लता के सी
मेसेन्जरमा ट्वाङ्ग आवाज आयो। हेरेँ , निम्तोपत्र रहेछ। भोलिपल्ट समयमा नै पुगेँ। मञ्च हेर्दा निकै सजिसजाऊ थियो। एकछेउमा एउटा कुर्सी ओगटेँ। समयले नेटो काटिसकेको थियो तर कार्यक्रम सुरू भएको थिएन। मैले आयोजकका साथीलाई कारण सोधेँ। जवाफ पाएँ ,' प्रमुख अतिथि आउँदै हुनुहुन्छ। आएपछि सुरू गर्छौँ।' लगभग १ घण्टा बितेपछि तामझामका साथ सजिसजाऊ भएर उनी आइपुगिन् । वरिपरि २/४ जनाले घेरे।
उदघोषकले गर्व गर्दै खोक्न सुरू गरे। मेरो नजर ब्यानरमा पर्यो। लेखिएको थियो, ११२औँ नारी दिवस कार्यक्रम परिचर्चा -'विभेदको अन्त्य' आयोजक- महिला हकहित समिति वक्ताहरूले आफुले जानेका बुझेका चिन्तन क्रमश पेश गरे। लिङ्गीय समानता , वर्गीय समानता ,बलात्कार ,छाउपडी ,शिक्षा र गरिबी विशेषमा सबैले चर्किएर चिच्याए।
लगभग २ घण्टा पछि उदघोषक कराए ,'हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ। अबको पालो प्रमुख अतिथिको भनेर कार्यक्रमको रौनक थप्न भ्याए। उनी मञ्चमा आइन्। पहिरन मिलाइन्। आँखाको गगल्स टाउकोमाथि पुर्याइन्। अलि परसम्म आखाँ पुर्याइन्। सबै दर्शक ठूलै आशले मन्तव्य पर्खिरहेका थिए । उनले औलाले संकेत गर्दै भनिन् ,'ऊ त्यो झुत्रे ,बौलाही महिला कसरी प्रवेश गरिन्? कार्यक्रममा सुरक्षा व्यबस्था छैन?' वाणी झर्नासाथ सुरक्षा गार्ड खडा भयो। उसलाई लचार पछार गरेर धपाउँदै थियो। ती महिला भने बारम्बार कराउँदै थिइन् , 'एक सातादेखि भोकै छु हजुर!' आर्तनाद सुनेपछि म उठेर हेर्न गएँ। बौलाही महिलालाई देखेपछि अनायस मुखबाट फुस्कियो , 'बुहारी महिला अधिकारकर्मी,सासू बेसहारा!'
प्रकाशित: २४ फाल्गुन २०७८ ०५:३९ मंगलबार