कला

स्वाभिमानका पहाडहरू

कविता

राधा कार्की

मञ्जरीमा एक थरी छन्

वैभव विलासितामा पौड्नेहरू

जो सधैं कल्पनाको उडानमा रहन्छन्

अर्का थरी छन्

नकारात्मकका पनडुब्बीमा

वागी पदयात्रीहरू

जो सधैं अवरोध र अन्योलको कुरा गर्छन्!

अझ अर्का थरी पनि छन्–

सदाबहार भुई मान्छेहरू

न ती सपनाका कुरा गर्छन्

न ती हकदाबीका कुरा गर्छन्

यिनीहरू घामसँगै बिउँझन्छन्

र आफ्नै विश्वासका टाँगाहरूमा

पसीना निचोरेर सुकाउँछन्।

देश बाँचे मात्र

आफू बाँचेको ठान्नेहरूको दुखाइ

प्रसव-पीडाभन्दा अझ गहिरो छ

यी स्वाभिमानका पहाडहरू

मुस्कुराइरहेछन्–

अनादिकालदेखि नै

श्रमका फुलेल थुँगाहरूमा!

प्रकाशित: १८ फाल्गुन २०७८ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App