कला

गुरु ४

कथा

एक प्रातःकाल, बगैँचामा बसेर वैरोचनले आज्ञाचक्र ध्यान गरिरहेका थिए।

यता उन्मनालाई उदासीले घेर्न थाल्यो। वैरोचनको आश्रम आएदेखि उनी घरी अति प्रशन्न हुन्थिन्, घरी खिन्न। वैरोचनले उनको शारीरिक र मानसिक अवस्था बुझेर व्यवहार गरिरहेका थिए। उनको सेवाशुश्रूर्षामा विशेष धाईआमा खटाएका पनि थिए।

वैरोचनले ध्यान गरिरहेको स्थानदेखि केही पर बसेर उन्मनाले पवनाभ्यास गरिन्। उनलाई वैरोचनले भनेका थिए— मनलाई शान्त र दृढ राख्ने पहिलो विधि पवनाभ्यास हो। संसारका दुःखसुख सबै मनका खेल हुन्। मानिसको मन दृढ र पवित्र नहुँदा संसारमा विभिन्न अन्याय अशान्ति फैलिएको छ।

वैरोचन ध्यानबाट निस्केपछि उन्मना उनको छेउ गइन् र भनिन्—गुर ! मलाई कतै पर लैजानुस्। किन अचेल म छिनमै खुसी र छिनमै खिन्न हुन्छु?

वैरोचनले भने—गर्भवती भएदेखि तिम्रो शरीरको ग्रन्थिरसमा परिवर्तन आएको छ, त्यसले तिम्रो मनलाई पनि प्रभाव पारेकाले यस्तो भएको हो।

मप्रतिको तिम्रो प्रेम, यो प्रेम सम्बन्धको भविष्य र घरबार आदि कुराले तिमीलाई बिथोलेको छ। अर्कोतिर, तिमीले आमालाई छाडेर आएको धेरै भयो। आमाको माया र आफू हुर्केको परिवेशबाट टाढा हुँदा तिम्रो मन चुँडिएको छ। यी सबै क्षणिक मोह हुन्, मनका उडान हुन्। मन न हो, हुने वा नहुने कुराको पछि कुदिरहेको हुन्छ। मनुष्यले सम्भव हुने र जीवनमा गर्नैपर्ने कार्य गर्दै अगाडि बढ्नुपर्छ। आमाको माया र सम्झनाले सताएको हो भने हिँड जाऊँ, म तिमीलाई पुर्‍याउँछु।

वैरोचनले उन्मनालाई मातंगीपुरी नगरी पुर्‍याए। उन्मनाकी आमा शमनाले वैरोचनलाई पनि केही दिन आतिथ्य ग्रहण गर्न अनुरोध गरिन्। वैरोचन केही दिन अतिथिको सुखभोग गरी बसे।

मातंगीपुरीको ठूलो फाँटमा खेती हुन्थ्यो। हिउँदे तरकारीले फाँट हराभरा थियो। मातंगीपुरीवासी तरकारीको गोडमेल आदि काममा खटिएका थिए। अकस्मात् मातंगीपुरी नगरीलाई संग्रामपुर राज्यका राजकुमार वरुणका सिपाहीले घेरे। उनीहरूले मातंगीपुरी नगरीको रजस्वला–रेखाका बारेमा सुनेका त थिए, विश्वास गरेका थिएनन्।

मातंगीपुरी नगरीलाई चारैतिर सानो खाडल खनेर बीचबीचमा ढुंगा गाडिएको थियो। ती ढुंगा र माटोलाई स्त्री रजस्वला हुँदाको रगतले पोतिएको थियो। वरुणका केही सेनाले अटेर गरी रजस्वला रेखा नाघ्न पुगे, तर उनीहरू तत्कालै रगत छादेर मरे। रजस्वला रेखाका बारेमा जे सुनेका थिए, त्यो सत्य साबित भएपछि वरुण भयभीत भए र बाँकी सिपाहीका साथ आफ्नो राज्यतिर फर्किए।

