कला

म त काँचो माटो

बालकविता

सुरेन उप्रेती

कुमालेको चक्रमाथि, बस्ने काँचो माटो

जस्तो आकार बनाउँछन्, त्यस्तै बन्छु माटो

कहिले बन्छु गमला त, कहिले प्याला बन्छु

जेजे मलाई बनाए नि, उपयोगी हुन्छु।

साना बालक म जस्तै हुन,भोलि केके हुन्छन्

राम्रो शिक्षा पाए भने, ज्ञानी गुणी बन्छन्

वैज्ञानिक र कानूनविद्, डाक्टर कोही बन्लान्

आफू कुशल नेता बनी, देश बनाउँछु भन्लान्  

कुमालेको चक्रमाथि, बस्ने काँचो माटो

जस्तो आकार बनाउँछन्, त्यस्तै बन्छु माटो

कहिले बन्छु गमला त, कहिले प्याला बन्छु

जेजे मलाई बनाए नि, उपयोगी हुन्छु।

साँचो बोल्ने मेहनत गर्ने मान्छे ठूलो बन्छन्

सबैसँग मिठो बोल्ने मान्छे असल भन्छन्

ठूलालाई आदर गर सानालाई माया

सबै साथी लाग्छन् अनि तिम्रा दायाँबायाँ

कुमालेको चक्रमाथि, बस्ने काँचो माटो

जस्तो आकार बनाउँछन्, त्यस्तै बन्छु माटो

कहिले बन्छु गमला त,कहिले प्याला बन्छु

जेजे मलाई बनाए नि,उपयोगी हुन्छु।

प्रकाशित: १४ फाल्गुन २०७८ ०६:४९ शनिबार

अक्षर