खेमराज पोखरेल
उनी आछामे हजुर्बा। नाम त रणबहादुर पुलामी हो। जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन्। आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन्। उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ। उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै हुन्छन्। उनी पनि आछामे हजुरआमा भएकी छन् तर यी दुईको मायाप्रीतिचाहिँ कस्तो? जान्ने–सुन्ने भन्छन्, ठिकै त भन्दा हुन्। यिनले कहिल्यै झगडा गरेको वा ठास्सठुस्स गरेको समेत थाहा छैन। उनको आफ्नो पौरखले बनाएको काठको दोमहल्ला घर छ। छोराछोरी दर्घदिशा लागेका छन्। जेठो छोराले घर थामेको छ। खेतीपातीले खान–लाउन पुगेकै छ। यसो ऐंचोपैंचो पनि चलेकै छ।
यो गाउँको नाम आछामे हजुर्बाले आफ्ना मनभित्र राखेको हो ‘फरियादपुर’। याने कि यो गाउँसँग उनको ठूलो गुनासो छ। समयसँग गुनासो छ। यो गाउँसँग उनी मौनतामै क्षतिपूर्ति मागिरहेका छन्। त्यसो त यो गाउँको नाम ‘रामपुर’ हो, रामराज्यको न्याय भएको गाउँ। तर पनि उनको ‘फरियाद’ यसै गाउँसँग छ। अहिले उनी निकै बुढा भएका छन्। गाउँभरिमा सबैभन्दा बुढो उनै हुन्। यो वर्षको कोजाग्रतका दिन उनी तिथिले ठ्याक्कै पचासी लागे। उनले ‘सिनियर सिटिजन्स’ को प्यालप्याले दोसल्ला धेरैपल्ट ओढिसकेका छन्। उनलाई साक्षी राखेर उनले आधा बुझ्ने र आधा नबुझ्ने भाषण गरेका छन् अरूले। कैयौं पल्ट अधकल्चो भाषण सुनेर उनी खुइय्य गर्दै थकाइ मार्दै घर आइपुगेका छन्।
खासमा उनी ज्यादै खुसी हुनुपर्ने हो आज। उनको जापान गएको कान्छा छोराले उतै जापानी केटीसँग लभ गरेर यता आएर बिहे गरेको छ। बिहे भोज छ, याने जन्ते बाख्रो। गीत बजेको छ। मान्छे नाचेका छन्। दोहोरी गीतमा ननाच्ने को? भोज याने भोजै छ, कुबेरको भण्डारा जस्तो। बिहे खर्च पनि उनको परेको छैन। बेहुलीपट्टिकाले नेपाली संस्कृति हेर्न यो सबै खर्च गरेका हुन् रे। बेहुली छुँदा दाग लाग्ने मेम साहेब जस्ती। कति राम्री राम्री। उनको गुनासो छोरासँग छैन। उनका धेरै भाइ छोरा र धेरै बहिनी छोरी छन्। कसैले सोधे उनी बडो मजाकिया पारामा भन्छन्, ‘अरिमोठेको खुट्टा गन्न सकिन्छ र? बुढी माउ यिनै हुन्, जति छन् यिनकै छन्, म त हजुर हेरालो।’
उनी ओसारीको डिलमा बसेर यो रमिता हेरिरहेका थिए। उनकी बुढी पनि सँगै चिलिममा तमाखु भरेर दिंदै थिइन्। बुढाले एक स्वाँठ तानेपछि बुढीले तानिन् अनि अरूको पालो। सुर्ती र चुरोट खाँदा कचकच गर्ने श्रीमती भएकाहरू यो दृश्यलाई आरिस गर्थे।
कसैले सोधिहाले रणबहादुर पुलामीकी श्रीमती भन्थिन्, ‘हजुर पिरेम राम्रो, यसै पनि तिन पचास बाँचिन्न क्यारे। यी बुढा, म र यो तमाखु त साथी हौ। नछुट्टिने साथी, हाम्रो जीवन यसैले भुलाएको हो हजुर।’
कसैले उनलाई हातमा समाएर भन्न थाले, ‘हजुर्बा,यो जापानी कान्छो छोरो त हजुर्को पुछन्–पाछन् अनि हजुरले मैझारो नाच्न परेन त।’
उनले नाइँनाइँ त गरेकै हुन् तर सबै जनाले थपडी बजाएर उनलाई हौसाएपछि उनले बुढी बोलाए,
‘ए बुढी आऊआऊ, ए नाच्नुपर्यो।’
‘अब म बुढी कताको नाच्नु नि।’
‘आऊ न हौ आऊ, बुढी’ उनले हातै समाएर उठाए। नेपथ्यमा पुर्वेली लोकगीत बजिरहेको थियो–
‘सोह्र वर्षे उमेरैमा म पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भयो र..!’
