कला

नारा

लघुकथा

रेणु अधिकारी मौनता

शहीद दिवसमा असनबाट इन्द्रचोक हुँदै एक हुल मानिस नारा लगाउँदै आए–नेपाली कांग्रेस जिन्दावाद!

चार तारे झन्डा हातमा बोकेर विपीको सपना पूरा गर्छौ भन्दै भिड शहीदगेटतर्फ लाग्यो। फेरि एकै क्षणमा अर्को हुल आयो ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद’ भन्दै हँसिया र हथौडा अंकित झन्डा फर्फराउँदै पुष्पलाल, माओ र लेलिनको सिद्धान्त लागु गर्छौ भन्दै शहीदगेटतिरै लागे।

फेरि अर्को हुल आयो, ‘हाम्रो राजा, हाम्रो संरक्षक हुन्,राजसंस्थाको रक्षा गर्छौ’ भन्दै पहेंलो र हरियो रङको झन्डामा गाईको चिन्ह अंकित झन्डा फहराउँदै शहीद गेटतर्फ लाग्यो। अघिदेखि यो तमासा हेरिरहेकी हिरामाया खुइय लामो सास तानेर थुचुक्क बसिन्।

राष्ट्रमान नाम मात्रका राष्ट्रमान आफ्ना छोराछोरी र श्रीमतीलाई अन्तरराष्ट्र अमेरिकामा राखेर बसिरहेका थिए। भएकी एउटी आमालाई अमेरिकाको सुखसुविधा दिन्छु भनेर नलगेका त कहाँ हुन र? तर, हिरामायालाई असनटोलको त्यो एक कोठे चारतल्ले घर आफ्नो बुढाको बाउ (ससुरा) ले चार कोठाको चारतल्ले घर बनाएका थिए।

पछि चार जना छोरालाई एकएक कोठा भाग लगाउँदा तलको एकएक कोठा माथिसम्म लिंदा चारचार वटा भागमा परेको थियो। सोही घरको माया आफ्नो देश, पशुपतीनाथ, धरहरा,घण्टाघर,रानीपोखरी अनि काठमाडौंको मुटुमा अवस्थित  फराकिलो आँगन टुँडिखेलको मायाले तानेर आफ्नै घर फर्केको बर्सौ भइसकेको थियो।

आज झ्यालमा बसेर तमासा हेरिरहेकी हिरामाया त्यो पुरानो कोठामा आफ्नो खसमसँग बिताएको मिठो पलको सम्झिंदै श्रीमान् बितेको धेरै वर्षपछि बुढाले कोठाको भित्तामा टाँगेका चन्द्र–सूर्य अंकित झन्डा समातेर आफ्ना बुढाका साथीहरू वीर शहीद गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई सम्झिंदै आँखाभरि आँसु पारेर भनिन्, ‘वीर शहीद जिन्दावाद, शहीदको सपना पूरा गर्छु!’

प्रकाशित: १२ फाल्गुन २०७८ ०५:३५ बिहीबार

अक्षर