कला

हराएको माया

कथा

ध्रुवकृष्ण ताम्राकार

‘म हजुरको भाइ गजानन्द! मलाई चिन्नुभएन हजुरले?’ आफूलाई चिनाउने प्रयास गर्दै जोडले कराइरहेको हुन्छ गजानन्द। ख्याउटे अनुहार, दाह्री जुँगा फुलेको अग्लो मान्छे आफ्नो अगाडि नाता जोडी कराइरहेकोे कानले थाप्ने प्रयास गर्दै हुन्छ, करीब सत्तरी वर्ष नाघेको दयानन्द।

‘कुन्नि को हो क्यारे।’ भन्दै आफ्नो कालो फ्रेममा लगाएको बाक्लो लेन्सको चश्माले ख्यासख्यासे खोकी खोक्दै चिनिन्छ कि भनेर ट्वालट्वाल्ती घुरेर उसलाई हेरिरहन्छ। त्यो ख्याउटे गजानन्द भन्दै कराइरहेको मान्छेसँग एउटा केटो पनि उभिरहेको थियो। सायद केटो उसको छोरा होला।

‘हजुरको भाइ रे उहाँ। सुन्नु भएन हजुरले?’ सँगैको त्यो केटो पनि बाउको परिचय खुलाउन साथ दिंदै भन्दै  थियो। यत्तिकैमा सँगैको कोठाबाट एउटी अधबैसे बूढी निस्किन्। आगन्तुकहरूलाई हेरिन्। उनले पनि उनीहरूलाई चिन्न सकेकी थिइनन् तर जे भए पनि ती आगन्तुकहरूलाई यहीं चोटामा बस्नुस् भनी दुइटा कुर्सी सारिदिइन्। त्यही कुर्सीमा गजानन्दको बाबुछोरा बसे।

एकछिन लामो स्वास फेरे। ती अधबैंसे आइमाईले भित्रबाट पानी ल्याइदिइन्। भरिएको करुवा बाउछोराले रित्याउँदै उनीहरू आफ्नो प्यास बुझाउँछन्। एकछिन त्यहाँ सन्नाटा छाउँछ। एकाएक आफ्नो अगाडि कोही आई भाइको नाता गाँसेको देखेर दयानन्द अचम्मित थियो। करीब पचास वर्षअघि गजानन्द नाम गरेको उसको भाइ अचानक बेपत्ता भएको थियो। उनीहरू सबैले माया मारिसकेको थियो। आज अचानक कोही आएर म तपाईको भाइ  गजानन्द  भन्दा दयानन्दलाई अचम्म लाग्यो तर जसले म गजानन्द हुँ भन्दै छ। त्यो वास्तविक गजानन्द हो वा होइन दयानन्दलाई थाहा हुने कुरा भएन। पचासौं वर्ष अगाडि हराएको भाइलाई अनुहार मात्रै हेरेर चिन्न सकिने कुरा पनि भएन।

केही पुराना कुरा सम्झेर दयानन्दले भित्र आफ्नो कोठामा पस्यो। केही समयपछि एउटा पुरानो किताब बोकी ऊ बाहिर निस्कियो। अनि एउटा कुनामा टुप्लुक्क बस्दै उ बेला आफ्नो घरमा पितापुर्खाले बिहान र बेलुका सबै एकसाथ बसेर पढ्ने श्लोक पढ्न थाल्यो। केही क्षणमै गजानन्द पनि नजिकै आए। किताबमा हेरे अनि नहेरीकनै श्लोकहरू लयबद्ध गाउन थाल्यो। गाउँदागाउँदै गजानन्दले दाइतिर फर्केर भन्यो, ‘श्लोक पढ्दा भगवान्मा चित्त लगाएर पढ्नुपर्छ भन्नुहुन्थ्यो नि दाइ, होइन?’

श्लोकको गायन र आफूले सानामा भाइहरूलाई भन्ने गरेको वाक्य सुनेर एकाएक दयानन्दको आँखा रसाएर आयो।

‘मेरो भा।’ दयानन्द बोल्यो।

‘दाइ...।’ गजानन्दको गला अवरुद्ध भयो। दुवै एक अर्काको अँगालोमा बाँधिए। लामो समयपछिको दाजुभाइको यो मिलन हेर्नलायकको थियो। राम र भरतको मिलाप जस्तै लाग्थ्यो। गजानन्दको छोराले पनि ठूलोबा, ठूलीआमालाई ढोग्यो।