केही दिनअघि, वैरोचनको आश्रमबाट राजकुमारी हिमाद्रिलाई अपहरण गर्न नसकेपछि वरुणको घमण्ड तोडिएको थियो। आफ्नो तोडिएको घमण्डलाई पुनः जोड्ने बाटो उनले खोजिरहेका थिए। त्यतिबेला वैरोचन आश्रमबाट फर्कंदै गर्दा बाटोमा उनले उन्मनाका बारेमा सुने—उन्मना अत्यन्तै सुन्दरी छन् तर उनी गुरु वैरोचनप्रति आकर्षित भएकी छन्। वैरोचनले उनलाई त्यति वास्ता गरेका छैनन्।

वैरोचन आश्रमबाटै उन्मनालाई अपहरण गर्ने साहस वरुणलाई भएन। वैरोचनको कुनै युक्तिमा परी पुनः असफल भएँ भने आफू बाँच्न लायक नरहने उनको निष्कर्ष थियो। त्यसैले उन्मना आफ्नै घर मातंगीपुरी फर्केको खबर पाएर अपहरण गर्न आएका थिए तर रजस्वला–रेखा पार गर्न सकेनन्।

वरुणलाई आफ्नो शारीरिक शक्तिप्रति अविश्वास लाग्न थाल्यो। उनी स्त्रीलम्पट थिए, सुन्दर स्त्रीका बारेमा सुन्न मात्र पथ्र्यो, उनी विवाह गर्नका लागि पुगिसक्थे। उनका पिता परशुराम शक्तिशाली राजा थिए। उनले संग्राम गरेरै संग्रामपुर राज्य निर्माण गरेका थिए। परशुरामको राज्य विशाल थियो। उनले आफ्नो राज्यमा आदिमकालदेखि बस्दै आएका मानिसका सीप, ज्ञान र प्रतिभालाई सम्पूर्ण रूपमा प्रयोगमा ल्याउने कोसिस गरेका थिए। किन्तु वरुणलाई आफू ठूलो राज्यको राजकुमार भएको घमण्ड मात्र थियो। उनी र उनका सिपाहीले वरपरका ग्राममा आतंक मच्चाउने पनि गर्थे।

०००

उन्मनाको घरमा केही दिन बसेर वैरोचन एक्लै आफ्नो आश्रममा फर्के। एक बिहान, उनले ध्यानदृष्टिले देखे—वरुण केही सिपाहीका साथ शिवपुरी राज्यलाई आक्रमण गर्न जाँदै थिए। भगवती नदीको मुहानदेखि पूर्वतर्फ वैरोचन आश्रम थियो, पश्चिमतर्फ धानग्राम। ठूलो फाँटमा औधि धान खेती हुने भएकाले त्यसको नाम धानग्राम राखिएको थियो। त्यो ग्राम मालीपिताले बसाएका थिए।

वर्ण व्यवस्थाको अभ्यास भएका वरपरका राज्यका दासदासी तथा शूद्रहरूलाई ल्याएर त्यहाँ राखिएको थियो। उनीहरूले खेती र पशुपालन गर्थे। उनीहरूलाई मालीपिता र वैरोचनले शिक्षादीक्षा दिएका थिए। यो फाँट उर्वर थियो, यहाँको उब्जनीले वैरोचनले गोप्य रूपमा केही योद्धा पनि तयार गरेका थिए। ती योद्धा सिपाही धानग्राममै साधारण पशुपालक र कृषकका रूपमा बसेका थिए।

वैरोचनले आफ्ना विशेष शिष्यलाई दुन्दुभि बजाउन भने। मध्याह्न घर्किसकेको थियो। तीनपटक दुन्दुभि बजेको केही क्षणमै केही सिपाही जम्मा भए। सबै योद्धाको भेषमा थिए र सबैको अनुहारमा विशेष रङ पोतिएको थियो। सहसा शस्त्रधारी सिपाही जम्मा भएको देखेपछि विशेषतः हिमाद्रि र जालन्धर भयभीत भए। यी सिपाही को हुन् र के हुन लागिरहेको छ भन्ने उनीहरूले भेउ पाउन सकेका थिएनन्।

