कला

हजुरआमाको फेसबुक

लघुकथा

तुलसीराम खरेल

रमेशकी हजुरआमा उमेरले पचासी टेकेकी थिइन्। सन्तानले टाढाबाट फोन गरे भने तत्कालै कुराकानी गर्न सजिलो होस् भनेर कान्छी छोरीले सजिलो,सानो नोकियाको मोबाइल सेट आमालाई दिएकी थिइन्।

हजुरआमा कतैबाट फोन आउँदा कालो बटन थिचेर ‘ॐ शान्ति’ भनेर कुरा सुरु गर्थिन। उनले गर्ने यत्ति थियो। त्योभन्दा बढी उनलाई  मोबाइल फोनको कुरा केही आउँदैनथ्यो।

उमेरले डाँडो काटेकी हजुर आमाले मस्तले फोनमा कुरा गरेको सुनेर सन्तान पनि खुसी थिए। गाउँमा इन्टरनेटको सेवा पुगेपछि आमा छोराको मोबाइलबाट विदेशमा र स्वदेशकै अन्य ठाउँमा बस्ने छोराछोरी नातीनातिनासँग खुलेर कुरा गर्थिन्।

यसको चाँजोपाँजो छोराले मिलाइदिन्थ्यो। आजकल पहाडमा यत्ति सुविधा पुगेकोमा उनी पनि दंग थिइन्।

माइली छोरी पोखराबाट माइती घरमा आएर हप्ता दिन जति बसेर गएको पनि महिना दिन भैसकेको थियो।

रमेशले एक दिन हजुर आमाको फेसबुक अकाउन्ट देख्यो। फ्रेन्ड रिक्वेस्ट तुरुन्त एसेप्ट भयो। ऊ हजुर आमासँग फेसबुके साथी बन्यो। त्यो कसले चलाउँछ उसले पत्ता पाउन सकेन। हजुर आमाको फेसबुक आइडीबाट आफ्नै परिवारका विभिन्न फोटाहरू अपलोड भैरहन्थे।

हजुर आमासँग धेरैजना साथी पनि बनिरहेका थिए। अब त हजुर आमाको वालमा अनेकौं रमाइला भिडियो, रमाइला कुराकानी र गजबका टिकटक समेत देख्न थालियो। हजुर आमा भने दिन प्रतिदिन सुगर, प्रेसर र अन्य समस्या बढेर ओछ्यान परेकी थिइन्।

हजुर आमाको जन्मदिनमा प्रिय नाति रमेशले बेलुका हजुरआमाको जिउ थिचिदियो। छोराले गोडामा तेल लगाएर निकैबेरसम्म गुनगुनायो।

ऊ हरेक दिन आफ्नी आमालाई सेवा गर्न पाउँदा खुसी हुन्थ्यो। नाति रमेशले सुत्ने बेलामा फेसबुक खोलेर हेर्‍यो। आमाको जन्मदिन भनेर गालामा गाला जोडेर ‘आमा हजुर हेप्पी बर्थ डे’ भनेर पठाएका अनेकौ फोटा देख्यो।

हजुर आमाका सन्तानहरू आफ्नी आमालाई खुवाएका, नयाँ लुगा दिएका पुराना फोटाहरू अप्लोड गर्न प्रतिस्पर्धा गर्दै थिए। उसले हजुर आमा आफ्नो खाटमा पीडाले छटपटिरहेको हेयो तर फेसबुकमा हजुरआमा ‘थेन्क यू  भेरी मच’ भन्दै थिइन्।

प्रकाशित: ९ फाल्गुन २०७८ ०८:३३ सोमबार

अक्षर