‘ए बूढी, हेर त ऊ मेरै भाइ गजानन्द रहेछ।’ दयानन्दले आफ्नी बूढीलाई हेर्दै खुशी व्यक्त गर्‍यो। दुवै दाजुभाइका गाला चाउरिएका थिए। तर मुहारमा खुशीका रेखा दौडिरहेको प्रष्ट देखिन्थ्यो।

‘यत्तिका वर्षसम्म कहाँ थिइस्? हामीले तँलाई कत्ति खोज्यौं।’

‘दाइ, म त यताबाट भारत पुगेछु। तर घरको, तपाईहरूको याद आइरहन्थ्यो।’

‘हामीलाई पनि तिम्रो याद आइरहन्थ्यो बाबु।’  

‘अनि माहिला दाइ र नानु भाउजू कता हुनुहुन्छ दाइ?’

‘बजानन्द र नानु बितेको पनि बीस वर्ष भैसक्यो। एक वर्षकै फरकमा नै दुवै बिते बाबु।’ दयानन्दको आँखा भरिएर आयो। यत्तिकैमा भाउजूले चिया र पाउरोटी ल्याएर सानो टेबुलमा राखिन्।  

‘यिनी तिम्रो ठूली भाउजू।’ परिचय दिलाउने किसिमले बोल्यो दयानन्द। 

‘अनि अरू कोको छन् दाइ घरमा?’

‘एउटा छोरा छ, बुहारीको साथमा उतै विदेशमा छन्। बेलाबखत आउँछ।’ चियाको चुस्की लिँदै दयानन्द भन्दै थियो।

‘तँलाई पनि हामीले कहाँ मात्र खोजेनौ? पत्ता लाउनै सकेनौ। पछि दुईचार जनाले रेल चढेर गैसके भनेको हुनाले तिमी भारत पस्यौ भन्ने अनुमान गरें। यत्तिका वर्ष तिमी छौ, छैनौ केही थाहा थिएन, माया नै मारिसकेका थियौं। तर दैवले जीवनको उत्तरार्द्धमामा भए पनि भेट गराइदियो। धन्य हो दैव।’

अलि लामै सुस्केरा हाल्दै दयानन्द भन्दै थियो। ‘अहिले गफ गरौंला नि। तिमीहरू टाढाबाट आएका। पहिले आराम गर्नू। तिमीहरूको हालखबर पनि सोध्न पाएको छैन। केही बेर आराम नि गर्नू।’ दयानन्दले माथि कोठामा लग्यो। केहीबेरमै यता छोरो निदाइसकेको रहेछ। गजानन्द पनि सुत्न खोज्छन् तर गजानन्दलाई निन्द्रा लागेन। सायद लामो समयपछि आफ्नो जन्मथलो आइपुगेकाले होला उनको मनमा अनेक कुरा खेलिरहेको छ। उनको मन अतीतको स्मृतिमा घरिघरि पिङ खेलिरहन्छ।

वृजानन्दका तीन छोरा थिए, छोरी थिएनन्। जेठो दयानन्द, माहिलो व्रजानन्द अनि कान्छो गजानन्द थिए। एकदुई वर्षको फरकका यी तीन दाजुभाइ सानैदेखि नै संस्कारी र आज्ञाकारी पनि थिए। किनकि वृजानन्द धर्म, संस्कृतिका प्रेमी थिए। उनीहरू आफ्ना पितासँग साँझबिहान प्राचीन श्लोक पढ्ने गर्दथे।

आमाचाहिं सानैमा उनीहरूलाई टुहुरा बनाएर भगवान्मा लिन भैसकेकी थिइन्। शहरभन्दा अलि पर पिपले गाउँमा वृजानन्दको व्यक्तित्व  सात गाउँमा प्रसिद्ध थियो। करिब दस पाथी विउ जाने खेत थियो। केही पाखोबारी र भैसी थियो। समय जसोतसो चलिरहेकै थियो। बेलाबेलामा माहिलो र कान्छो गाई लिएर सिराने चौरतिर चराउन गइरहेका हुन्थे। समयसँगै यिनीहरू किशोरावस्थामा प्रवेश गर्दै थिए। गोठालो आएका केटीहरूप्रति नजिक हुन खोज्नु सायद किशोरावस्थाकै प्रभाव होला। गजानन्द र व्रजानन्द पनि गोठाल्नीहरूसँग जिस्किने गर्छन्। त्यसमध्ये नानू भन्ने केटीलाई कान्छो असाध्यै मन पराउँथ्यो। नानूको भने सबैसँग उस्तै बोल्ने जिस्किने बानी थियो।

