कला

सगरमाथा चढ्ने तयारीमा रहेकी अभिनेत्री दियालाई पुन समाजको झण्डा

पर्वतारोहणबाट साहसिक युवाको चिनारी बनाइसकेकी नेपाली चलचित्रकी नायिका दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छिन्। त्यसका लागि उनी आउँदो बुधबार अर्थात् चैत २३ गते सोलुखुम्बुको लुक्ला प्रस्थान गर्दैछिन्।

उनलाई विभिन्न व्यक्ति र संस्थाले शुभकामना प्रदान गरिरहेका छन्। यसै क्रममा पुन समाज नेपालले बिहीबार पोखरामा उनको सम्मान गरेको छ। कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनले उनलाई पुन समाज नेपालको झण्डा हस्तान्तरण गरेका थिए।

त्यसैगरी महासचिव खिमन शेर्पाजा पुन, समाजसेवीहरू–क्याप्टेन बलु पाइजा पुन, नन्द गर्बुजा पुन, राजकुमारी गर्बुजा पुन र तिलक पुर्जा पुन लगायतले शुभकामना अपर्ण गरेका थिए।

सगरमाथा आरोहण मार्फत उनी समाजसेवा पनि गर्दैछिन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालको चिल्ड्रेन एण्ड युथ फाउन्डेसनका लागि सहयागे संकलन गर्दैछिन्।

‘कोभिड–१९ का कारण धेरै नर्सको मानसिक स्वास्थ्यमा समस्या पर्‍यो’, उनले भनिन्, ‘त्यसैले सहकर्मीहरूका लागि पनि केही गर्न चाहन्छु।’

यसअघि उनले नेपालको मनास्लु र अर्जेटिनाको अकोनकागुवा हिमाल आरोहण गरिसकेकी छिन्।

‘हाम्री साहसिक चेली दियाको कामबाट हामी गौरवान्वित भएका छौं’, काफलडाँडा, म्याग्दीका समाजसेवी चामबहादुर पुनले भने, ‘उनका हरेक पाइलाले सफलता चुमून्।’

उनी बेलायतमा नर्सिङ पेसामा संलग्न छिन्। उनले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’मा अभिनय गरिसकेकी छिन्। उनको पछिल्लो चलचित्र मन्त्र आउँदो वैशाखदेखि हलमा लाग्दैछ।

प्रकाशित: १८ चैत्र २०७८ ०४:४९ शुक्रबार

अक्षर