कला

हतौडा र छिनाको चोट नपरी पत्थर भगवान् हुँदैन

गजल

बीरेन मालाकार ‘सहयात्री’

 

कोही पनि मान्छे दिनरात संघर्ष नगरी महान हुँदैन,

हतौडा र छिनाको चोट नपरी पत्थर भगवान् हुँदैन।

गरीबी हटाउन कृषिमा वैज्ञानिक पद्धति अपनाउनु,

ठुलाठुला भाषणले मात्र गरीब र धनी समान हुँदैन।

स्वतन्त्र वातावरणमा श्रमिकलाई काम दिएर हेर्नुस्,

विदेशमा अठार घण्टा काम गर्दा पनि थकान हुँदैन।

पचास प्रतिशतभन्दा बढी हाम्रो अर्थतन्त्र धान्छ रेमिटेन्सले,

उही परिश्रमी श्रमिकहरूको यहाँ कुनै बखान हुँदैन।

छिमेकी राष्ट्रहरूले आफ्ना स्वार्थका सहयोग गर्छन्,

फाइदाका लागि गरेको कुनै सहयोग उपदान हुँदैन।

प्रकाशित: २२ फाल्गुन २०७८ ०७:२७ आइतबार

अक्षर