कान्छो गजानन्दलाई आफूसित मात्र बोलून् अरू कसैसित नबोलून् भन्ने मनको चाह थियो। किनकि ऊ नानूलाई प्रेम गर्न चाहन्थ्यो तर प्रकट गर्न सकिरहेको थिएन। हरदिन कान्छो पागलसरी नानूको कल्पनामा डुबिरहन्थ्यो। किन्तु कमजोर मनस्थितिले उनको अगाडि बोल्नै नसक्ने रहेछ।

एकदिन गाई चराउने क्रममा झाडीको पछाडि खासखुस आवाजले कान्छाको कान तानिएर लुकीलुकी चियाउँदा माहिलो ब्रजानन्द र नानू अँगालो मारी ख्यालठट्टा गरिरहेको देख्छन्। कान्छो छानाबाट खसेझैं हुन्छ। आँखाबाट आँसु झार्दै आफ्नो एकोहोरोपनको मायालाई धिकार्दै मनै मारेर घर फर्किन्छ।

समय बित्दै जाने क्रममा माहिलो र नानूको प्रेम गाउँभरिको हल्लाले बाउ वृजानन्दको कानसम्म गुञ्जियो।

पहिला त रुष्ट भए तर समयसँग पौठेजोरी गर्ने भावनाका वृजानन्द आफ्नो छोराको प्रेमको खिलाफ गएन। तर घरमा जेठो र कान्छो पनि भएकाले उनीहरूका लागि पनि कुरा चलाएर तिनै जनाको एकैसाथ लगनगाँठो कस्ने उनको सोच बन्यो। त्यो रात कान्छालाई निन्द्रै लागेन।

‘दाजु माहिलाको पनि के नै दोष थियो र! उनले मन पराइरहेको भनेर थाहा पनि त थिएन। नानू माहिलाको प्रेमको इजलासमा मस्तीमै थिइन्। उनको पनि दोष केही थिएन। आफूले नै प्रेम गर्दागर्दै उनले धोका दिएकी पनि त होइन नि!’ कान्छा मनमनै आफैलाई सान्त्वना दिँदै थियो। तर पनि उनको मनबाट नानूप्रतिको माया टाढिन सकेन। बाउले कुरा चलाएर तिनै जनाको लगनगाँठो फुकाउने दिन पनि नजिकिदै थियो। तर, अचानक बिहे हुने दुई दिनअघि कान्छो बेपत्ता भयो। सबैले खोज्नसम्म खोजे। के कारणले कान्छो बेपत्ता भएको भनी कसैले अनुमानै गर्न सकेनन्। उनको एकोहोरो प्रेमको कसैले छनक पनि पाएका थिएनन्। ऊ सरासर भैरहवा हुँदै सुगौली नाकाबाट सिधै बनारस पुग्यो।

वनारस उनको लागि नौलो शहर। के गर्ने? के खाने? कहाँ बस्ने? कुनै टुंगो थिएन। साँघुरा नागबेली गल्ली। त्यसमाथि साँढेका हुल। खुला ठाउँमा बसेका उनलाई उकुसमुकुसको अनुभूति हुन थाल्थ्यो प्रारम्भमा। वनारस हिन्दूहरूको पवित्र तीर्थस्थल। त्यहाँ नेपालीहरूको पनि बाक्लो बसोबास छ। केही समय त त्यहाँ रहेको नेपाली धर्मशालामा बस्यो ऊ। तर केही हप्तापछि त्यहाँ रहेका नेपालीहरूकै सहयोगमा एउटा सानो चिया पसल खोली आफ्नो जीवन निर्वाहको आधार खोज्यो। उनको पसल वनारसको गल्लीमा छ तर चल्छ राम्रो।

समय बित्दै गयो। यही क्रममा उनको त्यहींकै महिलासँगै हिमचिम बढ्यो। कालान्तरमा उनैसित बिहे गर्‍यो उसले। सुरुसुरुमा त आफू जन्मेको घरको अनि बुबा र दाइहरूको यादले नसताएको होइन। तर, नानूप्रतिको प्रेमभावका कारण फेरि नेपाल जानै मन लागेन उसलाई। जानै परेपछि केही कमाएर फर्कने विचारमा थियो ऊ।

तर सोचे जस्तो कहाँ हुन्छ जिन्दगी! आफूले भने जस्ती श्रीमती पाएन उसले। उनको बूढीको स्वभावले आफूले गरेको चिया पसलको व्यापार पनि त्यती फस्टाउन सकेको थिएन। पहिले निकै राम्रो चलेको पसलको गतिमा सुस्तता आएको थियो। विवाहपछि परिवारको संख्या पनि बढ्दै गैरह्यो। खानलाई मात्र ठिक हुन्थ्यो। बचाउन भने सकेको थिएन। आजभोलि त उनको परिवारमा तीन छोरी र दुई छोराको जम्बो टिम भैसकेका थियो।

