डा. विदुर चालिसे
एउटा बोको मन्दिरको छपरीमा धुप र बत्तीको उडिरहेको धुवाँ सुँघिरहेको थियो। धुवाँमा उडिरहेको सुगन्धमा मुन्टो फर्काईफर्काई ठाडो मुख लगाउँथ्यो। आनन्दको भावुकताका लहडसँग बर्बराउँथ्यो।
–प्रजातन्त्रको स्वाद!
–नकच्चरो पशु!
कसैले बोकालाई गाली गयो तर उसको व्यवहारको धुन खासै परिवर्तन भएन। खुट्टा उचालेर मन्दिरतर्फ फक्र्यो। नाकबाट बगेको स्वादिलो धुवाँको डकार मुखबाट छोड्यो। जडभरतझैंं अगाडि कसैसँग नबोली अर्काे कुनामा पुग्यो। कसैले उसलाई दोषी ठहयाएर भन्यो।
–भँडुवा साँढे!
मन्दिरको वरिपरि घुमिरहेका भक्तजन पुरानो मन्त्र पढिरहेका थिए। परेवाहरू शान्तिका लागि शान्त स्वभावमा उडिरहेका थिए। उनीहरूमा कुनै छलकपट थिएन। शान्त परिवेश र दुई चार गेडा छरिएको अन्न नै उनीहरूको जीवनका लागि बाँच्ने काफी आधार थियो।
–एकतन्त्रीयताको अन्त्य!
स्वतन्त्रता पीडित पागल मन्दिर दर्शनका लागि बर्बराइरहेको थियो। उसको भगवानप्रति एउटै माग थियो।
–सत्ताको आशीर्वाद देऊ!
मूर्ख बोका पागलको छेउमा आयो। उसले पागलको छेउतिर बसेर खुब करायो। जिब्रो निकालेर मुखमा चाट्यो र पशुवाक्य साथ भन्यो।
–तान्त्रिक पागल!
दर्शनार्थीहरू हेरिरहेका थिए। भित्तामा शहीदको तस्वीर त्यसै झुन्ड्याएको थियो। शहीदद्वारा प्राप्त प्रजातन्त्रको धुवाँ पनि धुप र बत्तीबाट उडेको धुवाँभन्दा फरक केही थिएन। बोकाको साथमा मात्रै एउटा रमिता थियो।
–नरदेवीको दर्शन!
बोको बाँचेकोमा गर्व गथ्र्यो र मन्दिरको धुवाँमा बर्बराउँथ्यो तर मान्छे मरेकोमा गर्व गथ्यो र प्रजातन्त्रको धुवाँमा चिच्याउँथ्यो।
–महान् दिन!
प्रकाशित: ८ फाल्गुन २०७८ ०६:११ आइतबार