कला

धूलिराम

लघुकथा

थापा लक्ष्मण

‘संसारमा यति राम्राराम्रा नाम छन्। मेरो नाम मात्र यस्तो? धूलिराम रे! थुक्क!’ उसले थुक नआए पनि थुक्यो।

उसले भर्खरै आफ्नो नामलाई थुकेको हो कि नाम राख्नेलाई हो थुकेको हो कुन्नि पत्तै पाएन। गिलासमा राखेको खोया बिर्के सुरुप्प पार्‍यो र गिलास टेबुलमा राखेर प्लेटबाट एक टुक्रा भुटुवा निकालेर मुखमा हाल्दै भन्यो,‘ए बुढी, साँधेको गुन्द्रुक र भट्ट पनि ले न हो, यो खोयाबिर्के त त्यसैसँग मिठो हुन्छ। सेकुवा र काजुपेस्ता त विदेशी रक्सीलाई मात्रै सुहाउँछ।’

गन्जी र कुट्टू लगाएर बडो मुडमा सोफामा बसेर पिउँदै गरेको धूलिरामको अगाडि शिशाको टेबुलमा लोकल रक्सीको बोतल, भुटुवाको प्लेटसँगै र काजुपिस्ताका प्लेटहरू थिए। च्याँसे अनुहार, हातगोडा नि दुब्लै थियो तर पेट कुनै दलाल वा नेताका भन्दा कम थिएनन्। तालुमा रौं पटक्कै थिएन। तीनचार दिनदेखि नकाटेका सेता दारी-जुँगाले फोहोरी देखिएको थियो। हातमा भएको रक्सीको गिलास क्रमश रितिंदै जाँदा उसले सोच्यो,‘ओहो मेरो अतित! यो अवस्थामा आउन कति दुःख गर्‍यो यो ज्यानले?  बाउ-आमालाई छोरो भनेर कहिल्यै छातीमा टाँस्ने फुर्सद भएन। किताप-कापी नभएर राम्ररी पढ्न पनि पाइएन। थुक्क! भाँडा माँझियो, चाकरी गरियो, दलाली गरियो र केके गरिएन र?’

सोच्दै फेरि गिलासबाट उठाएर एक घुट्को पियो र मनमनै सोच्ने क्रमलाई निरन्तरता दियो, ‘कस्सो जग्गाको खेलो अर्न पाइयो र अहिले जुन लेबल भने पनि खान सकिन्च तर स्वादचाहिं खोया बिर्केकै मनपर्छ। यत्रो पैसा कमाइयो, घर घडेरी जोडियो। मटर किनियो। छोराछोरी पढाइयो। यत्रो धनसम्पत्ति जोडियो, अहिले के छैन मसँग र? तैपनि यो गुन्द्रुक र भट्ट भनेपछि यति त मन पर्दैन नि! मासुभन्दा नि मन पर्च! क्यार्नी? सानैदेखि जिब्रोमा स्वाद बस्यो, लागेको बानी नजाने रहेछ, अई बुढी! यत्रो धनसम्पत्ति कमा’को छु र पनि मुन्छेले मुन्छे गन्दैनन् बा! कसैले मेरो वास्तै गर्दैनन्। मैले कति दुःख गरें भन्ने कुरा मुन्छेले किन बुज्दैनन्?’ भन्दै ऊ सोफाबाट उठ्यो।

उसलाई के गरौं, के गरौं भयो र खल्तीबाट मोवाइल निकालेर फेसबुक खोल्यो र स्टाटस लेख्यो, ‘म यस्सै यस्तो भएको हुम् र?’

प्रकाशित: ३ चैत्र २०७८ ०५:२६ बिहीबार

अक्षर