उमेरले नेटो काटेसँगै हालातको कटाक्ष सँगसँगै बच्चाहरू पनि लाठे हुन थाले तर कान्छो गयानन्दको जीवनको घैंटोमा कहिले पनि घाम लागेन। उनको वर्ष पनि तीन बिस पाँच भैसक्यो। नेपाल छाडेर आएको पनि पैतालिस वर्ष भैसक्यो। बुबा त ऊ आएको दुई वर्षमै बितेको थियो। त्यसयता आफ्नो जन्मथलोको हालखबरबाट बेखबर थियो ऊ।

गजानन्दलाई वनारसको जीवनको रस वनारसमै बस्न थाल्यो। नेपालको स्मृति अब उनको मनबाट धमिलिँदै गयो। उनको त्यहाँ बोलाउने नाम पनि परिवर्तन भएर गजन्नाथ बन्यो। एनका छोराछोरीहरू पनि हिन्दीमै कुरा गर्ने भएका छन्। नेपाली बोल्न तिनीहरूलाई आउँदैन। उमेर त अलि कलिलै नै थियो तर सबभन्दा जेठी छोरीको त बल्ल बिहे भैसेकको थियो भने अर्को दुई छोरीको उमेर तीस कट्न थाल्दा पनि बिहे गर्न सकेको रहेनछ। त्यहाँको दाइजो प्रथाका कारण  गजानन्दले आफ्ना दुई छोरीको विवाह गराउन सकिरहेको थिएन। उनले ऋणै लिएर भए पनि आखिर माहिली छोरीको बिहे गरायो। अर्को छोरीको गर्ने तरखरमा थियो। ऋणै चुक्ता नहुँदा अलमल परिरहेका थिए।

आफूले सकीनसकी कमाएर जम्मा गरी राखेको दुईचार कठा जमिन बाध्यताले बेच्नै पर्‍यो। ऋण तिरेर बाँकी रहेको पैसाले नपुग पैसामा अर्को ऋण जमानीमा थापेर बल्ल अघिल्लो महिनामा मात्र कान्छी छोरीलाई पनि बिदा दिई अन्भ्याई पठाइएको थियो। छोरीहरूको कर्म चलिसकेपछि उसले ठूलो राहतको स्वास फेरेको थियो। तर, जमानीले लिएको पैसा अब कसरी तिर्ने भनेर मनमा चिन्ताले सताउन थाल्यो उसलाई। आफूले चलाइराखेको पसल बेच्नुपरेमा आफ्नो परिवार सिधै सडकमा आउँछ भन्ने तर्कनाले गजानन्द छटपटउन थाल्यो। अब त पहिला जस्तो काम पनि गर्न नसक्ने अवस्था हुन थाल्यो। श्रीमतीसँग सल्लाहको समेत आशा छैन उसलाई। खालि जहाँबाट भए पनि कमाउनुपर्छ भन्ने रटानबाहेक केही पनि छैन उनीसँग। अब के गर्ने होला?’ मनमा कुरा खेलेकै छ। ‘सधै बिरादरीके आगे इज्जत बचाना है..।’

घरकी जहानले भन्ने कुरा यही थियो। खोक्रो सामाजिक आडम्बरको सिकार भएको महसुस भयो गजानन्दलाई। आज उसको सपनाको आकाशमा कालो बादल मडारिरहेको थियो। ऊ निरीह भई हेरिरहेको थियो। हेर्नुबाहेकको विकल्प थिएन ऊसँग। उसलाई लाग्छ, अचानक आफ्नो जीवनको समुद्रमा ठूलो आँधी आयो। तर त्यो आँधीबाट पार लगाउने आशाको किनारा भेटाउन मुस्किल भैरहेको थियो गजानन्दलाई। एउटा सनकको भरमा बेग्लै दुनियाँमा घरजम गर्न त आइयो तर अमेल परिवेशको भुमरीमा फस्दै गएको अनुभूत हुँदै गयो गजानन्दलाई।

‘जिन्दगीमा मैले कहिल्यै सुख  पाइनँ। न सानामा पाएँ न त जीवनको यो उत्तराद्र्धमा नै सुखको सास फेर्न पाएँ।’ गजानन्दको मनोवाद चल्यो। जिन्दगीमा पाएको हण्डरले उसलाई फेरि आफ्नो जन्मथलो, त्यहाँको परिवेश, आफन्तसँग बिताएका पल सम्झन थाल्यो आज उसले।

