कला

आकाश रित्तै छ

कविता

उदय निरौला

आकाश रित्तै छ

तैपनि जमिनमा

किन च्याउ, झ्याउ र  ढुंगाहरूमा

अचाक्ली लेउ लागेको।

बाँझो फोर्ने पाखुराहरूमा

किन बर्कत हराएको?

अब त जमिनको अस्मिता

हाइब्रिड बिउबिजनहरूले

लुट्दै लगेको

पखाल्दै लगेको

अन्त्यमा कतै जमिनको अस्मिताको

हुलिया नै बदलिने हो कि जस्तो यो

वर्तमानको मौसम

किसानहरू अलमलमा छन्

किन होला झ्याउहरूले

च्याउहरूले यस्तो बिघ्न ढाकेको

छक्क परेका छन् किसान

कतै आफ्नो पाखापखेराको धनीपुर्जा नै

बदलिने हो कि?

कतै आफ्नो परिचयको वेशभूषा नै बदलिने हो कि

माटोले नागरिकता बदलेका दिन

माटो हराउने पो हो कि?

चिन्ताग्रस्त हाँछ्यु बोकेर हिंड्नुपरेको  

बस्तीमा किसानहरू।

कसले गर्ला रक्षा

आततायीहरू बढेका छन्

जुकाहरू र झुसिलेहरू पसेका छन्

फूलहरू छपक्कै छोपेर

चुवा र लालुपाते,

सुनाखरी र गोदावरी  

हुलिया बदल्न बाध्य छन्

आततायी झुसिलेहरूले डँडाल्नो थिचेर

किसानहरू डराएका छन्

खासमा खेतबारी

यो देशको कोठेबारी

कतै सँभाल्न कठिन हुन्छ कि?

झुसिलेहरूको शासनमा

अब कोठेबारीको परिचय पनि बदलिने होकि?

खास यो देशका सर्वहाराहरू

औधी डराएका छन्

धेरै–धेरै भयभीत छन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App