कला

कमिला

बालकविता

रमेशचन्द्र घिमिरे

माथिदेखि तल, तलदेखि माथि

हिंडेका छन् हेर भई साथीसाथी

सोधें प्रश्न तिमीलाई–

के हुन् भन रमिला?

केको कानेखुसी हो केको सट्यासुटु हो?

टाउको– टाउको जोडेर केको लुटुपुटु हो?

एउटा लाइन भाँचेर अर्को लाइन फर्किने

साथीसँग के भन्न मुन्टो जोत्दै अड्किने

छैन यिनको बानी, नराम्रो र नजाती

मिलीजुली हिंड्दछन् भई साथीसाथी

उत्तर छैन अप्ठ्यारो–

कुरा बुझ्यौ जमिला?

आफू साना भए नि ठुलै यिनको दल छ

त्यही भएर यिनको हात्ती बोक्ने बल छ

जसको हुन्न लफडा झमेला र झगडा

तिनै हुन्छन् बलिया तिनै हुन्छन् तगडा

जता पनि देखिने यिनकै हुल ताँती

कता जाने होलान् यी भई साथीसाथी

चिन्नुपथ्र्यो सजिलै–

चिनिनौ र ममिला?

देख्दा फुच्चे भए नि जुट्छन् ठूलै काममा

केही परी आएमा हुन्छन् एकै ठाममा

छैन पेट अमिलो, छैन मन धमिलो

एकता र मित्रतामा रम्ने जात हो कमिलो

तनको सानो भए नि मनको ठूलो छाती

हिंड्छन्, हिंड्छन्, हिंडिरहन्छन् भई साथीसाथी

बल्ल बोलिन् रमिला

जमिला र ममिला  

उत्तर थाहा पाइयो

–यिनै हुन् नि कमिला!

प्रकाशित: १९ फाल्गुन २०७८ ०४:१३ बिहीबार

अक्षर