उसले सम्झियो, ‘पहाड कति रमाइलो! केही परे दाजुभाइ थिए। दुखसुख बाँड्न सकिन्थ्यो। दःुख बाँडे घट्छ भन्छन्। यता पीडाका दुई शब्द सुनाउने पनि कोही छैनन्।’

आफ्नो स्मृतिलाई पुनः जोड्छ ऊ, ‘एउटा सनकमा गरेको सानो गल्तीले सबैबाट टाढा भएर बस्नुपर्‍यो। के गर्नू? मेरै कर्म यस्तो....!’

गजानन्दको छटपटी बढ्दै थियो। उसको श्रीमतीले सबै कुरा देखिरहेकी थिइन्। एक साँझ सुत्ने तरखर हुँदै थियो। उसको श्रीमतीले हिन्दीमा भनिन्, ‘आप तो नेपालके हैं। उधर आप लोगोंका जायदात तो होगा। आप नेपाल जाओ। अपने कुटुम्बसे भेट भी किजिए और अपने हिस्सेमे कुछ मिला तो लेकर आइय। उस से हमारा समस्याका हाल सायद निकल आए।’ श्रीमतीको कुरा उसलाई मनासिव नै लाग्यो। निकै गलिसकेको गजानन्दको मन पनि नेपाल जान तयार भयो।

‘हुन्छ, म केही दिनपछि नै जेठालाई लिएर नेपाल जान्छु। तिमी यता राम्रोसँग बस।’

‘तपाई मेरो चिन्ता नगर्नू। मै अपना और मुन्नाका खयाल राख्न सक्छु।’

‘लल सुत। ढिलो भयो। भोलि बिहान सबेरै पसल खोल्नु छ।’ गजानन्द बाल्यो।

केही दिनपछि गजानन्द आफ्नो ठूलो छोरासँग नेपाल आयो। आफन्तजनसँग भेट्ने, सके अंशबापतको केही रकम पनि लिएर जाने मीठो सपना बुन्दै ऊ यता आयो। करीब चौध घण्टाको बसको यात्राबाट ऊ आफ्नो छोराको साथमा काठमाडौको कलङ्कीमा ओर्लियो।

गजानन्दलाई अनौठा पनि लागिरहेको थियो। करीब पैतालिस वर्षपछि ऊ आफ्नो भूमिमा टेक्दै थियो। त्यो बेला नेपाल छाड्दा वनारस पुग्न थुप्रै दिन लागेको थियो। अहिले यातायातको तीव्र विकासले गर्दा यति चाँडो पुग्ने रहेछ पत्तै लागेन। पहिला कम आवादी र कम घरहरू भएको काठमाडौं अहिले घरैघरको जंगलमा परिणत भैसकेको थियो। त्यही कारणले होला आज ऊ आफै बेग्लै दुनियाँ पुगेको जस्तो लाग्यो।

उहिलेको बाटो सम्झदै रत्नपार्कबाट पूर्व लाग्ने बस स्टप बिस्तारै सोध्दै पत्ता लगाएर उनीहरू फेरि पूर्वतिर जाने बसमा बसी सैलुङ गाउँको बसस्टप आउनेबित्तिकै झर्छन्। यतिबेला दिउँसोको तीन बजिसकेको थियो। अब भने हिंड्नुपर्ने बाटो आयो। अलि थकाइ महसुस भएकाले बाटो नजिकै रहेको एउटा होटेलमा बाउछोरा पसी चिया र खाजा खान थाले।

‘ए भाइ पिप्ले गाउँको नेवार बस्तीमा जाने बाटो माथिल्लो डाँडाबाट होइन र?’ खाजा खाँदै गजानन्द आफ्नो द्विविधा हटाउने हेतुले साहुजीलाई सोध्यो।

‘हो,हजुर तर अहिले बाटो बिग्रेकाले गाडी चल्दैन। हिँडेर नै जानुपर्छ।’

‘अनि कति घण्टा हिंड्नुपर्ला त?’

