरमा काम नपरी किन जाने भन्ने मन्त्रको निर्माण गरेका छौं हामीले। भेटिंदा पनि सभ्य ठानिन कृत्रिम तथा बनावटी बोल्छौं हामी।

हो यही बुँदामा म राधा भाउजूलाई सम्झन्छु। उहाँका ओतमा उभिएका मजस्तै अरूलाई पनि सम्झन्छु। उहाँले बिनास्वार्थ आफ्नो घरलाई हाँसेर ओत बन्न दिनुभयो। सुखदुःख साट्नुभयो। आँत साट्नुभयो। अपनत्व बाँड्नुभयो। हाँस्नुभयो। हँसाउनुभयो। पहाडका उकालीओरालीदेखि लिएर मधेसको जमिन्दारी, मास्टरी तथा सफल व्यापारीका उहापोहहरू भोग्नुभयो र त्यसमा आफूलाई सहज तरीकाले रूपान्तरण गर्नुभयो। यो कुरा वर्तमान सभ्यताको सन्दर्भमा प्रकारान्तरले हेर्ने हो भने महान् कार्य हो।

भनिन्छ, पञ्चभौतिक तत्त्वले बनेको छ मान्छेको शरीर। त्योमध्ये एउटा हराउनेबित्तिकै मान्छेको जीवन सकिन्छ। आफैंलाई मात्र सम्झेर विस्टा बनाउने कार्य त धेरथोरको कुरा हो सबैले गरेकै छन्। तर कसैको ओत बन्नु भनेकोचाहिं चुली धर्म हो। धर्मशास्त्रलाई मात्र पनि विश्वास गर्ने हो भने भगवानले हरेक मान्छेलाई अरू आशामुखी मान्छेको ओत बन्ने अवसर दिन्छ। पुण्य कमाउने चेत पनि दिन्छ तर मान्छेले त्यो अवसरलाई वास्ता गर्दैनन्।

राधा भाउजूको महाप्रस्थानले एकपल्ट यो युगै हाँक्छु भन्ने आँट भएका पौरखिला श्रीमान्लाई विधुर बनाएको छ। निरीह बनाएको छ। विदीर्ण बनाएको छ। मानसिक रूपले कृशकाय बनाएको छ। देशविदेशमा छरिएका र चम्किएका छोराछोरीलाई टुहुरो बनाएको छ। तिनले आमा नहुँदाको पीडा हृदयदेखि नै अनुभूत गरिरहेका छन्। आफन्त विह्वल भएका छन्। फेरि पनि यो सनातनी कुरा नै हो। किनभने मानव चोलाको सत्य नै मृत्यु हो र मृत्यु एकैपल्ट आउँदैन। तर, राधा भाउजूको महाप्रस्थानले हाम्रा मनमा उब्जाएको ओतको प्रश्न भने सनातनी होइन। विशेष हो।

अन्त्यमा, के रहेछ र जीवन? विभिन्न भौतिक तथा मानसिक पउल प्रयत्नका बाबजुद कहिल्यै नफर्किने गरी आखिर अस्तायो त्यो ओत। हार्दिक श्रद्धासुमन भाउजू।  

प्रकाशित: २४ चैत्र २०७८ ०७:४२ बिहीबार

अक्षर