वैरोचनले सबै उपस्थित सिपाहीलाई आ–आफ्नो हतियारको परीक्षण गर्न आदेश थिए। केहीबेरमै शस्त्रधारी सिपाहीको अर्को समूह आइपुग्यो, बगैँचामा एक हजार हाराहारीमा योद्धा उपस्थित भए।

सबैलाई रेखा—रेखामा उभिन आदेश दिँदै वैरोचन बोले—संग्रामपुर राज्यका राजकुमार वरुणले झन्डै दुई हजार सिपाही लिएर शिवपुरी राज्यलाई आक्रमण गर्न निस्कँदै छन्। अबको १२ घडीमा उनीहरू शिवपुरी राज्यमा पुगिसक्छन्। उनीहरू नपुग्दै तिमीहरू यो पहाड नाघेर जानू र वनमा लुकेर उनीहरूमाथि आक्रमण गर्नू। वनमा उनीहरूलाई भ्रम होस् कि हामी शिवपुरी राज्यकै सेना हौँ र हामी उनीहरूभन्दा संख्यामा पनि धेरै छौँ।

यो युद्धको नेतृत्व हिमाद्रि र जालन्धरले गर्नू। तिमीहरू राजकुमार र राजकुमारीकै भेषमा भए पनि अनुहार रंग्याउनू, किनभने उनीहरूले तिमीहरूलाई चिन्नु हुँदैन। तुरुन्त अगाडि बढ, हामीसँग समय छैन। युद्ध जितेर सबै यहीँ आउनू। 

उता दुई हजार सेना, यता हजार मात्र! हिमाद्रि र जालन्धरको मनमा पसेको चिसो अनुहारमा उत्रँदै थियो। उनीहरूको मनोभाव बुझेर वैरोचन बोले—युद्ध संख्याले होइन, साहस, युक्ति र शस्त्रको शक्तिले हुन्छ।

वैरोचनले भने अनुरूप हिमाद्रि र जालन्धर सिपाहीका साथ पहाडतिर लागे। दिन ढल्कँदै गर्दा वनको माझमा युद्ध भयो। युद्धमा वैरोचनका सिपाहीले अद्भुत कला र शक्ति प्रदर्शन गरे। विस्फोटक शस्त्रका अगाडि वरुणका सिपाही एक क्षण पनि टिक्न सकेनन्। उनीहरू छिन्नभिन्न भएर भागे।

साँझको भोजन गर्ने बेला हिमाद्रि, जालन्धर र वैरोचनका सिपाही आश्रम आइपुगे। सबैलाई बगैँचामा उभ्याएर अग्लो मञ्चबाट वैरोचन बोले—तिमीहरूले जुन वनमा युद्ध गर्‍यौ, त्यो स्थान वरपरबाट देखिँदैन। त्यहाँ युद्ध भएको तिमीहरू दुई पक्षबाहेक अरू कसैलाई थाहा छैन। शिवपुरी राज्यलाई पनि जानकारी छैन। तिमीहरू को हौ भन्ने पनि वरुणका सेनाले चिनेका छैनन्। आज जे भयो, यो कुरालाई सबैले सधैँ गोप्य राख्नू। अन्यथा, हामीलाई र शिवपुरी राज्यलाई क्षति हुनेछ।

वैरोचनले सबैलाई भोजनको व्यवस्थामा लाग्न आदेश दिए। युद्धमा जाने सिपाहीहरू केही धानग्रामका थिए भने केही आश्रमकै शिष्यशिष्या थिए। भोजनपछि उत्सव स्वरूप केहीबेर नाचगान चल्यो, त्यसपछि सबै आ–आफ्नो निवासतिर लागे।