उनीहरूले कम्मर समाएरै नाचे। सबै स्वतस्फूर्त नाचे। वातावरण सङ्गीतमय र नृत्यमय भयो।
त्यसो त रणबहादुर पुलामी उहिले फरिया लगाएरै नाच्ने मारुनी थिए। उनको नाचको ताल देखेर नै सावित्रा उनीसँग लोभिएकी थिइन्। नत्र सम्पत्तिका नाममा के थियो र उनको, सावित्राका माइतीका अगाडि। गीत गाउन र नाच्न त सावित्रा पनि तगडा नै थिइन् उहिले केटाकेटीमा।
रणबहादुर पुलामीका जोई–पोइलाई बधाई थाप्न भ्याईनभ्याई थियो। खादा, माला र कसैले त खास्टो नै ओढाइदिन्थे।
आसाममा रणबहादुर पुलामीले गर्नुपरेको दुःखको के बयान गरूँ र? उनको दुःख बिस हो भने उसकी बुढियाको दुःख पनि उन्नाइस होइन। बरु एक्काइस हो। जङ्गलको छेउमा छाप्रो हालेर गोठमा गाई पाल्ने उनीहरूको मूल पेसा थियो। ती गाई पनि अधिया याने बटिया। औलोको पनि त्यत्तिकै बिगबिगी, बाँचिने र मरिने कुनै टुङ्गो थिएन। दुई भाइ छोरालाई त त्यही औलाले नै खायो। तैपनि वर्षेनि जस्ता छोराछोरी बोक्तै पाउनुपर्ने ‘भगवान्को प्रसाद त हात थाप्नै पर्यो’ भन्ने सामाजिक संस्कारबाट उनी पनि त ग्रसित नै त थिए नि।
सावित्राको दुःखको कसैले के अड्कल गर्न सक्नु र? अचानाको पिर खुकुरीलाई मात्र होइन, कसैलाई थाहा हुन्न। तर,उनी खुसी थिइन्। किनभने उनीसँग जीवनपर्यन्त धोका नदिने खसम थियो रणबहादुर पुलामी। उनको आफ्नो खसमसँग कुनै गुनासो थिएन। किनकि उनीहरू नियतिको प्रहारबाट बाँच्न आसाम पुगेका थिए। आफ्नो प्रेमलाई जोगाउन र जिउज्यान जोगाउन आसाम छिरेका थिए।
उनीहरूका जीवनमा गुलाबले काँडा मात्रै दियो। फुल्नै फूल पाएन। उनी कहिलेकाहीं निराश पनि हुन्थे र भन्थे–‘खै सानु, जति गरे पनि खानलाउन मात्रै ठिक्क, तिमीलाई न सुख दिन सकें न राम्रो खान लाउन नै।’
‘हेर बुढा, यो आसामको हाम्रो जीवन ईश्वरको वरदान हो, भगवान् छन्, हाम्रा दिनहरु फर्कन्छन्।’
‘तैपनि तिमी सम्पन्न जिम्ब्वालकी छोरी, यहाँ जीवनपर्यन्तको यो नियति।’
‘यो कुरा फेरि तिमी नगर, तिमीलाई थाहा छैन? हामी आसाम नभागेका भए, तिमीलाई त मारिदिन्थे, टन्टै खलास तर म जीवनभरि तिम्रो यादमा तड्पिएर न मर्न पाउँथेँ न बाँच्न। अनि यो अहिलेको जीवन भगवान्ले तिमीलाई र मलाई पुरस्कार दिएका होइनन्? यी सन्तान के हाम्रा मायाका चिनो होइनन्?’
‘तैपनि धेरै दुःख पाइयो सानू।’
‘हेर दुःख कसले पाएका छैनन् र? संसारमा सबै मान्छे दुःखी छन् तर मान्छेलाई आफ्नो दुःख भयावह लाग्छ। यहाँ मेरा आँखामा हेर त, तिमी छौ, आकाश छ, धर्ती छ, सन्तान छन्, के दुःख छ? त्यही कहिलेकाहीं नुनपानी खाएर सुतेको न हो? छोराछोरीलाई जाउलामा पानी हालेर ख्वाएको न हो?’