‘त्यस्तै फटाफट हिँडे पाँच घण्टा नत्र छ घण्टा लाग्छ होला ।’ आफ्नो जानकारी शेयर गर्‍यो साहुजीले।

‘गाउँ पुग्दा पूरै अँध्यारो हुन्छ होला। फेरि हजुरहरू नयाँ जस्तो लाग्छ। बरु आज यतै बास बसेर भोलि झिसमिसेमै बाटो तताउँदा बेस होला जस्तो लाग्छ।’ साहुजी उनीहरूलाई सुझाउँदै थियो।

‘कुरा त सही नै हो साहुजी।’ आफ्नो छोराको अनुहार पुलुक्क हेर्छ गजानन्द। बदलामा छोराले पनि त्यहीं बास बस्ने मौन स्वीकृति दियो। दुई बाबुछोरा त्यहीँ बसे त्यो रात।

भोलिपल्ट बिहानको झिसमिसेमै गुन्टा कसेर आफ्नो पिप्ले गाउँका लागि प्रस्थान गरे। दुवै चुपचाप हिँड्दा पत्यार लाग्ने बाटेमा अत्यास लाग्ने देखेर गजानन्द सम्झे अनुसारको आफू जन्मेको गाउँ, जन्मथलोको बारे बयान गर्दै थियो। छोरा पनि बाबुको कुरा मक्ख परेर सुनिरहेको थियो।  

‘हैन पिताजी कस्तो टाढा रहेछ हजुरको घर। हाम्रो जिजुबाजेहरूले यस्तै डाँडाकाँडा भएको बस्तीमा नै आफ्नो जीवनको थलो किन बनाएको होलान्? आफूलाई हिँड्नै गारो ।’ गुनासो मिसिएको स्वरमा बोल्यो राहुल।

‘तिम्रो जस्तो भीडले भरिएको बस्तीभन्दा यो गाउँ नै सुन्दर छ, बाबु। यो नेपाल सुन्दर, शान्त र विशाल छ।’

गाउँले भरिएको यो नेपालको ठाउँ अति नै राम्रो र स्वच्छ छ छोरा।’ गजानन्द छोरालाई भन्दै हिंडिरहेको थियो। आखिर छोरासँग दाँजिएर बूढो गजानन्द हिंँडिरहनु पर्दा अलिअलि स्वाँस्वाँ बढेको त थियो तर हिम्मत गर्दै ऊ हिंड्दै थियोे। एक मनले त यसरी धेरै वर्षको अन्तरालपछि आफ्नो आफन्त भेट्न सरम त लागिरहेको थियो। कतै कुन मुखले भेट्ने। पाखुरा बलियो छँदा अत्तोपत्तो नहुने गरी जाने। अब हालतले कमजोर बनाउँदा पुर्खाको सम्पत्तिमा आफ्नो हक जताउन आयो भनेर दाइहरूको मनमा पर्दैन होला त?  भन्दै मनमा कुरा खेलाउँदै पैताला सारिरहेको थियो। तर के गर्नु जीवनको यो अन्तिम घडीमा अन्तिम विकल्प त्यही थियो गजानन्दका लागि। निखुरे डाँडाको घुम्ती मोड नाघिसकेपछि पारिपट्टि डाँडा देख्नेबित्तिकै, ‘ल ऊ त्यो डाँडाको कापमा रहेको गाउँ हो हाम्रो पूर्खाको। म जन्मेको पनि त्यहीं हो।’

बुबाको उज्यालो मुहार देखेर छोराले पनि दङ्ग पर्दै प्रतिक्रिया जनायो, ‘ए कति रमाइलो रहेछ हाम्रो ठाउँ। प्रकृतिको सुन्दर वरदान।’

दिनभरि फैलाइरहेको उजेलीको पङ्ख लुकाएर सूर्य पनि बास बस्न गइरहेको थियो। झमक्कै साँझको छातीमा रातले आफ्नो अँध्यारो नशा छर्न लागिरहेको थियो। त्यसैले अलिअलि उज्यालोको साथमा दुवैको पैताला छलाङ मार्दै पिप्ले गाउँको माटोमा पुगे। वज्रले लिपेको पुरानो शैलीको तिन तल्ले घर, फराकिलो आँगन देख्नेबित्तिकै गजानन्दको मनभरि खुशीका फूल फुल्न थाले।

दुई बाउछोरा लामो स्वास फेर्दै भित्र छिरेको यावत घटना स्मरण गर्दै रहेको गजानन्द रातभर सुत्न सकेन। भित्तामा झुन्डिएको घडी हेर्दा रातको तीन बजे पनि कटेको रहेन छ। एकछिन सँगै सुतिरहेको छोरालाई हे¥यो। ऊ मस्त सुतिरहेको थियो। सायद लामो हिंडाइले थाकेकाले होला। बिहानीपख केहीबेर आँखा लागे जस्तो भयो उनलाई। भोलिपल्ट बिहानै जेठो दाजु दयानन्द उनीहरू सुतेको कोठामा आए।

‘निन्द्रा त लाग्यो होला। कुनै अप्ठेरो त भएन नि?’

