कला

नियति

लघुकथा

निर्मला बराल

मन्दिरमा सधैं साँझबिहान बज्ने शंखको ध्वनि सुमधुर लाग्थ्यो। तर, त्यसरी दिउँसो आँगनमा एकोहोरो शंख बज्दा कताकता मन चसक्क भएर आयो।

यसो हेरेको त सधैं तुलसी मोठको परिक्रमा गरी पूजाअर्चना गर्ने मेरो बा त्यहीं भुईमा लम्पसार हुनुहुन्थ्यो। रुँदारुँदा आमाका आँखा ओभाएका थिएनन्। छिमेकी र आफन्तहरू मास्क लगाएर परपर उभिएका थिए। कोही भने आफ्नो घरको झ्यालबाट रमितेझैं हेर्दै थिए। मेरो पनि होसहवास उडेजस्तो भयो। लमतन्न सुतेको बुवालाई हेर्दै मैले भनें,‘भित्र कोठामा सुताऊ न बालाई। चिसो लाग्यो भने के गर्ने फेरि!’

कोही केही बोलेनन्। उल्टै मलाई पनि बुबा नजिक जान रोकियो।

‘कस्तो लाटो रैछे यो हँ! नजिक परेर अरूलाई पनि कोरोना सार्न खोजेको?’

बेचैन हुँदै मैले आमालाई अँगालो हालें  अनि मनभरि रुन खोजें। मेरा कानमा झट्ट आवाज आयो, ‘बिचरो, यो छ–आठ वर्षको बालखले  कसरी दागबत्ती देला हँ?’

मेरो बालमनमा ‘दागबत्ती के रहेछ भन्ने’ लाग्यो। दुईचार जना थिए। त्यसमा पनि के गर्ने कसो गर्ने भनेर सबै अलमलमा थिए। त्यसैबेला वडाको अध्यक्ष काका हस्याङफस्याङ गर्दै आइपग्नुभयो।

–ए ल कोरोना हैन रैछ। हर्टएट्याक पो पुष्टि भयो त! ढुक्क भयो। लौ  जुटौ अब!’

त्यो सुन्नेबित्तिकै सबैका अनुहार उज्याला भए र सबै नजिकिए।

बालाई बाँसमा बेसरी डोरीले कसियो र रामनामी कपडा ओढाइयो। फेरि मनै रुवाउने एकोहोरो शंख बज्यो। चारैतिर बाँस समाति उठाए।

आमा चिच्याउँदै सँगसँगै परसम्म कुद्नुभयो। सके मैले रुन बिर्सिएँ। खोलाछेउमा लगेर बालाई बिसाए। मेरो कपाल खौरिदिए। बलेको दियो बाको मुखमा राख्न के भनेका थिए, म अचानक चिच्याएँ, ‘नाइँनाइँ, बालाई पोल्छ!’

‘किन रोएको के, नराम्रो सपना देख्यौ कि क्या हो छोरा?’ बाबाले मलाई बोक्दै सोध्नुभयो। बाबाको अँगालोमा बसेर लामोलामो सास फेर्दै भनें, ‘अब हामीलाई छोडेर नजानु ल?’

म अझ निद्रामै थिएँ तर बाले भनेको म सुन्दै थिएँ,‘बाबू, तिमीहरूलाई छोडेर अब कहिल्यै परदेश जान्नँ। आफ्नै  देशमा बसेर केही गर्छु।’  

प्रकाशित: ९ फाल्गुन २०७८ ०३:५३ सोमबार

अक्षर