यत्तिका सिपाही कहाँबाट आए र कहाँ जान्छन् भन्ने चासो हिमाद्रि र जालन्धरलाई थियो। उनीहरूले धानग्रामतिर लागेका सिपाहीको चियो गरे। भगवती मुहानबाट पश्चिमतर्फ रहेको धानग्रामलाई उनीहरूले देखेका त थिए, तर त्यहाँ त्यत्तिका सिपाही बस्छन् भन्ने कल्पनै गरेका थिएनन्। यो भेउ पाएपछि उनीहरू भोलिपल्टको मध्याह्नपछि धानग्रामतिर लागे। धानग्राम शान्त थियो, सबै आ–आफ्नो काममा तल्लीन थिए। हिजो आफूहरूसँग युद्धमा जाने को हुन् भनेर उनीहरूले कसैलाई चिन्न सकेनन्।

उनीहरूले एउटा घरभित्र स्त्रीहरू बोलिरहेको सुने— ती वरुण अघिल्लोपटक एक हजार योद्धासहित शिवपुरी राज्यमाथि आक्रमण गर्न अर्को बाटोबाट आएका थिए, त्यति बेला पनि हाम्रा योद्धाले भगाए, अहिले दुई हजार योद्धा लिएर आएका रहेछन्। शिवपुरी राज्यका राजालाई कुनै भेउ छैन, दरबारिया सुखसयलमै मस्त छन्।

अस्ति हिमाद्रिलाई अपहरण गर्न आउँदा वरुणले पाँच सयको हाराहारीमा योद्धा लिएर आएका थिए, आश्रममा कोही योद्धा बस्दैन भन्ने उनको आकलन थियो। उनले यहाँ केही योद्धा रहेको चाल पाइसकेका छन्, यहाँ पनि कहिले आक्रमण गर्ने हुन् ! यसमा गुरुको कुनै योजना र युक्ति पो छ कि?

यो सुनेपछि हिमाद्रि र जालन्धरको चेत खुल्यो। वैरोचनका योद्धाले शिवपुरी राज्यको सुरक्षा गरिरहेछन् तर शिवपुरी राज्यलाई कुनै जानकारी छैन? जालन्धर वैरोचनप्रति कृतज्ञ भए।

उनीहरू आश्रमतिर फर्कंदै गर्दा बाटोमा हिमाद्रिले जालन्धरलाई भनिन्— यो निश्चित भयो, हाम्रो सत्ता ढलाउन यिनै योद्धाले सहयोग गरेका हुन्। जालन्धर! तिमी तुरुन्त दरबार गएर पितालाई सचेत बनाऊ। थाहा छैन, कुन बेला तिम्रो राज्यमा दीनदुःखीले विद्रोह गर्ने हुन् ! विद्रोह भइहाल्यो भने तिम्रो पिताको शासन ढलेर ब्रह्मपुर राज्यमा जस्तै गणतन्त्र आउने निश्चित छ।

–हिमाद्रि ! तिम्रो अनुमान यथार्थको निकट छ। मलाई त यस्तो लाग्दैछ, यथाशीघ्र गणतान्त्रिक व्यवस्था ल्याएर शिवपुरी राज्यलाई बलियो बनाउनुपर्छ।

‘तिमी के भन्दै छौ यस्तो?’ हिमाद्रिले चर्को स्वर गरिन्।

–मैले सत्य भन्दै छु। अस्ति शिवपुरी राज्यका दीनदुःखीलाई भोजन वितरण गर्न जाँदा गुरु वैरोचनले जुन ज्ञान तिमीलाई दिए, त्योभन्दा बढी ज्ञान मैले पाएको छु। राज्यको सेवा–सुविधा सबैले समान रूपमा उपभोग गर्न पाएका छैनन्। 

गद्दीनसीन राजाका भाइहरू, गोतियार र आफन्तलाई सम्मानित स्थान दिएर बेठीक भइरहेको छ। यो परिपाटीले हामीबीच सम्मान, सुखसखय र शक्तिका लागि अनावश्यक चलखेल गर्ने वातावरण दिएको छ। यसले हामीलाई मानव बन्न होइन, जसरी हुन्छ देवताको सम्मान पाउन प्रेरित गरिरहेको छ। सम्मानित स्थान त जनताले पाउनुपर्छ, अनि मात्र राज्य बलियो हुन्छ। यसका लागि जनताले शासक चुन्ने विधिविधान नै ठीक हो।

