कला

दुईलाख राशीको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना

‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ घोषणा गर्दै पुरस्कार स्थापना समितिका संयोजक सक्तभक्त श्रेष्ठ (बीचमा), सह–संयोजक तीर्थ श्रेष्ठ (दायाँ) र पोयुसाँप अध्यक्ष मोती भुजेल (बायाँ)। तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक

पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो।  

प्रत्येक दुईवर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँसहित ताम्रपत्र र दोसल्ला रहने पुरस्कार स्थापना समितिका संयोजक सरुभक्त श्रेष्ठले जानकारी दिए। पुरस्कार आगामी वर्षदेखि प्रदान गर्न शुरु गरिने उनको भनाई छ।

नेपाली गीत, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिनेमध्ये एकजनालाई छनौट गरी पुरस्कार प्रदान गरिने उनले बताए। ‘श्रष्टा चाहे देश भित्रको होस् वा बाहिरको, नेपाली होस् वा नेपाली मूलको, तर उसले नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ भने उ पुरस्कारको हकदार हुनसक्छ,’ संयोजक सरुभक्तले भने। उनका अनुसार लेखन, गायन, संगीत र वाद्यबादनको कुनै एक क्षेत्रमा वा बहुविधामा योगदान गरेकाले पुरस्कार प्राप्त गर्नेछन्।

२० लाख रुपैयाँको अक्षयकोष मार्फत पुरस्कार सञ्चालन गरिने संयोजक सरुभक्तले बताए। अक्षयकोषमा हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए। बाँकी रकम स्वेच्छिक आह्वान गरिएको उनको भनाई छ। कोषको बिउपुँजीको रुपमा भेट्रान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’बाट संकलन गरेको ५ लाख र पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रमबाट संकलन गरेको दुई लाख ५० हजार रुपैयाँ प्राप्त भएको उनले बताए।

स्वर्गीय गुरुङलाई कालजयी बनाउन उनको सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको पुरस्कार स्थापना समितिका सह–संयोजक तीर्थ श्रेष्ठले बताए। ‘अमर गुरुङले नेपाली गीत, संगीतको क्षेत्रमा दिएको योगदानको उच्च गर्दै उनको योगदानको सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको हो,’ उनले भने। अमरप्रति श्रद्धासुमन तथा अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने पुरस्कार स्थापनाको उद्देश्य रहेको उनले बताए। उनले अक्षयकोष बृद्धि भएमा पुरस्कारको राशी तीन लाख पु¥याउने योजना रहेको बताए।

अम्बर गुरुङले गीत, संगीतको क्षेत्रमा उच्चस्तरको पुरस्कार स्थापना होस् भन्ने चाहना राख्ने गरेको संयोजक सरुभक्तले बताए। तर आफ्नै नाममा रहोस् भन्ने चाहना भने नदेखाएको उनको भनाई छ। ‘अम्बर गुरुङको चाहनाले नभई उनको योगदानको कदर गर्न हामीले पुरस्कार स्थापना गरेका हौं,’ उनले भने।

अम्बर गुरुङको जन्म वि.सं.१९९४ साल फागुन १५ गते बुबा उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रुपमा भएको थियो। जन्म दार्जिलिङमा भएपनि अम्बर गुरुङको पुख्र्यौली थलो गण्डकी प्रदेशको तनहुँ जिल्लामा भएको पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ। ‘नौ लाख तारा उदाए’ गीतबाट गीत–संगीतको यात्रा शुरु गरेका अम्बर विस २०२६ सालमा संगीत विभागका प्रमुखका रुपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक ‘कुञ्जिनी’ र ‘मुनामदन’मा संगीत संयोजन गरेका थिए। उनी राष्ट्रगानका संगीत सर्जक पनि हुन्।

स्वर्गिय अम्बर गुरुङ पोखरासँग पनि निकट रहेको सह–संयोजक श्रेष्ठले स्मरण गरे। पोखराका हरेक सांगीतिक, सांस्कृतिक कार्यक्रममा उनको सहभागिता र रुची रहने गरेको उनको भनाई छ। पोखरेली युवा सांस्कृतिक परिवारले साहित्यतर्फ ‘शिरोमणी पुरस्कार’, गीत, संगीततर्फ ‘सोम बज्राचार्य स्मृति पुरस्कार र ललितकलातर्फ ‘ललितकला पुरस्कार’ सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ०७:४३ सोमबार

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार