कला

प्रजातन्त्र

लघुकथा

खेमलाल पहारी

दृश्य–१

–सर, यो प्रजातन्त्र भनेको के हो?

–जनताले जनताद्वारा जनताकै लागि गरिने शासन।

–शासन भनेको?

–राज्य संचालनको विधि जहाँ स्वतन्त्रता हुन्छ।

–स्वतन्त्रता भनेको नि?

–यो प्रजातन्त्रको एउटा मुख्य अंग– मुटु हो।

–त्यो भनेको?

–सोच र क्रियाकलापको स्वतन्त्रता।

– मतलब?

–तेरा बा नेता हैनन्? उनैलाई सोध।

दृश्य–२

–बा प्रजातन्त्र भनेको के हो?

–जनताले जनताद्वारा जनताकै लागि ...!

–लल भयो; त्यहाँ स्वतन्त्रता भन्ने पनि होला। त्यो के हो?

–विचार, अभिव्यक्ति र क्रियाकलापको स्वतन्त्रता।

– त्यसो भए यी पुलिस, पानीको फोहरा, अश्रुग्याँस, अदालत, जेल किन त?

–तेरो सरलाई सोध।

–सरले हजुरलाई देखाउने र हजुरले सरलाई! आखिर यो प्रजातन्त्र भनेको के हो?

–जनताले जनताद्वारा जनताकै लागि ...!

–ह्या! सरले पनि त्यही भन्नुहुन्छ, हजुर पनि...

–कहाँ, को सरले? यो त लिंकनले भनेका हुन्, लिंकनले।

–लिंकनले भनेर हुन्छ? हामीले बुझ्नु पर्दैन?

–पर्छ र बुझ्छस् पनि।

–तर, कहिले बाबा?

–पख, एमसीसी आउन दे।

प्रकाशित: ८ फाल्गुन २०७८ ०५:५७ आइतबार

अक्षर