‘राज्यमा तिम्रो स्थान के रहन्छ त?’ हिमाद्रिले प्रश्न गरिन्।

कुरा गर्दै भगवती नदीको मुहानमा आइपुगेको उनीहरूले पत्तो पाएनन्, उनीहरूको मनमा अनेक तर्कवितर्क चलिरहेको थियो। मुहानमा सायंकालको स्नान गरी वैरोचन आश्रमतिर फर्कन लाग्दै थिए। उनीहरूलाई देखेपछि आश्रमतिर फर्कंदै वैरोचन बोले—हिमाद्रि! शिवपुरी राज्यमा जालन्धरको ठूलो स्थान सधैँ रहन्छ। न्यायको पक्षमा कार्य गर्न पद वा शक्तिमा हुनैपर्छ भन्ने छैन।

हिजो तिमीहरूले कति ठूलो कार्य गर्‍यौ! तिमीहरूले वरुणका योद्धालाई बाटोबाटै नभगाएको भए शिवपुरी राज्यले हिजो ठूलो क्षति व्यहोर्नुपर्थ्यो। कति स्त्री बलात्कृत हुन्थे, कति योद्धा मारिन्थे, कति लुटपाट हुन्थ्यो-त्यसको अनुमान गरेका छौ?

पदलाई देवताको आसन बनाउनुहुँदैन। सबैको हितमा काम गर्ने मान्छे पदमा पुग्ने सहज व्यवस्था ल्याउनुपर्छ। सबैको हितमा काम गर्छौ, त्यस्तो विश्वास दिलाउँछौ भने तिमीहरू पनि विधान अनुसार केही समयका लागि पदमा पुग्न सक्छौ। अघि देख्यौ, धानग्रामवासी आनन्दको साधारण जीवन बाँचिरहेका छन्। किन्तु उनीहरू संसारमा जहाँ अन्याय हुन्छ, त्यहाँ पुग्छन्। के उनीहरू कुनै पदधारी हुन्? 

मलाई सूचना छ, हिजो तिमीहरू दुवैजना वरुणका योद्धाबाट घेरिएका थियौ, तिमीहरूलाई तिनै धानग्रामका योद्धाले जोगाए। आफ्नो प्राण बचाउन कसले भूमिका खेल्यो भनेर तिमीहरूले कहिल्यै चिन्ने छैनौ। के चिन्यौ भने उनीहरूलाई कुनै पद वा सम्मान दिन्छौ? तिमीहरूले दिए पनि उनीहरूले लिने छैनन्। उनीहरूलाई त्यसमै आनन्द, आत्मसम्मान र आत्मसन्तुष्टि छ।

उनीहरूमध्ये कतिका पुर्खा कुनै राज्यका आदिमवासी हुन्। राजा र दरबारियाबाट पदच्युत गराइएका व्यक्तिका सन्तान पनि त्यहाँ छन्। उनीहरू युद्धका उपज हुन्। राज्यको निर्माण र विस्तारका नाममा युद्ध हुँदा उनीहरू पराजित भई दासदासी हुँदै सेवा गर्ने शूद्र बन्न पुगे।

कुनै पनि राज्यको अधिनमा नबसी यहाँ आएर उनीहरूले सुखको अनुभूति गरेका छन्। युद्ध गरेर आफ्नो पुख्र्यौली परिचय र माटो फिर्ता गर्ने त्यस्तो आकांक्षा उनीहरूमा छैन, जस्तो महत्त्वांकाक्षा हिमाद्रि र उनको परिवारले पालेको छ। बललाई प्रधान मान्ने हो भने को कहिले माथि पर्छ, को कहिले तल पर्न सक्छ, त्यसैले हामीले विवेकलाई प्रधान मान्नुपर्छ।

