कला

पत्रकार एवं साहित्यकार बिके पाल्पालीको निधन

मृगौला रोगबाट ग्रसित पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। विगत ९ वर्षदेखि  मृगौला रोगसँग लड्दै आएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमण समेत भएको थियो। केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार/पत्रकार रेणुका भट्टराईले जानकारी दिइन्।

‘नेपाल बोर्डर’ का सम्पादक पाल्पाली पेरोल साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका थिए। तीन दर्जन बढी स्मारिकाको सम्पादन गरेका पाल्पाली कानुनी र पत्रकारिता पेशा अँगाल्दै आएका थिए।

उनी साहित्य लेखन पनि उत्तिकै सक्रिय थिए। उनका पेस्तोलभित्रका गोलीहरू (कविता संग्रह), घायल वर्तमान (हाइकु संग्रह), चार्लीको चिठी (हाइकु संग्रह), धरणी (महाकाव्य) गरी विभिन्न विधाका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उनी विभिन्न पुरस्कार एवं सम्मानबाट पुरस्कृत छन्। विसं २०३२ साल असोजमा पाल्पामा जन्मिएका पाल्पालीका श्रीमती, एक छोरा र एक छोरी छन्। पाल्पालीकी  जीवनसँगिनी रेणुका भट्टराई पनि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छिन्।

प्रकाशित: १८ फाल्गुन २०७८ ०२:२१ बुधबार

अक्षर