‘अहँ, कुनै अप्ठेरो भएन दाइ।’

‘ल, माथि कौसीमा बसेर चिया पिऔं।’ दाजुले उर्दी लगायो। दाजु दयानन्दको आत्मीयता देखेर उनीहरू कोठा बाहिर निस्किए।

दयानन्द यतिका वर्षपछि माया मारिसकेको आफ्नो भाइ भेटेकोमा औधी खुशी थियो। हुन पनि तीन दाजुभाइ बीच सानैदेखि मेल थियो, झगडा कहिले हुँदैनथ्यो। एक आपसमा मायाप्रेम थियो। आज अकस्मात् आफ्नो हराएको माया फर्किएकामा उनले भगवान्लाई हेर्दै खुशी प्रकट गरिरहेको थियो।

मंसिर महिनाको मध्य समय। चिसोले आफ्नो वर्चस्व बढाउँदै लगेको थियो। कौसीमा लागेको घाम प्यारो बन्दै थियो। कौसीमा घाम पनि लागेको हुनाले त्यहीं बसेर घाम तापी दयानन्द भाइ गजानन्द र भतिजसँगै चिया खाँदै गफ गर्दै थिए। दयानन्दलाई भाइका बारेमा बुझ्न हतारो थियो। त्यसैले उसले भाइ गजानन्दलाई सोधिहाले, ‘बाबु, तिमी कता, गयौ? कसरी बस्यौ? अहिले कस्तो छ? यी सबै कुरो जान्ने हतारो छ मलाई।’ उसले आफ्नो भाइतिर थुप्रै प्रश्न तेर्स्यायो।

‘यतिका वर्ष भयो। हजुरहरूमा केके बित्यो भनेर सोध्नसम्म सकिन। एकपल्ट आएर भेट्न पनि सकिन। तपाईहरूलाई पो मेरो ठेगाना थाहा थिएन। म त आउन सक्थें नि दाइ। यो निष्ठुरीले आफ्नो हाल कुन मुखले सुनाऊँ दाइ? म पापी भएँ। आफू मात्र बाँच्ने स्वार्थी मान्छेलाई हजुरले कुन दृष्टिले हेनुभयो होला?’ गजानन्दले मनको पीडा पोख्यो।

‘हैन तिमीप्रति हाम्रो कुनै गुनासो छैन बाबु। तर तिमी बेपत्ता हुँदा हामी धेरै रायौं, खोज्यौं। तिमी कतै भेटिएनौं बाबु। बुबा निकै बेचैनीमा हुनुहुन्थ्यो। तिमीबिना हाम्रो बिहे त भयो तर त्यो बेला रौनक नै थिएन। बुबाले पनि तिम्रो बारेमा धेरै पिर लिइरहनुहुन्थ्यो। तिमी बेपत्ता भएको दुई वर्षमै बुबाले यो धरती नै छाडेर जानुभो।’ एक्कासि भक्कानियो दयानन्द।

केवल मौन भएर गजानन्द सुनिरहेका थिए। बीचबीचमा बूढा खोक्दै बह पोख्ने सुरु गर्दै गथ्र्यो, ‘बाबु, केही समयपछि एक दिन प्राकृतिक विपद् आइलाग्यो हामीमाथि। बाढी र पहिरोले माथिल्लो डाँडाको पाखो जति नै पहिरोले बगायो। तल खोलानिरको फाँटको खेत पनि चुर्लुम्मै डुबायो। भएको खेत नदीको कटानमा पर्‍यो। पाखोबारीलाई पैराले निलेपछि हामी भूमिहीन भयौं। हाम्रो आयस्तामा खडेरी नै लाग्यो। अर्को भाइ बजानन्द र नानुबाट सन्तान कोही जन्मेका थिएनन्। मेरो मात्र एउटै सन्तान छोरो थियो। उनलाई काठमाडौ राखेर पढाएका थियौ। पछि ऊ पनि एउटी केटीको लहलहैमा लागेर विदेश भासियो।’