बोल्दाबोल्दै उनीहरू आश्रममा आइपुगे। सायंकालको प्रवचन सुरु भयो। सबै शिष्यशिष्यालाई एकै ठाउँमा राखे वैरोचनले प्रवचन दिए।

०००

दिन बित्दै गयो। उन्मनाले पुत्रीलाई जन्म दिइन्। पुत्रीको नाम पिंगला राखियो। पुत्रीलाई लिएर उन्मना वैरोचन आश्रममा फर्किइन्। उनी फर्कंदा केही पुराना शिष्यशिष्या थिएनन्, केही नयाँ थपिएका थिए। जालन्धर र हिमाद्रि वरिष्ठ शिष्यशिष्या भएका थिए। यो बीचमा शिवपुरी राज्यमा विद्रोह भई गणराज्य बनिसकेको थियो।

एक दिन प्रातःकालमा आशीर्वाद लिन र स्वास्थ्य अवस्था बुझ्न वैरोचन र उन्मना मालीपिताको कुटीमा गए। त्यस दिन मालीपिता सुखासनमा बसी आज्ञाचक्र ध्यान गरिरहेका थिए। उनको शरीरमा हाड र छाला मात्र देखिएको थियो।

वैरोचन र उन्मनालाई देखेपछि मुहारमा स्मितभाव ल्याउँदै उनी बोले—वैरोचन! मैले सय वर्ष नाघिसकेँ। अब मैले यो शरीर त्यागी समाधि लिन्छु। सृष्टिको नियम यस्तै छ, शरीरलाई दुःख दिएर अब म बाँच्न सक्दिनँ। एक सातापछि पूर्णिमा आउँदै छ, पूर्णिमाको उदाउँदो जूनसँगै मैले समाधि लिनेछु।

वैरोचन र उन्मनाका आँखाबाट अश्रुधारा बग्न थाले। दुवै केही बोल्न सकेनन्। त्यस दिन वैरोचन र उन्मना दिनभरि नै मालीपिताको साथमा बसे। तीनैजना प्रायः मौन रहे, अति आवश्यक कुरा मात्रै उनीहरूले शब्दमा व्यक्त गरेका थिए।

साँझपख, मालीपितालाई भेट्न शमना आइपुगिन्। आफूलाई भेट्न कहिल्यै नआएकी माता मालीपितालाई भेट्न आएको देखेर उन्मना आश्चर्यमा परिन्। शमना सिधै मालीपिताको कुटीमा प्रवेश गरिन्। दिनभरि थकान महसुस गरेका मालीपिता शमनालाई देख्नेबित्तिकै जुरुक्क उठे र दुवैले एकअर्कालाई दण्डवत गरे।

शमना बोलिन्—गुरु! हजुरको मानसिक सन्देश प्राप्त गरेर आएकी हुँ, मलाई के आज्ञा हुन्छ?

‘तिमीले भनेकी थियौ—समाधि लिनुअघि एकपटक मलाई भेट दिनू। त्यसैले बोलाएको हुँ, आउँदो पूर्णिमाको दिन मैले समाधि लिँदैछु।’

मालीपिताका शब्दसँगै शमनाका आँखा बर्सिए। यसपालि मालीपिताका पनि गह भरिएका थिए। उन्मना, वैरोचन र अन्य केही वरिष्ठ शिष्यशिष्या त्यहाँ थिए। सबै निःशब्द थिए, सबैका आँसु नै शब्दका रूपमा व्यक्त भइरहेका थिए। त्यस रात मालीपिताको स्याहारका लागि शमना, वैरोचन र उन्मना सँगै बसे। माता शमनाको मालीपिताप्रतिको श्रद्धा र सम्मान देखेर उन्मना आश्चर्यमै थिइन्। अनेक शंका र उपशंका उनको मनमा मडारिँदै थियो।