‘तर मलाई यस्तो दुःख पाइएला जस्तो लागेको थिएन।’
‘तिमी एकछिन कल्पना गर है त यो संसारमा कति मान्छे श्रीमतीबाट पीडित भएर रोएका छन्, कति श्रीमतीको त कुरै छोड श्रीमान्ले हुनसम्मको शारीरिक र मानसिक पीडा दिएर न मर्न सकेका छन् न बाँच्न, बाँचीबाँची मरिरहेका छन्, मरीमरी बाँचिरहेका छन्। तर, हामी यो संसारका कति भाग्यमानी जोई–पोइ हौं, न तिमीले मलाई रुवायौ, न मैले तिमीलाई।’
‘तिमी मेरो सहारा हौ सानू।’
‘त्यसैले यो जीवन भगवान्को प्रसाद हो, प्रसाद ग्रहण गर, हाँसेर जीवन बिताऔं।’
समयको रेखाचक्र, उनीहरूलाई नेपाल फर्कने अनुमति दिए सावित्राका जिम्वाल माइतीले। खासमा के भने जिम्वाल बाजे र बज्यैको मृत्युपछि समयले अनुमति दियो। भल्ट्याङभुल्टुङ लिएर उनीहरू नेपाल फर्के। गाई बेचेर ल्याएको पैसा पटुकामा पोको पारी मेचीवारि आए रणबहादुर पुलामी र परिवार। मेची पुलमा नेपालले उनीहरूलाई स्वागत गर्यो। बिस वर्ष पहिले यो मेची पुल रोएको थियो। स्वदेश, आफ्नो माटो र आफन्त भनेको के हो भन्ने कुरा गुमाउनेलाई मात्र थाहा हुन्छ। नेपाल के हो भन्ने कुरा नेपालमै बस्नेले भन्दा बाध्यतामा प्रवास पुगेका नेपालीलाई थाहा हुन्छ। आमाको महत्त्व आमा गुमेकालाई जति थाहा हुन्छ त्यो आमा हुनेलाई थाहा हुन्न।
उनीहरुले नेपाल आमाको काखमा आउँदा आफू लुट्पुटिएको अनुभव गरेका थिए।
सावित्रा, उपाध्याय बाहुनकी एक्ली छोरी। जिम्वालकी एक्ली छोरी। छोराहरू भने थिए। कत्रो सान थियो उनको। जिम्वाल बाजेले छोरीको भविष्य ज्योतिषीलाई देखाइरहन्थे। पल्लो गाउँमा प्रकाण्ड मानिएका एकजना ज्योतिष थिए। उनले सावित्राको लागि एउटा भविष्य वाणी गरिदिए–
‘यी नानीको बिहे नौ वर्ष कटाउनु हुन्न। ठूलो भाग्य लिएर आएकी छन्। यिनको जीवन सुखी र खुसीसँग बित्छ।’
अब जिम्वाल बाजेलाई के चाहियो र?बिहेको चर्चा गर्न थाले–
‘ती ज्योतिषीको भनाइ बिस्तुर जाँदैन। अब छोरीको बिहे गरिदिनुपर्छ, ग्रह नै त्यस्तै छ अरे।’
‘होइन मेरै बिहे पनि बाह्र वर्षमा भएको थियो, अहिले बल्ल आठ पुगेर नौ लागेकी छोरीको बिहे गरिदिन के हतार भयो र? फुस्राले त के भन्छन्भन्छन् ?’ जिम्वाल्नी बज्यैले भद्र विरोध गरिन्।
‘आ जान्ने हुन्छेस्, अब गर्ने हो बिहे, आखिर एकपल्ट बिहे गरिदिनै पर्छ, अर्काको नासो।’
सोध्न त सावित्रीलाई पनि सोधेका थिए जिम्वाल बाजेले–
‘नानी, तेरो बिहे गर्न लागेको के भन्छेस् ?’
