कला

छोरा मान्छे

लघुकथा

– यमुना प्रधानाङ्ग ‘मुना’

पीडा नै पीडाले ग्रसित सूर्यमान आफ्नी श्रीमती निरासँग मनका पीडा पोख्दै थिए, ‘ढुंगा त कहाँ हो र मेरो मन पनि। भित्रभित्रै रुन्छु कतिकति!

बहने हो भने आँसु जलाम्मे पोखरी हुँदै समुद्रको रूप लिइसक्थे होला!

उकाली, ओराली, देउराली र भन्ज्याङहरू काटियो कतिकति! छेक्न नआएको होइन बडेमाको पहाड अगाडि! तान्न नआएको होइन खुट्टा बेसरी! नपोलेको होइन छाती भत्भती! नघोचेको होइन मुटु घ्वाचघ्वाच! कसलाई पोखूँ वेदनाको लहर! तिमी जस्तो म पोख्न पनि त सक्दिनँ। आँसुको भेलसँगै वेदना बिसाउन सक्दिनँ अरूसामु पीडा!

सायद सानामा म रुँदा ‘तिमी त छोरा मान्छे, बहादुर पो हुनुपर्छ। छोरो भएर पनि रुन्छ त कोही? भन्दै मलाई नथपथपाएको भए म पनि तिमीजस्तै पीडालाई आँसुको भेलसँगै बगाई शान्तिको सास लिई बाँचेको हुन्थें। बुझ्यौ निरा?’ भन्दै गर्दा यी सबै सुनिरहेका सूर्यमानको आमाले भनिन्, ‘छोरा, रोऊरोऊ! अब म भन्दिनँ, नरुनू! जति रुन मन लाग्छ, रोऊ, छोरा!’

यति भनेर आमा अदृश्य भइन्।

निराले ‘उठ्नु न! आज कति सुतेको?’भन्दै झक्झकाइन्। सूर्यमान झल्याँस्स बिउँझी आँखा खोल्दा आँसु झरिरहेका थिए।

छातीमा यसो हात राख्यो, मन हल्का भएको महसुस गयो।

प्रकाशित: ११ फाल्गुन २०७८ ०४:४३ बुधबार

अक्षर