कला

खबरदारी

लघुकथा

छायादत्त न्यौपाने

चेतनसिंहका छोराले सोधे,‘किन बाबा हाम्रो आकाश सधैं अँध्यारो?’

भर्खर एघारमा पढ्दै गरेका छोराको यस्तो प्रश्न सुनेर चेतनले सास ताने र छोराको अनुहार हेरेर भने, ‘अदूरदर्शी सरकारी बेथिति मच्चिरह्यो! विपक्षीले सडक तताइरहे! जनजीवन सधैं तानातानमा। खुम्चिएको पुरानो चेतना नउघारिएको समाजका स्वार्थी फेर समातेर  हिँड्ने योजनाविहीन कुहिराको कागझै उड्नुमै पुुरुषार्थ देख्ने शासकले उज्यालो मन  पराउँदैनन् नि!’

‘त्यसो भए हामीले जीवन अँध्यारोमै बिताउने हो?’ छोराले अर्को जिसासा राखे।

चेतन पनि चुप बस्न सकेनन्।

–खुलेन हाम्रो आकाश! तिर्मिराइरहे जूनतारा! बादल छेकिरह्यो घाम। कुन बाटो हिंडे ठाउँमा पुुगिन्छ? जनता अलमलिरहे। साँझका यात्रीलाई बस बिसौनीमा होटेल व्यावसायीझैं राजनीतिक पार्टीहरूको खिचातानीले सताइरहको छ जनता! वर्षौं बिते जनताले पनि सहारा खोजिरहे आफै हिंड्ने आँटै देखाएनन्।

बाको गम्भीर जवाफले छोरा नवीन सोचमग्न भए। उनले थपे, ‘घरपरिवारमै किचलो देखेपछि छिमेकीले फाइदा लिन अनेक दाउपेच रच्छ। अहिले त्यही त भइरहेको छ। हाम्रो स्वाभिमान झुकाएर दूरगामी लाभ लिइहाल्छ नि! आपसी भाँडभैलो देखेपछि धमिलोमा माछा कसले मार्दैन?

छोराको तर्क सुनेर चेतन फेरि गम्भीर बने। उनले भने,‘हो, छोरा भित्र जे भए पनि अरूले देख्दा एक भएर घरनीति र व्यवहारनीति बलियो बनाई कूटनीतिक क्षमता देखाउन सक्नुपर्ने! विवेक नभएका यी राजनीतिक बेइमानहरूकै कारण देश छिन्नभिन्न भो। जनताको आवश्यक खबरदारी पनि देखिएन।’

त्यसो भए हामी केही गर्न सक्तैनौं बाबा? नवीनले अर्को कुरा थपे।

–हो नवीन, जनता सचेत, सक्रिय र इमानदार भई पद–पैसाको पछि लागेका देशघाती नेतालाई देश र जनताको पक्षमा लाग्न बाध्य पार्नुको विकल्प छैन। यिनलाई सामाजिक बहिष्कार गरेर नयाँ सुझबुझ र इमानका साथ काम गर्ने जुझारु पात्रको चौपट्टै खाँचो छ!

हो,बाबा यस्तै बेथिति देखेर त मेरा साथीहरू विदेसिनेबाहेक अरू केही सोच्दै सोच्दैनन्! मैले पनि खै कतै उज्यालो देख्दिनँ!

प्रकाशित: १९ फाल्गुन २०७८ ०७:०४ बिहीबार

अक्षर