‘गर्छु नि’ सावित्राले खुसी भएर जवाफ दिएकी थिइन्।
वास्तवमा उनलाई बिहे भनेकै थाहा थिएन। उनका आँखा अगाडि अरूका बिहेमा बेहुलीले लगाएको कपडा, गहना र मिठो भोजभतेर आएको थियो। उनले मनमनै सम्झिन्, ‘अरूका बिहेमा त नाचिन्थ्यो भने आफ्ना बिहेमा त झन् रमाइलो गर्ने।’
साइत हेरेर, चिना जुराएर, लग्न मिलाएर सावित्राको बिहे अर्का गाउँका पण्डितका बाह्र वर्षे छोरासँग गरिदिए। पण्डितजीको सोच थियो ‘कि धन असुराली कि ससुराली।’
याने कि धन लगानी लगाएर असुलेर प्राप्त हुन्छ कि दाइजोका रूपमा ससुरालीबाट प्राप्त हुन्छ। बिहे धुमधामसँग भयो। वैष्णवलाई वैष्णव भोज, तागाधारी मांसाहारीलाई खसी, मतुवालीलाई राँगो काटेर भोज गरे। दाइजो त कति–कति। एउटी छोरी, जिम्वालको रवाफ।
बिहेपछि लोकन्तीका साथ लागी बेहुला बनेको अपरिचित केटोको घर याने पण्डितजीको घर भित्रिइन् सावित्री। तिन दिनपछि उनी आफ्नो घर आइन् याने माइत आइन्।
एक महिनापछि पण्डित बाजेका घरबाट एउटा मान्छे चिठी बोकेर आयो। चिठीलाई धागोले बेरिएको थियो। चिठीमा बेहोरा थियो–
‘तपाईका ज्वाइँ घाँस काट्न चढेको रूखबाट लडेर स्वर्गवास भए।’
उनले जग्गेको आगो मात्र तापिन्। घर देखिन् मात्र। उनले लोग्ने भन्ने मान्छेको अनुहार पनि राम्रोसँग थाहा नपाउँदै उनीमाथि आकाश खस्यो। सावित्राको सबै कुरा खोसियो। रातो रङ खोसियो। पोइ टोकुवी भइन्। समाज कति निर्लज्ज छ भने पोइले दिएको सिन्दूर र पोते मात्र होइन सारा संसार नै खोसियो। उच्छ्वास खोसियो। हाटबजार खोसियो।
समयअघि बढ्दै गयो। सावित्राको समाजले नचाहे पनि उनमा बैंसका रेखाहरू देखिन थाले। उनले बैंस लुकाउनुपर्थ्यो। बैँस लुक्दैनथ्यो।
जिम्वाल बाजेले पुराण लगाए। पुराणमा रणबहादुर पुलामी खटियो। बिछट्ट राम्रो नाच्ने। फुर्तिलो गरीब केटो। त्यसैत्यसै किन हो सावित्रालाई त्यो गरीब पुलामी केटो मनपर्न थाल्यो। रणबहादुरलाई पनि सावित्रा राम्री लाग्न थालिन्। नबोलीनबोली उनीहरूले प्रेम गरेछन्। प्रेम हुर्काएछन्। उनीहरूको यो लुकीछिपी प्रेम एक कान दुई कान मैदान भयो।
जिम्वाल बाजेले पनि चाल पाए। रणबहादुर पुलामीलाई बोलाइयो र सोधियो। सोध्ने क्रममा नै दुईचार कोर्रा उनले खाइसकेका थिए। ‘हो’ भन्ने त उनमा न तागत थियो न परिस्थिति। उनले ‘होइन’ भने।
सावित्रालाई सोधियो। उनले रणबहादुरले खाएका कोर्रा सम्झँदै ‘होइन’ भनिन्।
तीन दिनपछि गाउँमा हल्ला चल्यो, ‘रणबहादुर पुलामीले जिम्वालकी विधवा छोरी उडायो।’
जिम्वाल बाजेले प्रहरी प्रशासनलाई खोज्न लगाए तर जिम्वाल बाजेले थाहा पाउँदा उनीहरुले मेची पुल काटिसकेका थिए। मेची पुल उसै गरी रोइरहेको थियो, जसरी उनीहरू रोइरहेका थिए।
आज रणबहादुर पुलामी त्यो गाउँसँग फरियाद गरिरहेछन्। उनले के अपराध गरेका थिए र? आज जापानी म्लेच्छ बिहे गर्दा भोज खाने रमाइलो गर्ने यो गाउँ किन उनीसँग क्रूर भयो? कोर्राका दागहरू जिउबाट त गएका छैनन् भने मनबाट त के जाला? त्यसैले आज उनी मनमनै त्यो गाउँसँग अर्जी गरिरहेका छन्। फरियाद गरिरहेका छन्। उनको जीवनले अनाहकमा भोगेको यो क्रूरताको क्षतिपूर्ति के?
प्रकाशित: १७ चैत्र २०७८ ०७:२२ बिहीबार