पुत्रीलाई जन्म दिएर फर्केदेखि उन्मना मालीपिताकै सेवाशुश्रूर्षामा खटिएकी थिइन्। गुरुका पनि गुरु भनेपछि मालीपिताप्रति उनको मनमा असीम श्रद्धाभाव जागेको थियो।

एक दिन मालीपिताले उन्मनापुत्री पिंगलालाई काखमा लिएका थिए। पाँच महिना पनि नपुगेकी पिंगलाले मालीपिताको काखमा हातखुट्टा चलाउँदै खुसीभावसँगै आवाज निकाल्न थालिन्। मालीपिता पिंगलालाई हेरेर हाँसिरहेका थिए। यो दृश्य देखेर उन्मनालाई लागेको थियो—यी नातिनी–पितामह कुनै संवाद गर्दै छन्।

एक दिन उन्मनाले मालीपितालाई सोधेकी थिइन्— मालीपिता! मैले विवाह गरेकी छैन तर पिंगलाका पिता को हुन् भन्ने मलाई ज्ञात छ। ठूली भएपछि पुत्रीलाई मैले पिता चिनाउँ कि नचिनाउँ?

मालीपिता बोले—पुत्री उन्मना! तिमीले आफ्ना पितालाई चिनेकी छौ?

– छैन। माताले चिनाउनुभएकै छैन।

आफ्नो पिता कुनै राज्यका ठूला पदधारी व्यक्ति हुन् वा साधारण व्यक्ति भनी चिन्यौ भने के गर्छयौ?

–पहिले मातासँग बुझ्छु—मेरा पितासँग हजुरको सम्बन्ध कस्तो थियो? मेरो जन्म हजुरको इच्छाले भएको हो कि पिताको मात्रै इच्छाले? पिताबाट मातामाथि कुनै अन्याय भएको रहेछ भने त्यसमा प्रश्न गर्छु।

पिता र माताको राजीखुसीकै सम्पर्कबाट तिम्रो जन्म भएको हो भने पिताको गोत्र मान्छ्यौ कि माताको?

– अहो! यस विषयमा मैले सोचेकी र चिन्तन गरेकी छैन।

मालीपिताले भने, ‘यस विषयमा वैरोचनसँग बुझ्नू। तिमीले यसमा आफ्नो स्पष्ट धारणा बनाएर अगाडि बढ्नुपर्छ। तिमी जसरी अगाडि बढ्छ्यौ, त्यही मेरा लागि गुरुदक्षिणा हुनेछ ।’ जब माता शमना आएर मालीपिताको सेवाशुश्रूर्षा गर्न थालिन्, उन्मनालाई आभास हुन थाल्यो—कतै मालीपिता नै मेरा पिता होइनन्? किन्तु यो कुरा उनले न मातासँग न मालीपितासँग सोध्नै सकिन्।

पूर्णिमाको दिन बिहान, मालीपिताले भने—मलाई मातंगीपुरी नगरी छेउको भगवती तटमा लैजानू। उनको इच्छाअनुरूप उनलाई भगवती तटमा पुर्‍याइयो। साँझ चन्द्रमा उदाउनूअघि उनी ध्यानका लागि सुखासनमा बसे। आँखा चिम्लनुअघि उन्मनालाई भने—पुत्री उन्मना! म तिम्रो पिता हुँ। मैले नै तिम्री मातालाई पिता नचिनाउन भनेको थिएँ। तिम्री माता र मबीच सल्लाह भएको थियो—कुनै उपयुक्त दिनमा तिमीलाई पिता चिनाउने। यसअघि हामी पिता र पुत्रीको सम्बन्धभन्दा माथि थियौँ। त्यसैले त्यो उपयुक्त दिन आजै जुर्‍यो।

उन्मनाले पिताका दुवै हात समातिन्। मालीपिताले आँखा बन्द गरे र केही क्षणमै शरीर त्यागे।

(कथा सकिएको छैन, यसको अर्को भाग छिटै प्रकाशित हुनेछ।)

प्रकाशित: १४ फाल्गुन २०७८ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App