शुरूमा त एकचोटि गाउँ आएका थिए। पछि आउन पनि छाडे। आखिर उनीहरू निर्मोही भैदिए। सन्तानबिनाको यो घर सुनसान हुन थाल्यो। यता बजानन्दलाई अकस्मात् क्यान्सरले छोयो। थाहा पायौं काठमाडौ लगेर नै उपचार गरायौ, तर ऊ बाँचेन। आखिर हामीमाथि अर्को वज्रपात पर्‍यो। त्यत्रो धन खर्च गरेर पनि ज्यान बचाउन सकिएन। नानु पनि छटपटाइरहन्थ्यो। अन्तमा उनले पनि वर्ष दिनको अन्तरालमै आफ्नो देहत्याग गरिन्। शोकमाथि शोक थपियो।’ उसले फेरि थप्यो, ‘तिम्रो सम्झना पनि धेरै आएको थियो तर तिमी कहाँ थियौ हामीलाई केही थाहा थिएन। तर, भगवान्ले आज प्रत्यक्ष भेट गराइदियो। डाँडा माथिको घाम भइसकेको यो उमेरमा भए पनि भेट्न पाउँदा म हर्षविभोर छु।’ दयानन्द विगतको बेलिबिस्तार लगाउँदै थियो।

‘सोच्नै नसक्ने दुःख आइलाग्यो दाइ हामीमाथि तर तपाई विचलित नहुनु। म छु नि।’ ढाडस दिंदै गजानन्दले भन्यो।

गजानन्दले पनि आफ्नो वृतान्त दाजुलाई सुनायो। आफूले घर छोडेको कारण, परदेशमा गरेको संघर्ष आदिको बारेमा बयान गर्‍यो। आफ्नो परिवारका बारेमा पनि दाजुलाई बेलिविस्तार लगायो। आफू आफ्नो जन्मथलो आउनुको कारण भने खुलाउने आँट आएन गजानन्दलाई। दाइभाउजूको अवस्था, खेतबारी नासिएको वृतान्त सुनेपछि आफ्नो बाबु सरहका दाजु दयानन्दसँग गाउँ आउनुको उद्देश्य खोलेन।

समय निरन्तर चलिरहेको थियो। केही दिनको गाउँ बसाइपछि एक साँझ गजानन्दले दाजु दयानन्दलाई भन्यो, ‘दाजु, अब हामी जानुपर्छ। भोलि बिहान सबेरै हामी जान्छौं होला।’

‘बल्लबल्ल आएको मान्छे किन यति चाँडै जान्छु भन्छस् बाबै। बल्ल त केही खुशी मिलेको छ। मन हलुको भएको छ। केही दिन बसे हुन्न?’ दाजु बोल्यो।

‘उता तपाईकी बुहारी पिर गरेर बस्ली। आएको पनि निकै दिन भयो दाइ। बरु केही समयपछि तपाईको बुहारीलाई लिएर फेरि भेट्न आउँला नि दाइ।’ गजानन्दले दाजुलाई सम्झाउँदै भन्यो।  

केहीबेरको सन्नाटापछि दयानन्दले आफ्नी श्रीमतीलाई अराउँदै भन्यो,‘ए बूढी, सन्दुकबाट त्यो रुमालको पोको झिकेर ल्याऊ त।’

एकैछिनमा श्रीमतीले सन्दुकबाट रुमालको पोको दयानन्दको हातमा थमाइन्। आफ्नो हातको पोका भाइतिर अघि सार्दै उसले भन्यो, ‘बाबु, अंशको नाममा तिमीले केही पनि पाएनौ। हामीले तिम्रा लागि केही गर्न सकेनौ। केही दिन पनि सकेनौं। यो तिम्रो भाग। लिएर जाऊ, काम लाग्छ।’

यत्तिकैमा छोराले बाबु गजानन्दलाई नलिन इसारा गर्दै भन्छ, ‘ठूलो बुबा, यो तपाईहरूले राख्नुस्। उता हामीलाई पुग्दो छ। हामी यस्तो केही पाउने अपेक्षा लिएर आएका होइनौं। तपाईहरूलाई भेट्न र आफ्नो पुर्खाको थातथलो हेर्न मात्र आएका हौं। होइन र बा?’

छोराले आफ्नो पीडा मनैभित्र लुकाएर बोलेको देखेर गजानन्द हेरेको हेर्‍यै भयो। छोरातिर एकपल्ट पुलुक्क हेर्‍यो। छोराको मुहार धपक्क बलेको देख्यो उसले। बलेको उज्यालो छोराको मुहारले ‘बा, पिर नगर, म छु नि’ भनिरहेको जस्तै लाग्यो उसलाई।

गजानन्दले आफैसँग भन्यो, ‘छोरा ठूलो भएछ, परिपक्व बनेछ। झुठो बोल्न पनि जान्ने भएछ। तर, कति मीठो झुठ बोलेको।’

गजानन्दको मन हलुङ्गो भयो।

प्रकाशित: १८ फाल्गुन २०७८ ०८:२२ बुधबार

अक्षर