कला

एउटा कविको चीत्कार

कविता

ध्रुवकुमार सापकोटा

देखिरहेकी छ्यौ तिमी क्षणक्षणमा

फेसबुकका स्टाटसहरूमा

अखबारका पानाहरूमा

रेडियो र टेलिभिजनका समाचारहरूमा

कोरोनाले सताएका खबरहरू

मृत्यु नै मृत्यु  

अनि जलिरहेका चिताहरू!

भन त म कति दुखी हौं?  

कति गुनासाहरू पोखौं?

तिमीलाई लाग्दैन  

संसार सधैं एकैनासको हुन्न?  

सुख–खुशी मात्र हैन जिन्दगी

दुःख–पीडाहरू पनि लिएर आउँछ जिन्दगी!

सृष्टि मात्र हैन जिन्दगी

बेलाबेला प्रलय पनि लिएर आउँछ यो जिन्दगी!

तिमी हाँस्न सक्छ्यौ  

रमाउन सक्छ्यौ खुशीहरूमा

दुःख–पीडामा सम्हालिन पनि त सक्नुपर्छ

नत्र के अर्थ रह्यो जिन्दगीको!

भयो अब बन्द गर यी गुनासाहरू

सम्हाल आफूलाई!

धेरै सुनें तिम्रा बिलौना

अब भन म के गाऊँं

म के सुनाऊँ तिमीलाई?

जान्दिन म बाँसुरीको धुन बजाउन

न त जान्दछु सारङगीको तार रेट्न्

अनि गाउन सक्दिनँ म रानी वनैमा्

भन त म के सुनाऊँ?

गालिवको गजल सुनाऊँ?

या उमर खयामको रुवाइयत सुनाऊँ

अथवा

देवकोटाको सुनको बिहानी सुनाऊँं

भन त प्रिय तिमीलाई म के सुनाऊँ?

धेरै हल्लामा उडेको छ मेरो देश

त्यसैले भूपि शेरचनको

यो हल्लै हल्लाको देश सुनाऊँ?

भन त प्रिय,

तिमीलाई म के सुनाऊँ?

प्रकाशित: १२ फाल्गुन २०७८ ०६:३० बिहीबार

अक्षर