कला

मूल स्रष्टालाई रोयल्टी दिइने

टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ अन्तर्गत तेस्रो दिन शुक्रबार २० समूहले सहभागिता जनाएका छन्। प्रतियोगितामा जम्मा ६१ समूहले सहभागिता जनाएका छन्। तीमध्ये बाँकी रहेका प्रतियोगी समूहलाई चौथो दिन शनिबार प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक शिव हमालले जानकारी दिए।

प्रतियोगिताको तेस्रो दिन बीचबीचमा चर्चित कलाकारहरूको प्रस्तुति समेत राखिएको थियो भने सहयोगी दाता र आजीवन सदस्यता लिने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो। प्रतियोगिताको तेस्रो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने उच्च अदालतका न्यायाधीश नवराज थपलिया प्रमुख अतिथि थिए।

प्रतियोगिता अवधिभर प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक र निवर्तमान अध्यक्ष बद्री पंगेनी सहसंयोजक रहेका छन्। प्रतियोगिताको तेस्रो दिनको प्रस्तुति युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्कमार्फत देशभरका एफएम स्टेसन र विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतियोगितामा प्रतियोगीहरूले गीत गाउँदा प्रयोग भएका भाकाका मूल स्रष्टाले रोयल्टी पाउने भएका छन्। प्रतियोगितामा प्रयोग भएका भाकाको रोयल्टी संगीत रोयल्टी संकलन समाजमा बुझाएर मूल स्रष्टालाई वितरण गरिने आयोजक पक्षले जानकारी गराएको छ।

प्रकाशित: १९ चैत्र २०७८ ०१:४५ शनिबार

अक्षर